१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

युवती बेच्ने २३ वर्षपछि पक्राउ

काठमाडौं- गलैंचा कारखानामा काम गर्ने दुई युवतीलाई बम्बईको कोठीमा बेच्ने भोटे लामा भनिने इवाङ लामा घटनाको २३ वर्षपछि पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मकवानपुरबाट पक्राउ गरेको हो। लामालाई सजाय भुक्तानका लागि भीमफेदी कारागारमा थुन्न मकवानपुर अदालतले आइतबार आदेश दिएको छ।

ब्युरोका अनुसार २०५० भदौमा  कुपन्डोलमा रहेको गलैंचा कारखानामा काम गर्ने दुई युवतीलाई विवाहको प्रलोभन देखाएर लामासहित तीनजनाको समूहले बम्बईको वेश्यालयमा जनही ५० हजार भारतीय रुपैयाँमा बेचेको थियो। घटनामा संलग्न गोपाल स्याङतान र तितुङ तामाङ पक्राउ परे पनि लामा फरार थिए।

'युवतीलाई विवाहको प्रलोभन देखाएर बेचेको अनुसन्धानमा खुलेको थियो, धरौटीमा छुटेका इवाङ भने फरार थिए,' ब्युरोकी एसपी मीरा चौधरीले भनिन्। उनका अनुसार बम्बईको वेश्यालयमा बेचिएका दुवै युवती २०५८ मा भागेर नेपाल फर्केपछि तीनै जनाविरुद्ध जाहेरी दिएका थिए। तत्काल पक्राउ परेका इवाङ काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए। अदालतले सजायको फैसला सुनाएपछि उनी फरार थिए।

पुनरावेदन अदालत पाटनले जिउ मास्ने बेच्ने मुद्दामा २०५८ असोज १७ गते लामालाई पाँच वर्ष कैद हुने ठहर गरेको थियो। युवतीलाई बेश्यालयमा बेचेर आएको रकममध्ये ५० हजार गोपाल एक्लैले लिएको र बाँकी ५० हजार इवाङ र तितुङले आपसमा बाँडेका थिए। फरार भएपछि लामा मकवानपुरको पदमपोखरीमा समाजसेवी र स्थानीय उपक्तोक्ता तथा अन्य सार्वजनिक समितिमा अध्यक्ष बनेर बसेका थिए।

प्रकाशित: १८ पुस २०७३ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App