६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मेलम्चीको पानी वितरण गर्न पाइप विच्छाइँदै

फाइल तस्वीर

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप विच्छ्याउन बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु गरिएको छ। केही वर्ष पहिले विच्छ्याएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो। 

यसअघि एसियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप विच्छ्याइएको थियो। त्यति बेला छुटेका स्थानमा अहिले पुराना पाइप परीक्षण गर्नुका साथै नयाँ पाइप विच्छ्याउन सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए। उनले भने, “पहिले छुटेका चक्रपथभित्रका ठाउँ र चक्रपथ बाहिरका केही ठाउँमा अहिले काम भइरहेको छ।”

चक्रपथभित्र बालुवाटार, धुम्बाराही, कलङ्की, स्वयम्भू क्षेत्रमा तथा चक्रपथ बाहिर कपन र मण्डिखाटार क्षेत्रमा पनि पाइप विच्छ्याउने काम भइरहेको छ। उनले भने, “पाइप विच्छ्याइसकेपछि परीक्षण गर्न एक वर्ष लाग्न सक्छ । परीक्षणपछि नियमित पानी वितरण गरिनेछ।” 

पहिलो चरणमा एक हजार १० किमी पाइप विच्छ्याइको थियो। ती ठाउँमा अहिले आधाभन्दा बढी परीक्षण भइसकेको निर्देशनालयले जनाएको छ। परीक्षण सकिएका स्थानमा नयाँ र नसकिएका ठाउँमा पुरानो पाइपबाट खानेपानी वितरण भइरहेको छ। 

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना निर्माणमा एसियाली विकास बैंकले सहयोग गर्दै आएको छ । हिउँदमा मात्रै नभएर वर्षाको समयमा पनि पानी ल्याउन सकियोस् भनेर छुटेका ठाउँमा पाइप विच्छ्याउन लागिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ। रासस

प्रकाशित: २३ चैत्र २०७९ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App