१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गलत साथीको संगतमा पर्दा...

काठमाडौं- उनको दोष केही थिएन। तर, पनि एक रात जेलमा कोचिनुपर्‍यो। त्यति मात्रै होइन, बुबाको उपचारका लागि ल्याएको ५० हजार रुपैयाँ गुमाउनुपर्‍यो। गाउँठाउँका साथीलाई विश्वास गरेकै कारण उनी अहिले तनाबमा छन्। 

उनी अर्थात् सुनसरी, इनरुवाका रामनन्दलाल कर्ण। उनका बुबा उपचारका लागि बिएन्डबी अस्पताल भर्ना गरिएका छन्। कर्णले बस्न सजिलो होस् भनेर नजिकैको एक होटलमा कोठा लिएका छन्।

घटना हो, बुधबार रातिको। साथी गोविन्द सिंह र चिनजानका राहुल राईले उनलाई भेट्न आउने प्रस्ताव राखे। गाउँमा खाइखेली हुर्केको साथीलाई अविश्वास गर्नुपर्ने कारण थिएन। कर्णले सहर्ष स्विकारे। नभन्दै बेलुकीतिर दुवै साथी होटलको कोठा नम्बर ३०४ मा पुगे। तर, उनीहरू मात्रै होइन, अन्य दुई युवती पनि सँगै थिए। बुझ्दै जाँदा ती युवती नगरवधू रहेका कर्णले चाल पाए। 

उनले युवतीलाई कोठामा पस्न नदिने अड्डी कसे। तर, साथीहरूले हठ गर्दा तिनै युवतीले कर्णको ५० हजार रुपैयाँ उम्काए।

प्रहरीका अनुसार सिंह र राईले जबर्जस्ती युवती कोठाभित्र लगेपछि कर्ण विरोध गर्दै तल ओर्लिएका थिए। यहीक्रममा दुई युवती कर्णको झोलामा रहेको पैसा लिएर फरार भए। कर्णले तत्काल प्रहरीलाई खबर गरे।

तत्काल महानगरीय प्रहरी वृत्त जनसेवाको टोली घटनास्थल पुग्यो। त्यहाँ पुग्दा सिंह र राईले उल्टै डिउटीमा रहेका हबल्दारमाथि हातपात गरे। त्यसपछि प्रहरीले कर्णसहित तीनै जनालाई नियन्त्रणमा लियो। निर्दोष देखिएपछि कर्णलाई भने प्रहरीले बिहीबार बिहान छाडिदिएको छ।

वृत्तका अनुसन्धान अधिकारी भरत शाहका अनुसार पक्राउ परेका राईले ती युवतीलाई एक जना ट्याक्सी ड्राइभरको सहयोगमा फेला पारेको बयान दिएका छन्। दुवै युवतीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। सिंह र राईलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही अघि बढाइएको छ।

यस्तै, प्रहरीले जबरजस्ती करणी आरोपमा कामपा–३ लाजिम्पाटस्थित एवान खाजा घरमा काम गर्ने दोलखा, भीमेश्वर नगरपालिका–८ का २१ वर्षीय प्रवीण श्रेष्ठलाई पक्राउ गरेको छ। श्रेष्ठले बुधबार खाजा घरको दोस्रो तलामा डेरा गरी बस्ने तनहुँ, जामुने–१ की १७ वर्षीया युवतीलाई करणी गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०७३ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App