१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नख्खु उकालो सडक पाइप व्यवस्थापन पछि कालोपत्र गरिने

फाइल तस्बिर

नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापन पछि सडक  कालोपत्र गरिने भएको छ।

निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महिना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो। अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिमटेडसँग समन्वय गरेर पाइप सडकको किनारामा सार्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।  

नख्खुमा पाइप फुटेको ठाउँमा अहिले पाइपलाइनको स्थानान्तरण र मर्मत भइरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए।  उनले भने, 'पाइपको काम सकिएपछि सडक कालोपत्र गरिनेछ।'

निर्माण कम्पनीले सडक कालोपत्र गर्नका लागि आवश्यकपर्ने निर्माण सामग्री झारिसकिएको छ। पहिले ‘सबबेस’ हाल्न लाग्दा सडककोबीच भागमा झण्डै एक सय वर्ष पुराना पाइप फुटेको भेटिएको उनले बताए। अहिले झण्डै आठ सय मिटर लम्बाइको सडक खानेपानी पाइपका कारण कालोपत्र गर्न ढिलाइ भएको छ। यस क्षेत्रमा सडकको चौडाइ झण्डै १६ मिटर उपलब्ध रहेको छ। भैँसेपाटी आवास क्षेत्र नजिकै समस्या रहेकाले पनि यहाँ भइरहको ढिलाइमा धेरैले चासो देखाएको पाइन्छ। उपत्यकाका धेरै सडकमा सयौँ वर्ष पुराना पाइप रहेका छन्। कहाँ कुन स्थानमा कति पुरानो पाइप छ, भन्ने लिमिटेडसँग समेत जानकारी छैन।

भेटिएको पाइप व्यवस्थापन भए पनि आगामी दिनमा पुन: नयाँ ठाउँमा पुरानो पाइपलाइन भेटिन सक्ने प्रवक्ता जोशीले बताए। अहिले तत्कालका लागि भेटिएको पाइप स्थानान्तरण र मर्मत गरिएको उनले बताए। उनले भने, 'पाइप सडककोबीच भागमा हुँदा बढी क्षति पुगेको कारण अहिले पैदलयात्रु मार्गबाट हालिएको छ।'

निर्माण सुरु भएको लामो समयसम्म विस्तार हुन नसेककै कारण सडक निर्माण ठप्प बनेको थियो। अहिले सरकारको निर्णयका आधारमा उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ। जति उपलब्ध छ त्यतिमै काम भइरहेकाले तत्काल सडकमा अवरोध नभएको उनले बताए। विस्तारको काम भइरहेको नख्खुबाट चुनीदेवीसम्म झण्डै पाँच किमी लम्बाईमध्ये कति चौडाइ उपलब्ध भएको छ भने कतिपय स्थानमा संरचना नहटाइएकाले चौडाइ कम रहेको छ। पहिले ठेक्का सम्झौता हुँदा चौडाई २० मिटर कायम गर्ने गरी सम्झौता भएको थियो।  

अहिले आयोजनाले चौडाइ उपलब्ध हुने खण्डमा मात्रै सडकसँगै आबश्यक संरचनाको निर्माण गरिरहेको छ। बुङमतिसम्मको अन्तिम विन्दुतर्फ कालोपत्र भएको र बीचमा कतै मन्दिर कतै जग्गाको उपलब्ध नहुँदा बनाउन नसकिएको उनले बताए।

अहिले सोह्खुट्टेमा घर भत्काइरहेको र चुनीखेलमा पाटी, पर्खाल र एउटा कुखुरा फार्म भत्काएर चौँडा बनाउन लागिएको उनले बताए। उनले भने, “चौडा बनाएर ह्मिपाइप हाल्ने, पैदलयात्रु मार्ग बनाउने र त्यसपछि मात्रै कालोपत्र गर्ने योजना छ।” सो सडकमा ठाउँठाउँमा गरी झण्डै दुई किमीमा कालोपत्र गर्न बाँकी छ। पटक–पटक अवधि थप भइरहेकोमा पछिल्लो पटक आयोजनाले आगामी महिनासम्मका लागि अवधि थपेको थियो।  

केही समय क्रसर उद्यमीको हड्तालका कारण काममा अवरोध पुगेको प्रवक्ता जोशीले बताए। केही समय पहिलेसम्म निर्माण सामग्री पाउनै समस्या भए पनि अहिले केही सजिलो भएको उनले बताए। पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्वीकृति लिएर कामअघि बढाइएको प्रवक्ता जोशीले बताए।

सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अरु कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने व्यवस्था छ। सो सडकको निर्माण दुई ठेक्कामार्फत अघि बढाइएको थियो। नख्खु खोलाबाट भैँसेपाटी तीन दशमलव ५२ किमी र भैँसेपाटी–बुङ्मति एक दशमलव ५५ किमी रहेको छ।

सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो। सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ। आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले अर्को खण्ड सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो। रासस

प्रकाशित: ११ फाल्गुन २०७९ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App