८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

खाडीमा होइन स्वदेशमै भेट्ने वाचा गरौं

शैक्षिक क्षेत्रकाे चिन्ता

विश्वविद्यालय तहमा विद्यार्थी संख्या वर्षेनि ओरालोलाग्दो छ। १२ कक्षा उत्तीर्ण हुनासाथ विद्यार्थीहरू अध्ययन वा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने क्रम दिनहुँ बढिरहेको छ। यसले युवा जनशक्ति पलायन त भएको छ नै शिक्षामा गुणस्तर कायम हुन नसक्दा पनि यस्तो अवस्था आएको भन्दै शिक्षा क्षेत्रका जानकारहरूले चिन्ता जनाउन थालेका छन्।

उच्च शिक्षा अध्ययनका नाममा हरेक दिन विद्यार्थीको ठुलो संख्या बाहिरिएकोमा उनीहरूको चिन्ता छ। पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले शनिबार आयोजना गरेको ‘शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक उन्नयन’ विषयक अन्तरक्रियामा बोल्दै विभिन्न विद्यालयका प्राचार्यहरूले नेपालको शैक्षिक गुणस्तर हुन नसक्दा विद्यार्थीको पलायन गति बढ्दो रहेको भन्दै चिन्ता जनाए। विद्यार्थीलाई स्वदेशमै रोक्न शिक्षामा गुणस्तर कायम गर्नुका साथै नीतिगत सुधारमा पनि ध्यान दिनुपर्ने उनीहरूले बताए। खाडीमा जाने भन्ने सोचाइ परिवर्तन गर्न आवश्यक रहेको उनीहरूले बताए।

पोखराको अग्रणी सामुदायिक विद्यालय शीतलदेवी माविका प्रअ बाबुराम अधिकारीले गुणस्तीय शिक्षा बढाउन राज्यको चिन्तन हुनुपर्ने सुुझाए। ‘शिक्षाको गुणस्तर बढाउन राज्यको लगानी नै कमजोर रहेको उनले बताए। छोटो समयमा धेरै कमाइ हुने भएपछि विद्यार्थीहरू विदेश आकर्षित भएको अधिकारीले बताए। ‘शिक्षा र पैसा दुवैमा राम्रो हुने भन्दै अहिले १२ कक्षापछि विद्यार्थी नेपालमा बस्न चाहेनन्,’ उनले भने, ‘विद्यार्थीलाई स्वदेशै पढाउने गरी माहोल सिर्जना गर्नुको विकल्प छैन। त्यसैले पनि सुधारको आवश्यकता छ।’

छोरेपाटन माविका प्रअ डिल्लिराम शर्माले बजारमा बिक्ने विषय पढाउने हो भने विद्यार्थीको विदेश पलायन केही हदसम्म भए पनि रोक्न सकिने सम्भावना रहेको बताए। ‘रोजगार पाउने अवस्था भएमा विद्यार्थी टिकाउन सकिन्छ। विद्यार्थीलाई आफ्नै क्याम्पस वा स्कुलमा टिकाइरहने रणनीति अब शिक्षण संस्थाले नै बनाउनुपर्छ,’ उनले भने, ‘शैक्षिक गुणस्तर बढाउने पहिलो दायित्व सम्बन्धित शिक्षण संस्थाको हो। पछिल्लो समय त शिक्षण संस्थामा गुणस्तर कायम गर्नुभन्दा पनि विद्यार्थीको संख्या बढाउने चुनौती छ।’

शिद्ध पब्लिक स्कुलका प्रअ आनन्दराज अधिकारीले छिटोछिटो पाठ्यपुस्तक परिवर्तन हुँदा पनि समस्या निम्तेको बताए। कक्षा १२ सम्मको परीक्षा प्रणालि तुलनात्मक रूपमा ठिकै भए पनि विश्वविद्यालय तहको परीक्षामा बेथिति मौलाएको उनले बताए। परीक्षाको रिजल्ट ढिला आउने, तोकिएको समयमा परीक्षा नहुनेजस्ता समस्याले गर्दा विद्यार्थी नियमित पढाइ छाडेर भाषाका कक्षा सिक्न विभिन्न इन्स्टिच्युटमा जाने गरेको उनले सुनाए। ‘जोसुकै विद्यार्थीको सोचाइ नै विदेश जाने रहेको छ,’ उनले भने, ‘अहिले विश्वविद्यालयका कोठा खाली छन्, विभिन्न मुलुकमा रोजगारीका लागि जानेगरी भाषा सिक्ने विद्यार्थीको भिड अन्यत्र छ।’

अर्काे विद्यालय तालबाराही माविका शिक्षक ताराप्रसाद पोखरेलले सरकारले जति नै शैक्षिक गुणस्तरका कुरा गरे पनि सुधार नभएको भन्दै चिन्ता जनाए। अब शैक्षिक गुणस्तर कायम भयो वा भएन भनेर खोजी गर्ने बेला भएको उनले बताए। ‘शिक्षामा गुणस्तर भएन भनेर सबैतिर बोल्ने काम भएको छ। तर त्यसको कारण खोजी भएको छैन,’ उनले भने, ‘अब गुणस्तर कायम हुन नसक्नुको कारण खोजेर सुधार ल्याउनुको विकल्प छैन। तल्लो तहदेखि नै गुणस्तरमा सुधार ल्याउनुपर्छ।’

भलामस्थित महेन्द्र माविका प्रअ बोधराज पौडेलले नीति, थिति र विधिमा समस्या हुँदा शैक्षिक गुणस्तर कायम हुन नसकेको बताए। ‘छोराछोरी सहर बसेका छन् भनेर अभिभावकले गर्व गर्ने विषय बनेको छ। हामी सबैले संस्कार बिगारेर छोराछोरीलाई ठूलो सहरमा राख्न खोज्दा यो अवस्था आएको हो,’ उनले भने।

छलफलमा पोखरा बहुमुुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन सबैको पहलमा मात्र शिक्षामा जागरुकता ल्याउन सकिने बताए।

उनले देशलाई सुदृढ र अब्बल बनाउने हो भने शिक्षामा सुधार गर्नुपर्ने बताए। शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले कतिपय सामुदायिक विद्यालयले गुणस्तर कायम गरेकै कारण ती विद्यालयमा भर्ना दर उच्च रहेको बताए। उनले पढाइमा गुणस्तर सर्टिफिकेटमा मात्र खोजी भएको बताए।

समाजको व्यावहारिकतामा गुणस्तर खोजी हुन नसकेको उनले बताए। ‘सर्टिफिकेटमा गुणस्तर खोज्यौं, देशको सेवा गरौं भन्ने भावना विकास गराउन सकेनौं,’ सुवेदीले भने, ‘समाज, देशकाल, देशको परिस्थिति बुुझनेगरी छोराछोरीलाई संघर्ष गर्न सिकाएनौं। अब त हामी आफैंले आफ्ना छोराछोरीका लागि बजार खोज्ने बेला भएको छ।’

पढेको मान्छेले खेतबारीमा काम गर्न हुँदैन भन्ने भावना पलाउँदा पनि समस्या भएको उनले सुनाए। ‘यस्तै अवस्था हुँदै जाने र विद्यार्थी पलायन बढ्दै जाने हो भने काम गर्ने जनशक्ति अभावमा हाम्रो अर्थतन्त्रमै असर पर्ने अवस्था छ,’ उनले भने, ‘अब त श्रमप्रति सम्मान गर्ने वातावरण बढानुपर्छ। त्यसका लागि सबै एकजुट हुनुपर्छ। 

प्रकाशित: १२ चैत्र २०७९ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App