१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नयाँ रोगी थपिँदा नियन्त्रण गर्न कठिन

झापा-मुलुकलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ निकै बजेट खर्च भइसक्दा पनि अपेक्षित उपलब्धि हात परेको छैन । धमाधम नयाँ रोगी बढिरहेको तथ्यांकले लगानीअनुसार उपलब्धि हात लाग्न नसकेको पुष्टि गरेको छ ।

क्षयरोग नियन्त्रण गर्न सरकार र दातृ संस्थाले बर्सेनि करोडौं रुपैयाँ खर्च गर्दै आएका छन् । क्षयरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम गर्न भन्दै झापामा मात्रै वार्षिक ३० लाख रुपैयाँभन्दा बढी बजेट आउने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले लाखौं खर्च गरेर विभिन्न कार्यक्रम गरेको प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा पठाए पनि क्षयरोगका रोगी थपिने क्रम घटेको छैन ।

चालू आर्थिक वर्षमा मात्रै सरकारले क्षयरोग नियन्त्रण गर्न झापाका लागि ५८ लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको कार्यालयका अधिकृत प्रमोद दाहालले जानकारी दिए । तर, अहिलेसम्म कार्यालयले चौमासिक गोष्ठीबाहेक केही नगरेको दाहालको भनाइ छ ।

क्षयरोग नियन्त्रणमा खर्च धेरै देखिए पनि उपलब्धि भने खासै नदेखिएको स्वास्थ्यकर्मी स्विकार्छन् । ‘क्षयरोग नियन्त्रण गर्न भन्दै हरेक वर्ष ३० लाखभन्दा बढी बजेट आउँछ’, दाहालले भने, ‘तर त्यस अनुपातमा उपलब्धि हात परेको छैन । आर्थिक वर्ष २०७२-७३ मा मात्र जिल्लामा ६ सय सातजना नयाँ क्षयरोगी फेला परेका छन् ।’ उनका अनुसार चार सय सात पुरुष र दुई सय महिलामा क्षयरोग देखिएको छ । नयाँ, पुराना सबै गरी जिल्लामा क्षयरोगीको संख्या एक हजारभन्दा बढी रहेको दाहालले बताए ।

स्वास्थ्य मन्त्रालयले सन् २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्यअनुसार ‘दुईहप्ते खोकी क्षयरोग पो हो कि’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको छ । तर, नयाँ रोगी भेटिने क्रम नघट्दा लक्ष्य प्राप्तिमा आशंका थपिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले क्षयरोगीलाई पाँच प्रकारमा वर्गीकरण गरेको छ । नयाँ रोगी, दोहोरिएर आएका रोगी, उपचार असफल भएका रोगी तथा बिरामी ‘डिफल्ड’ भएका सहित जिल्लामा सात सय २६ पुरुष र तीन सय ८९ महिला क्षयरोगी छन् । दाहालका अनुसार २१ महिला र ६२ पुरुष दोहो¥याएर २०७२-७३ मा उपचारका लागि आएका थिए । कार्यालयको तथ्यांकअनुसार २०७२-२०७३ मा जिल्लामा क्षयरोगका कारण पाँच महिलासहित २३ जनाको मृत्यु भएको छ ।

कार्यालयका अनुसार २०६८-६९ मा एक हजार चार सय ४५ जनामा क्षयरोगको कीटाणु पाइएको थियो । २०६९÷७० मा एक हजार तीन सय ३९ जना र २०७०÷७१ मा एक हजार चार सय ५१ जना क्षयरोगी फेला परेका थिए । २०७१-७२ मा जिल्लामा १६ जनाको क्षयरोगका कारण ज्यान गएको थियो ।
आर्थिक वर्ष २०६८-६९ देखि २०७२-७३ सम्म आइपुग्दा जिल्लामा पुराना क्षयरोगीको संख्या घट्दै गइरहेको भए पनि नयाँ रोगी भेटिने क्रम भने घटेको छैन ।

दमक, बिर्तामोड, भद्रपुर, कन्काई, मेचीनगर, शिवसताक्षी नगरपालिका र पृथ्वीनगर गाविसमा बढी क्षयरोगी छन् । यी क्षेत्र क्षयरोगको उच्च जोखिममा रहेको कार्यालयको विश्लेषण छ । अधिकृत दाहालका अनुसार १४ देखि ४९ वर्ष उमेर समूहका महिला तथा पुरुषमा यसको बढी संक्रमण देखिएको छ ।
मेची अञ्चल अस्पतालका प्रमुख पिताम्बर ठाकुरका अनुसार नेपालमा क्षयरोगीमध्ये वयस्क ६० प्रतिशत र अन्य समूहका ४० प्रतिशत छन् ।

कमजोर प्रतिरोधात्मक क्षमताका कारण शारीरिक दृष्टिकोणले कमजोर व्यक्तिले क्षयरोगीसँग हेलमेल गरे सहजै यो रोग सर्न सक्छ । फोक्सोमा क्षयरोगको कीटाणु फेला परे त्यो सबैभन्दा खतरा हुने स्वास्थ्यकर्मी बताउँछन् । यस्तो रोगीले समयमै उपचार नपाए एक वर्षभित्र १० देखि १५ जनालाई रोग सार्न सक्छ ।
क्षयरोगको लक्षण देखिनेबित्तिकै उपचारका लागि रोगी नआउनु नै सबैभन्दा ठूलो चुनौती रहेको कार्यालयले जनाएको छ । तौल घट्नु , छाती दुख्नु, रातिराति ज्वरो आउनु, खकारमा रगत देखिनु, श्वासप्रश्वासमा समस्या हुनु, दुई हप्तासम्म लगातार खोकी लागिरहनु क्षयरोगका मुख्य लक्षण हुन् ।
स्वास्थ्य मन्त्रालयले सन् २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्यअनुसार ‘दुईहप्ते खोकी क्षयरोग पो हो कि’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको छ । तर, नयाँ रोगी भेटिने क्रम नघट्दा लक्ष्य प्राप्तिमा आशंका थपिएको छ ।

लक्ष्य भेट्न सरकारले २०५९ देखि २०६९ सालसम्म दीर्घकालीन योजना सञ्चालन गरेको थियो । सरकारी अधिकारीहरूका अनुसार २०२१ सालमा नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र युनिसेफबीच क्षयरोग नियन्त्रणका लागि त्रिपक्षीय सम्झौता भएको थियो ।

राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत भारतमा बसोबास गरी नेपाल फर्किने श्रमिक, सम्भावित यौनकर्मी, लागूपदार्थ प्रयोगकर्ता तथा अन्य सम्भावित क्षयरोगीको खोजी गरी उपचारमा राख्न टीबी रिच कार्यक्रम झापासहित मोरङ, पर्सा, कास्की, रुपन्देही, कैलाली र कञ्चनपुरमा लागू गरिएको थियो ।

प्रकाशित: ४ कार्तिक २०७३ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App