१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषधका भरिया नजिकमात्र पुग्छ प्रहरी

झापा-ज्यालामा लागुऔषध ओसार्न खटिनेहरु समातिने तर मुख्य धन्दावालाहरु प्रहरी पहुँचबाट सधैँ जोगिने समस्याले लागु औषध तस्करीको जालो तोड्न प्रहरी असफल छ। जसका कारण झापालाई ट्रान्जिट बनाएर हुँदै आएको लागुऔषध कारोबार थप फराकिलो हुँदै गएको छ।

भारतीय बजारबाट लागुऔषध नेपाल भित्र्याउन झापाको काँकडभिट्टासहितका विभिन्न नाका कारोबारीले प्रयोग गर्दै आइरहेका छन् । प्रहरीसँग भएको तथ्याङ्कले नै देखाउँछ, जिल्लामा लागुऔषध कारोबारीहरुको सक्रियता झन्–झन् बढ्ने क्रममा छ । लागुऔषधको कारोबार र ओसारपसार नियन्त्रण गर्न छुट्टै विभाग नै परिचालन गरे पनि प्रहरी यसमा उल्लेख्य सफलता हात पार्न असफल छ। प्रहरी अधिकांश घटनामा प्रयोगकर्ता वा भरियासम्म मात्रै पुगेको देखिन्छ। जबकि, उनीहरुलाई ज्याला दिएर प्रतिबन्धित लागुऔषध नेपाल भित्र्याउन लगाउनेहरु चाहिँ अरु नै हुन्छन्। ‘उनीहरुको सञ्जाल ठूलो र बलियो हुँदोरहेछ’, झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्मा भन्छन् ‘गोपनीयताकमे हकमा पनि उनीहरुको बलियो भरोसा हुँदोरहेछ। त्यसैले जरासम्म पुग्न प्रहरीलाई समस्या छ।’

उनले भने जस्तै लागुऔषधका कारोबारीहरुले व्यवस्थित  सञ्जाल नै स्थापना गरेर निष्फिक्री कारोबार चलाइरहेका छन् । प्रहरीले आक्लझुक्कल पक्राउ गरेका कारोबारीहरुको बयान तथा अनुसन्धानहरुबाटै पनि  यो तथ्य खुल्छ । एक जना पक्राउ परे त्यही काम अर्कोलाई लगाउने, ओसारपसार गरिदिए वापत निश्चित रकम दिने सुविधामा काम लगाउने गरेको पाइएको छ ।  लागुऔषध झापा हुँदै विभिन्न ठाउँमा पुग्ने गरेको छ ।

प्रहरीले झापाका विभिन्न ठाउँबाट हरेक दिनजसो लागुऔषधसहित मानिस पक्रन्छ अनि ओसारपसारमा संलग्न रहेको अभियोगमा मुद्दा अघि बढाउँछ । तर, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार त्यसरी पक्राउ पर्नेमध्ये अधिकांश ‘भरिया’ मात्रै हुन्छन्, जसलाई आफूले बोकेर ल्याइदिएको सामान के हो भन्ने सुइँको पनि हुँदैन। यो क्रम लगातार बढ्ने क्रममा छ। जिल्ला प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०–७१ मा ६७ वटा मुद्दा दर्ता भएको लागुऔषधमा २०७१–७२ मा १ सय २५ मुद्दा दर्ता भयो । त्यस्तै भर्खरै बितेको आर्थिक वर्ष २०७२–७३ मा १ सय १५ वटा लागुऔषधका मुद्दा प्रहरीले दर्ता गरेको छ। यसले पनि जिल्लामा भएको लागुऔषध सम्बद्ध घटना बढेको देखाउँछ।

लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीका अनुसार कारोबारीहरुले गृहिणीहरुलाई समेत लागुऔषध बोकाएको भेटिएको छ। ‘सागसब्जी र खाद्यान्न खरीद गर्न भारतीय बजार पुग्ने गृहिणीलाई पनि लागुऔषध बोकाएको पाइएको छ’, लागुऔषध ब्यूरोका एक अधिकृतले भने ‘यसरी उनीहरुले नयाँ–नयाँ उपाय लगाएर कारोबार चलाएका छन्। यसले जालो तोड्न गाह्रो भएको छ।’

प्रहरीले काँकडभिट्टासहितका नाकाबाट वर्षौं अघिदेखि लगातारजसो मान्छे समातिरहँदा पनि प्रतिबन्धित लागुऔषध नेपाल भित्र्याउने क्रम रोकिएको छैन । मान्छे पक्राउ परिरहने तर कारोबार चाहिँ पटक्कै नघट्ने समस्याले प्रहरी हैरान छ। पछिल्लो समयमा प्रहरीले नियन्त्रणमा लिएका कारोबारीमध्ये अधिकांश महिला छन् । तिनलाई ठूला तस्करले परिचालन गरेका हुन् । तर, केही व्यक्ति मात्रै होइन, पूर्वी नाकामा ठूलै समूह कारोबारमा लागेका कारण लागुऔषध कारोबारको जालो तोड्न प्रहरी सफल हुन सकेको छैन ।

भारतसितको लामो र खुला साँध, सबैतिर  सुरक्षादृष्टि पुर्याउन नसक्ने  सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरुमा हुने खुलमखुला बेचबिखनलगायतका कारणले झापा लागुऔषध कारोबारीको अखडा बन्दै आएको छ । झापामार्फत धरान, इटहरी तथा पश्चिम नेपालका धेरै सहरमा लागुऔषध ओसारपसार हुने गरेको प्रहरी स्रोतको भनाई छ।

लागुऔषधकै क्षेत्रमा लामो समयदेखि काम गरिरहेका गैरसरकारी  अभियन्ताहरु पनि झापा हुँदै अन्यत्र ओसरपसार हुने लागुऔषध र कारोबारी संख्या धेरै भएको बताउँछन् । ‘झापामा प्रयोगकर्ताहरु पहिलेभन्दा धेरै घटेका छन्’, अभियन्ता तिलक थापाले भने ‘तर, झापामै धेरै कारोबारी पनि छन् । यसको अर्थ हाम्रो जिल्ला ट्रान्जिटका रुपमा बढी प्रयोग भइरहेको छ ।’ उनका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार प्रहरीले दुई–चार जना प्रयोगकर्ता  समात्दैमा भत्काउन कठिन छ। जिल्ला प्रहरी प्रवक्ता शर्माका अनुसार प्रहरीले अहिले पनि कारोबारीभन्दा पनि बढी प्रयोगकर्ता नै समातिरहेको छ । प्रयोगकर्ता समात्ने तर कारोबारीसम्म पूगन नसक्ने कारणले लागुऔषध तस्करीको सञ्जाल बलियो हुँदै गएको हो।

लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट झापा हुने गरेको छ । झापा प्रहरीले केही समयको फरकमा कारोबारीहरु समात्न थालेको लामो समय  बितेको छ । तर, कारोबारीहरुको सक्रियता पटक्कै घटेको छैन । यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरु नै बताउँछन् । नेपाली बजारमा सहजै उपलब्ध नहुने लागुऔषधका लागि प्रयोगकर्ताहरु महँगै दाम हाल्न पनि राजी हुने गरेका कारण कारोबारीहरु राम्रो आम्दानीको लोभमा जोखिम मोलेर कारोबार चलाइरहेका छन्।

प्रकाशित: १ भाद्र २०७३ ११:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App