१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पले दसैंमा पनि बिकेन कमेरो

भक्तपुर- दसैंको आगमनसँगै मध्यपुरथिमिको कमेरोटारमा बिक्री गर्न भ्याइनभ्याइ हुने कमेरोको माटो यस वर्ष नबिक्दा यहाँका किसान मर्कामा परेका छन्।

दसैंमा घर पोत्न प्रयोग हुने कमेरो (घरको भित्र पोत्न प्रयोग हुने सेतो माटो) माटो रु एक लाखसम्मको बिक्री हुने गरे पनि यस वर्ष भने रु एक हजारको कमेरो पनि बिक्री नभएको यहाँका बासिन्दाले बताएका छन्।

भूकम्पका कारण माटोबाट निर्माण भएका अधिकांश घर भत्किए पछि कमेरो माटो नै बिक्री हुन छाडेको मध्यपुरथिमि मिलरोडका विष्णुमाया राजबाहकले बताए।

उनले भने– “भूकम्प अगाडि रु एक लाखसम्मको कमेरो बिक्री हुन्थ्यो, तर अहिले दसैंमा कमेरो पोत्ने अधिकांश घर भूकम्पले भत्किए पछि माटोको बिक्री हुन छाड्यो, यस वर्ष एक हजारको माटो पनि बिक्री भएन।”

थिमिको कमेरोटारमा बस्ने बासिन्दा र जग्गा हुनेले तीनदेखि पाँच फिट खन्ने बित्तिकै कमेरो माटो आउने भएकाले यहाँका बासिन्दाले बर्सेनि माटो बिक्री गर्ने गर्दथे।

टाउँको नुहाउन र काँचो इँटाले बनेका घरमा पोतेर दसैंलाई घर रङ्ग्याउन यो माटोको प्रयोग हुने गर्दछ। कमेरो माटो लिन विगतमा भक्तपुरका गाउँ गाउँबाट र काठमाडौँ, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोटदेखिका मानिस यहाँ आउने गर्नेमा यस वर्ष भक्तपुर कै बासिन्दा समेत नआएको कमेरो बेच्दै आउनुभएका रामकृष्ण शङ्खदेवले बताए।

कमेरोटार जग्गा एकीकरण आयोजना लागू भएपछि जथाभावी कमेरो निकाल्न बन्देज लगाए पनि आयोजनामा भन्दा बाहिरका बासिन्दाले भने कमेरो बिक्री गर्दै आएका थिए।

तीन वर्ष अगाडि निकालेको कमेरो अझै पनि पूरै बिक्री नभएको बताउँदै शङ्खदेवले कमेरो माटोको प्रयोग नै अब लोप हुने अवस्थामा पुगेको बताए। रासस

 

प्रकाशित: २३ आश्विन २०७३ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App