१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

१० हजार दिए हातैमा नक्कली सवारी लाइसेन्स

झापा- यातायात व्यवस्था कार्यालयहरूले चालकलाई सवारी लाइसेन्स दिँदा नै लापरबाही गरेको गुनासो आइरहेका बेला झापामा धमाधम नक्कली लाइसेन्सधारी भेटिएका छन्। एकपछि अर्कोसँग नक्कली लाइसेन्स फेला परेपछि  यो धन्दामा  गिरोह नै सक्रिय रहेको प्रहरी बताउँछ।

मुलुकका विभिन्न ठाउँमा लगातार दुर्घटना भइरहेका बेला सडकमा जाँच प्रहरीले तीव्र पार्दा नक्कली लाइसेन्सधारी फेला परेका हुन्। यातायात कार्यालयले लाइसेन्स दिँदा नै लापरबाही गरेको गुनसो उच्च प्रहरी अधिकारी नै गर्छन्। अहिले नक्कली लाइसेन्स धमाधम भेटिँदा प्रहरीको गुनासो सही देखिएको छ।

सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले शंका लागेर केही दिनअघि एक चालकको  अनुमतिपत्र नियन्त्रणमा लियो। प्रहरीले नियन्त्रणमा लिएको ०१–०४२१३६ नम्बरको लाइसेन्समा झापा पृथ्वीनगरका यामकुमार महतको नाम छ। यातायात व्यवस्था कार्यालयको रेकर्डमा भने सोही नम्बरको लाइसेन्स सिरहाको रामनगर मिर्चैयाका नथुनीप्रसाद साहको नाममा जारी भएको देखिन्छ।

 झापाको मेचीनगर-१० का शेखर शर्मा गुराँगाईंको नाममा २०५८ पुस ९ मा जारी भएको ०१–०६७२३४ नम्बरको चालक अनुमति पत्र र २०६८ साउन  २० मा मोरङ मृगौलिया—६ बस्ने यामबहादुर बराइलीका नाममा जारी चालक अनुमतीपत्रको नम्बर पनि एउटै छ। चारपाने–६ का विजयकुमार यादवलाई गत मंगलबार हेल्मेट नलगाएका कारण ट्राफिक प्रहरीले बाटैमा रोक्यो। त्यसक्रममा जाँच गर्दा खुल्यो उनको लाइसेन्स नक्कली रहेछ। ०१०२८३८३ नम्बरको सो लाइसेन्स नक्कली भएको प्रहरीले बतायो।

प्रहरीले जाँचक्रममा फेला पारेको चन्द्रगढीका कामीचन राजवंशीले प्रयोग गरेको ०१–०८२७२४ नम्बरको लाइसेन्स राजगढका गजेन्द्र राजवंशीको नाममा पनि छ। प्रहरी भन्छ, 'गजेन्द्रका नाममा जारी  लाइसेन्समा मोटरसाइकल, स्कुटर र पोपेड  कुदाउन मात्रै अनुमति दिइएको छ। तर, त्यही नम्बरको लाइसेन्स लिएका अर्का कामीचनलाई मोटरसाइकल, स्कुटर कार, जिप, डेलिभरि भ्यान र पोपेड चलाउन अनुमति दिइएको छ।

सुनसरीका बाबुराम चौधरी र झापा हल्दिवारीका सुनिल महतोको पनि एउटै नम्बरको लाइसेन्स नम्बर ०२–७०३२५  छ। झापाका नवीन आचार्यले २०७० माघ ५ मा लिएको लाइसेन्स नम्बर ०१–०९९७८८ सुनसरी भरौल बस्ने जितेन्द्रराज धामीको नाममा पनि छ। धामीको नाममा उक्त नम्बरको लाइसेन्स २०७२ माघ १९ जारी भएको रेकर्डमा रहेको यातायात व्यवस्था कार्यालयका अधिकृत मनोजकुमार ठाकुरले बताए।

लामो अनुसन्धानपछि सिराहका साहको नाममा जारी भएको चालक अनुमति पत्र सक्कली र महतका नाममा जारीे नक्कली तथा  गुरागाईंको नाममा रहेको सक्कली तथा कामीचनका नाममा रहेको नक्कली भएको निष्कर्ष  निकालिएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी सहायक निरीक्षक याम खड्काले बताए। 'यी त केही प्रतिनिधि घटनामात्र हुन्,’ खड्काले भने, 'यस्ता घटना त जिल्लामा कति छन् कति, अझै गुपचुपमा धेरै छन्।’

यी घटनाले झापामा नक्कली लाइसेन्स बनाउने गिरोह सक्रिय रहेको पुष्टि हुन्छ। ट्राफिक प्रहरीले जिल्ल्ााका विभिन्न भागमा रातको समयमा गरेको छड्के जाँचक्रममा नियन्त्रणमा लिएका अधिकाँश चालक लाइसेन्स नक्कली भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा राखिएका चालक अनुमतिपत्र लिन सम्बन्धित व्यक्ति नआउँदा यस्तो रहस्य खुलेको हो। तत्काल लाइसेन्स  नियन्त्रणमा लिएर प्रहरीले सम्पर्क राख्न आउने गरी छाडे पनि सम्पर्क राख्न नआउने र यातायात व्यवस्था कार्यालयमा नम्बर मिलाउँदा नक्कली भएको पुष्टि हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरी बताउँछन्।

नक्कली लाइसेन्समा सवारी चलाउने कारबाहीमा गरे पनि यो धन्दामा सक्रिय गिरोह पक्रिन प्रहरी सफल भएको छैन। मुलकी ऐन किर्ते कागत महलको १२ नम्बरमा कसैले सरकारी कागजात, छाप, हस्ताक्षर कीर्ते गरे एक वर्षसम्म र सरकारी अड्डाका कर्मचारीको संलग्नता देखिए दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 

गिरोहले कम्तीमा १० हजार रुपैयाँसम्म लिएर नक्कली चालक अनुमति पत्र बनाइदिने गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। प्रहरी भन्छ, 'गिरोहले चालक अनुमतिपत्र कार्डदेखि सरकारी छाप होलोग्रामसमेत प्रयोग गरेको छ।’ लाइसेन्स हराएपछि बनाउन आउनेबाट गिरोहले रकम लिएर नक्कली लाइसेन्स बनाइदिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

चालक अनुमतिपत्र कार्डदेखि सरकारी छाप होलोग्रामसमेत यातायात व्यवस्था कार्यालयमा हुन्छ। गिरोहले कसरी सरकारी कागजात छाप, होलोग्राम ल्याउँछन् भन्ने पत्ता लाग्न सकेको छैन। 'यो अनुसन्धान विषय बनेको छ,’ यातायात व्यवस्था कार्यालय, मेचीका प्रमुख जनार्दन भट्टराई भन्छन्, 'नक्कली लाइसेन्स लिनेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्छ, त्यसमा कार्यालयकै कर्मचारीको दोषी पुष्टि भए कारबाही गर्नुपर्छ। ’

यस्तो गलत कार्यमा आफ्ना कर्मचारीको मिलेमतो र संलग्नता नरहेको उनको दाबी छ। गैरकानुनी धन्दा दलालले गर्ने आफूले सुनेको पनि उनले बताए। धेरैले त लाइसेन्स नवीकरण गर्न आउँदामात्र लाइसेन्स नक्कली भएको थाहा पाउँछन्। 

प्रकाशित: १३ भाद्र २०७३ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App