१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इम्जासँग अब केको डर?

काठमाडौं- समुद्र सतहदेखि ५ हजार १० मिटर उचाइमा भौतिक निर्माण आफैंमा सहज थिएन। सदावहार हिउँ, उत्तिकै चिसो। नेपाली सेनाका ४० जना प्राविधिक र स्थानीय सय जनाभन्दा बढीको निरन्तर प्रयासले सोलुखुम्बुको जोखिमपूर्ण इम्जा हिमतालको पानीको सतह तीन दशमलब चार मिटर घटाएसँगै करिब एक लाख मानिस सुरक्षित भएका छन्।

१५० मिटर गहिरो, १.२८ वर्ग किमी चौडा हिमताल इम्जाको सतह घटाउन सेना सफल भयो जसले झन्डै एक लाख मानिसको जीवन जोखिमरहित भएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार रक्षामन्त्री बालकृष्ण खाँड र जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले संयुक्त रुपमा हिमतालको पानीको सतह घटाउने संरचनाको उद्घाटन गरे।

सैनिक प्रवक्ता ताराबहादुर कार्कीले पानीको सतह घटाएर निकास दिन नेपाली सेनाले ६ महिना काम गरेको बताए। उनका अनुसार संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत आह्वान भएको अन्तर्राष्ट्रिय बोलपत्रमा कसैले दाबी नगरेपछि सरकारले पानीको सतह घटाउने जिम्मा सेनालाई दिएको थियो।

'अन्तर्राष्ट्रिय बोलपत्रमा कोही नआएपछि मन्त्रिपरिषद्ले गत माघमा सेनालाई जिम्मेवारी दिएको हो। कुनै मानवीय क्षति र चोटपटकबिनै हामीले काम सम्पन्न गरेका छौं', सहायक रथी कार्कीले भने। 

इम्जा हिमतालको सतह घटाउने परियोजनाप्रमुख टोपबहादुर खत्रीले ३० करोड रुपैयाँ लागतमा पानीको सतह घटाउने योजना सम्पन्न भएको बताए। 'संसारमै उच्च हिमालमा रहेको हिमतालको सतह घटाइएको यो पहिलो सफलता हो, कुनै क्षतिबिना काम सम्पन्न भएको छ,' खत्रीले नागरिकसँग गर्वसाथ भने।उनका अनुसार अधिकतम एक सय ५० मिटर गहिरो र एक दशमलब २८ वर्ग किलोमिटर चौडा इम्जामा चैत १७ मा काम थालेर असोज ९ मा सम्पन्न भएको हो। इम्जाको औसत गहिराइ भने ३२ मिटर छ।

प्रकाशित: ९ मंसिर २०७३ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App