१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बिजुलीकाे तार चुँडिँदा सहोदर दुई बालकको मृत्यु

बुटवल– ‘विद्युत प्राधिकरणको खेलाँचीले’ बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा बुटवल नगरपालिका–१२ अभियानपथमा मंगलबार दिउँसो दुई बालकको ज्यान गएको छ ।

साइकल चलाएर थकाइ लागेपछि सडक किनारमा बसेका १० वर्षीय रोहित क्षत्री र ६ वर्षीय रोहन क्षत्रीलाई पोलबाट तार चँुडिएर करेन्टले भेटेपछि केही बेरमै मृत्यु भएको हो ।

‘पोलबाट तार च्वाट्ट चुँडिएर सडक किनारमा  बसेका उनीहरुको टाउकोमै लाग्यो, उनीहरु चिच्याउँदै थर्थरी काँपे,’ नजिकै खेलिरहेकी १२ वर्षीय अञ्जली अधिकारीले घटनाबारे सुनाइन्, ‘अलि परबाट एक जना अंकल आएर बाँसको दाउराले तार निकाल्नुभयो ।’

तारबाट अलग गरेको केही बेरमै दाजुभाइ दुवैको ज्यान गएको थियो । दुर्घटनामा पर्ने दुई बालक तिलोत्तमा–२० सखुवानीका ज्ञानबहादुर लुइँटेल क्षत्रीका छोरा हुन् । पतिसँग झगडा गरेर छोराछोरीसहित पत्नी वसन्ती केही दिनअघि घरबाट हिँडेकी थिइन् । मजदुरी गरेर परिवारको लालनपालन गर्दै आएका ज्ञानबहादुरको श्रीमतीसँग सधैंजसो झगडा भइरहन्थ्यो । अञ्जलीले सधैंजसो रक्सी पिएर हिँड्न थालेपछि पतिसँग झगडाको बिउ रोपिएको थियो ।

चार दिनअघि पतिसँग झगडा भएपछि अञ्जली चार छोराछोरी टिपेर हिँडेकी थिइन् । उनी भाँडा माझ्ने र कपडा धुने कामबाट गाँस जुटाउँदै मन्दिर र पाटीपौवामा छोराछोरीसहित बस्दै आएकी थिइन् ।
विद्युत तार चँुडिएर दुई छोरालाई करेन्ट लाग्दा आमा अञ्जली केही पर थिइन् । लगत्तै उनी घटनास्थल पुगेकी थिइन् । करेन्टले दुई छोरा चँुडिएपछि उनी बेहोस छिन् ।

पोलभन्दा केही मिटर टाढाबाट तार चुँडिएको घटनाबारे विद्युत् प्राधिकरणका अधिकारीले पनि आश्चर्य  व्यक्त गरेका छन् । उनीहरुका अनुसार मुख्य गरी तीन प्रकारले प्रसारण लाइन चुँडिन्छ । पहिलो लाइनको क्षमताभन्दा बढी विद्युत प्रवाह भएर, दोस्रो ट्रक–बसले छोएर, तेस्रो लाइन कमजोर भएर पन्चर (फुट्यो) भने लाइन चँुडिन्छ । ‘यहाँ चँुडिनुको यी तीनै कारण होइनन्, कसरी चुँडियो भन्ने हामी अनुसन्धान गर्दै छौं,’ नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय, बुटवलका प्रमुख विभूतिनाथ मिश्रले भने ।

उनका अनुसार यो लाइनमा क्षमताभन्दा बढी विद्युत प्रवाह थिएन । स्थानीय सरस्वती अधिकारीका अनुसार केही समयदेखि लाइन चुँडिएको पोलमा बेलाबखत झिल्का बल्थ्यो । यसरबारे विद्युत  प्राधिकरणमा जानकारी गराएको स्थानीयको भनाइ छ ।

विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख मिश्रले लाइन चुँडिनुको कारण पत्ता लगाउन क्षेत्रीय कार्यालयका इन्जिनियर युवराज आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने जानकारी दिए ।

समितिमा स्थानीय प्रशासन कार्यालयको एक जना, नगरपालिकाको प्रतिनिधि एक जना, विद्युत प्रशासन शाखाको प्रतिनिधि र सम्बन्धित शाखाका इन्जिनियर रहने उनको भनाइ छ ।
केही दिनअघि विद्युत प्राधिकरणका यो क्षेत्रका अधिकारीसँग रुपन्देही उद्योग संघको टोलीले यस क्षेत्रको विद्युत समस्या समाधान गर्न माग गरेको थियो । विद्युत छिनछिनमा गइरहने, कम भोल्टेजको बिजुली आउनेजस्ता समस्याले उद्योग व्यवसाय चौपट हुनुका साथै सर्वसाधारणको दैनिकी अस्तव्यस्त भएको भन्दै विद्युतका अधिकारीसँग छलफल गरेको रुपन्देही उद्योग सघंका अध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिए ।

उनले विद्युत प्राधिकरणका अधिकारीले यो क्षेत्रमा विद्युत समस्या हुनुका विविध कारण मिहिन ढंगले जानकारी गराएको बताए । धेरै ठाउँमा प्रसारण लाइन क्षमताभन्दा बढी विजुली प्रवाह भएको, विद्युत पोल पुराना भएको, तार धेरै पुराना भएर जीर्ण भएको, क्षमताभन्दा बढी विद्युत प्रवाह भइरहँदा पनि ट्रान्सफर्मर र लाइन फेर्न नसकेकाले समस्या भएको विद्युत प्राधिकरणका अधिकारीले बताएका थिए ।

‘कार्यालय प्रमुखहरुले हामीसँगको भेटमा तपार्इंहरु माथिबाट पहल गर्नुस्, हामी यहाँ काम गर्न तयार छौं भनेका थिए, समस्या केन्द्रकै धेरै देखियो,’ रुपन्देही उद्योग संघका अध्यक्ष रेग्मीले भने ।
रेग्मीका अनुसार, छलफल क्रममा  विद्युत प्राधिकरणका अधिकारीले मंगलबार दुर्घटना भएको क्षेत्रको लाइन अपग्रेड गरेर पोल र तार फेर्ने तयारी गर्दा स्थानीयले विरोध गरेका थिए ।

विद्युत लोड बढी भएकाले लोड व्यवस्थापन गर्न एक वर्षअघि नै आठ एमभिएको ट्रान्सफर्मर आएको तर राख्न समस्या भइरहेको बताइएको छ ।

बस्तीभन्दा केही पर नेपाली सेना र नेपाल प्रहरीको जग्गा रहेको क्षेत्रबाट प्रसारण लाइन लैजाने तयारी गर्दा उनीहरुले समेत अवरोध गरेको विद्युत प्राधिकरण, बुटवल वितरण कार्यालयका एक इन्जिनियरले बताए ।
‘सर्वसाधारणले त विद्युत क्षमता अपग्रेड गर्न दिँदैनन्, सेना र प्रहरीले पनि अवरोध गरेका छन्, यहाँका सेना र प्रहरीका अधिकारीले केन्द्रबाट कुरा मिलाएर आउन भनेकाले थप प्रक्रिया अघि बढ्न ढिलाइ भएको छ,’ ती इन्जिनियरले भने ।

विद्युत प्राधिकरण अधिकारीका अनुसार सहरी क्षेत्रमा धेरै ठाउँमा पुराना ट्रान्सफर्मर छन् । तिनमा क्षमताभन्दा धेरै विद्युत लोड छ । पुरानाले  क्षमता धान्न नसक्दा दुर्घटना जोखिम बढी छ । बुटवलको तीनकुनेमा रहेको ट्रान्सफर्मर नियमितजसो पड्किने र आगोकोे झिल्का देखिन्छ ।  विद्युत प्राधिकरण, बुटवल  केन्द्रका कर्मचारी मर्मत गर्दागर्दा हैरान छन् ।

अहिले अन्यत्रबाट ल्याएको ट्रान्सफर्मर फेरेर पहिलेभन्दा समस्या घटेको छ तर पूर्ण रुपमा हटेको छैन । सडकको बीचमा रहेको ट्रान्सफर्मर पड्किँदा निस्कने आगोको झिल्काले सडक यात्रुलाई दुर्घटनाको जोखिम बढाएको स्थानीय कृष्ण रिमालले बताए ।

‘बुटवल बजारमा धेरै वर्षदेखि लाइन अपग्रेड भएको छैन तर विद्युत लोड थपिएको छ, यसले जोखिम बढाएको छ,’ प्राधिकरण बुटवल वितरण केन्द्रमा लामो समय रहेर अवकास लिएका इन्जिनियर गमप्रसाद रेश्मीले भने—सुधार गर्नुपर्ने,  अपग्रेड गर्नुपर्ने लगायतका काम धेरै छन्, अवरोधले काम गर्न कठिन छ, प्राधिकरणभित्र पनि आफ्नै खालका समस्या छन् । बुटवल क्षेत्रको प्रसारण लाइन र पोलको अवस्थाबारे केही दिनमा अध्ययन गरेर जानकारी दिन सक्ने प्राधिकरण क्षेत्रीय कार्यालय, बुटवलका प्रमुख मिश्रले बताए ।

‘म यहाँ आएको दुई÷तीन दिन भयो, सबै जानकारी छैन, केही दिनमा भन्न सक्छु,,’ उनले भने ।

 

 

 

प्रकाशित: १ भाद्र २०७३ ००:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App