६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मिटरब्याजले दलित परिवारहरुको उठीबास, २ वर्षमा ४ लाखको साँवा र ब्याज ३० लाख

साहु यादवबाट जग्गा, जमन बचाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय बारामा रुँदै पीडित महिला सुनैना राम।

सिम्रौनगढ नगरपालिका ४ गंगा नगरका दलित परिवारहरुको मिटर ब्याजले गर्दा उठीबास लागेको छ।

गाउँकै साहु वृज किशोर यादवले दलित परिवारलाई थोरै रकम दिएर धेरै रकमको कपाली दम्सुक बनाउन लगाएर उनीहरुको घर घडेरी बिक्री गर्न लागेसँगै दलित परिवारहरुको उठीबास लागेको हो।

जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा मंगलबार भेटिएका पीडितहरूले प्रहरी अधिकारी समक्ष रुँदै, साहु यादवबाट बचाउन र आफ्नो घर, घडेरी बेच्नबाट बचाई दिन आग्रह गरेका छन्।

दुई वर्ष पहिला ४ लाख रुपैयाँ ऋण लिएर साहु बृज किशोर यादवको नाममा साढे ३ कठा जग्गा दृष्टि बन्धक गरिएको र अहिले ४ लाखको ३० लाख रुपैयाँ साहुले माग्न सुरु गरेको पीडित राजेन्द्र रामका श्रीमती सुनैना देवीले बताइन्।

‘४ लाखको साँवा र ब्याज गरेर २ वर्षमा ३० लाख पुगेको छ’ सुनैनाले भनिन, ‘३० लाख रुपैयाँ नदिएमा जग्गा अरूलाई बिक्री गर्ने भन्दै दिनहुँ यादवले धम्की दिने गरेका छन्।’ उनले भनिन्।

प्रत्येक कठा बिक्री गर्दा ४ लाखको दरले जाने जग्गालाई यादवले नभएको ब्याज जोडेर जग्गा हडप्न खोजेको आरोप पीडित देवीकाे छ।

अर्का पीडित श्याम किशोर रामले २०७८ को मंसिर ५ गते वैदेशिक रोजगारीमा जानको लागि साहु यादवसँग ३ लाख ऋण माग्दा यादवले १२ लाखको कपाली दम्सुक गराएर एक रुपैयाँ पनि नदिएको गुनासो गरे।

सुरुमा लिने रकमको चार गुणा बढाएर कपाली गरेपछि मागेको रकम दिने आश्वासन दिएर गाउँको पटवारीसँग कागज बनाउन लगाई आज भोलि भन्दा भन्दा एक रुपैयाँ पनि नदिएको रामले सुनाए।

'कपाली गराएर रकम नदिएको कुरा वडा अध्यक्ष र पटवारीलाई भनेको थिए। वडा अध्यक्ष र पटवारीले यादवलाई रकम दिन दबाब दिँदा उल्टै मलाई मार्ने धम्की समेत दिन सुरु गरे।' उनले दुखेसो गरे।

२०७८ फागुनमा २४ हजार ऋण लिएकोमा साहु यादवले बारा जिल्ला अदालतबाट १२ कट्ठा जग्गालाई रोक्का गराएर त्यसलाई लिन खोजेको अर्का पीडित दिपेन्द्र रामले बताए। २४ हजार ऋण लिँदा यादवले झुक्काएर दुई लाख ४० हजारको कपाली गराउन सफल भएको र त्यही कपालीको आधारमा अदालतबाट आफ्नो जग्गा रोक्का गराएको रामले सुनाए।

७० हजार ऋण लिएकोमा साहुले १० लाख मूल्य बराबरको जग्गा लिएको र जग्गा लिए पछि दुई छाक टार्न समेत समस्या भएको अर्का पीडित रबिया खातुनले दुखेसो गरिन्। 

'साहुले जग्गा लिए पछि त्यसको चिन्ताले मेरो श्रीमान् बित्नु भयो र अहिले ३ वटा छोरी विवाह गर्न बाँकी छ। दैनिक गुजारा गर्न समेत समस्या भएको छ।' उनले भनिन्।

यादवले गंगा नगरमा रहेका सोझा साझा २० भन्दा बढी दलित परिवारलाई थोरै रकम ऋण दिएर धेरै रकमको कपाली तमसुक बनाउने , कसै कसैको जग्गा समेत दृष्टि बन्धक गराएकाले दलित परिवारहरूले जिल्ला प्रहरी कार्यालय बारामा पीडक विरुद्धमा जाहेरी दिएका छन्।

अनपढ र सोझासाझा दलित परिवारलाई पैसाको जालमा पारि ऋण रकम दिने मिति भन्दा पहिलाको मितिमा कपाली तमसुक बनाउने र पीडितहरूको घर, घडेरी हडप्न अदालतको सहयोग समेत यादवले लिने गरेका छन्।

मिटर ब्याज पीडितहरूको मुद्दाको अनुसन्धान गरी रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रुद्र कँडेलले पीडितहरूले दिएको जाहेरीको आधारमा प्रहरीले बृजकिशोर यादवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिँदा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको फैसलाले छोड्नु परेको बताए।

प्रहरीले अनुसन्धान गर्दा कानुनी कारबाहीमा पर्ने डरले यादवले आफू पक्राउ पर्ने बित्तिकै वैशाख ३ गते बन्दि प्रत्यक्षीकरणको आदेश जारी गराउन सफल भएर बच्न खोजे कँडेलले सुनाए।

प्रकाशित: ५ वैशाख २०८० १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App