७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

यातायात मजदुरलाई मासिक प्रशिक्षण

फाइल तस्वीर

संघीय राजधानी पूर्वका जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आइरहेको पूर्व अरनिको यातायात कम्पनी प्रालिले दुर्घटना न्यूनीकरण गर्न नियमित रूपमा यातायात मजदुरलाई प्रशिक्षण दिन सुरु गरेको छ।

चालकहरूको लापरवाहीले दैनिक रूपमा सडक दुर्घटना हुन थालेपछि पूर्व अरनिको यातायात कम्पनीमार्फत कार्यरत चालक, सहचालक तथा परिचरका लागि मासिक रूपमा अभिमुखीकरण तालिम सञ्चालन गरेको हो।

यातायातले प्रत्येक महिनाको २३ गते मजदुरलाई ट्राफिक नियम, यात्रुसँग गरिने व्यवहार, यातायात सम्बन्धी नियम, कानुन लगायतका विषयमा प्रशिक्षण दिन सुरु गरेको पूर्व अरनिको यातायात कम्पनीका अध्यक्ष केदार खत्री क्षेत्रीले बताए।

प्रशिक्षणमा न्यूनतम एक सय बढी मजदुर तालिममा सहभागी हुने गरेको र अहिले दुर्घटनामा समेत कमी हुँदै गएको उनले बताए।

यातायात क्षेत्रका विज्ञ, ट्राफिक प्रहरी, नेपाल प्रहरी, सरकारी वकिल लगायतका यातायतसँग सरोकारवाला विज्ञहरू ल्याएर मजदुरलाई प्रशिक्षण दिने गरिइएको छ। अध्यक्ष क्षेत्री आफैंले यातायात मजदुरलाई यात्रुसँग कसरी राम्रो व्यवहार गर्ने र दुर्घटना न्यूनीकरण कसरी कमी गर्ने भनेर प्रशिक्षण दिंदै आएका छन्।

पूर्व अरनिको यातायात सञ्चालन हुने जिल्लामा छुट्ने बसहरूको ‘काउन्टर’ मा प्रत्येक दिन बिहान पुगेर बसका चालक, सहचालकसँग भेटघाट गरेर यात्रुप्रति जिम्मेवार भएर प्रस्तुत हुन सबैलाई आग्रह गर्दै काउन्टरमा  जाने गरेको अध्यक्ष क्षेत्रीले बताए।

‘हामी अब कोर्ष नै बनाएर मजदुरलाई प्रशिक्षण दिने योजनामा छौं’, उनले भने, ‘कोर्ष निर्माण गरेर सिकायौं भने सबै मजदुरका लागि राम्रो हुन्छ।’

राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा लगायत १६ बढी जिल्लामा अरनिकोले ५० वर्षदेखि नियमित यातायात सञ्चालन गर्दै आएको छ।

अहिले अन्य जिल्लामा समेत यातायात सञ्चालनका लागि दैनिक रूपमा त्यस क्षेत्रका जनप्रतिनिधिले आग्रह गर्दै पत्र आउने गरेको र आफूहरू अन्य जिल्लामा समेत यातायात सेवा विस्तारका लागि सकारात्मक रहेको पूर्व अरनिको यातायात प्रालिका सचिव प्रभुराम थापाले बताए। रासस

प्रकाशित: २६ चैत्र २०७९ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App