१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

‘शोभराजलाई उनकै देश पठाइदेऊ’

सर्वोच्च अदालतले कुख्यात अपराधी ठहरिएका फ्रान्सेली नागरिक चार्ल्स गुरुमुख शोभराजलाई १५ दिनभित्र उनकै देशमा पठाउन नेपाल सरकारलाई आदेश दिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार मुटुको बिरामी रहेका र चालचलनमा पनि सुधार आएको भन्दै कैद मिनाहा गरी शोभराजलाई आफ्नै देशमा पठाउन आदेश गरेको हो। सर्वोच्चको यो आदेशसँगै शोभराजले आठ महिना कैद मिनाहा पाएका छन्।

‘द सर्पेन्ट किलर’का रूपमा कुख्यात शोभराज २०३२ सालमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियरेको हत्या अभियोगमा २०६० सालमा नेपालमा पक्राउ परी केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका छन्। उनलाई जिल्ला अदालत भक्तपुरले २०८० असोज १ सम्म कारागारमा बस्नुपर्ने गरी फैसला सुनाएको थियो। शोभराजले जन्मकैदअनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्छ। तर उनले २० वर्ष सजाय तोकिएकोमा १९ वर्ष भुक्तान गरिसकेको उल्लेख गर्दै आफूमा असल चालचलन पनि रहेकाले रिहाइका लागि यसअघि नै सिफारिस भइसकेको दाबीसहित  रिट निवेदन गरेका थिए।

‘यस अदालतबाट प्रतिपादित सिद्धान्तको समेत विपरीत भएकाले निजलाई निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानवअधिकार मापदण्ड, संविधान, कानुनप्रदत्त अधिकारअनुकूल देखिएन,’ इजलासले भनेको छ, ‘अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन र यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन यो आदेश जारी गरिएको छ।’ 

हाल ७८ वर्षका शोभराज वृद्ध भएको र असल चालचलनमा रहेको साथै रोगले ओछ्यान परी निको नहुने अवस्थामा पुगेकाले ७५ प्रतिशतसम्म कैद छोट्याउन सकिने सर्वोच्चले ठहर गरेको छ। मुटुरोगबाट पीडित उनलाई सर्वोच्चले दुईपटकसम्म कैद भुक्तानमा छुट दिन आदेश गरेको थियो।

सर्वोच्चले २०७५ फागुन १२ मा शोभराजको मुद्दामा जेलबाट छुट्ने वा राख्ने जिम्मेवारी सरकारलाई दिँदै परमादेश जारी गरेको थियो। शोभराजलाई ज्येष्ठ नागरिकमा छुट सुविधा दिने विषयमा तीन महिनाभित्र निर्णय दिन सर्वोच्चले फैसला गरेको थियो। तर सरकारले कुनै पनि निर्णय नगरेपछि अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्दै देश फर्काउन आदेश गरेको हो। करिब चार वर्षअघि न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले शोभराजको रिट निवेदनमाथि फैसला गर्दै तीन महिनाभित्र निर्णय गर्न सरकारलाई परमादेश दिएको थियो। सर्वोच्चले सरकारलाई तीन महिनाभित्र शोभराजलाई नेपाली ज्येष्ठ नागरिकको सुविधा दिन मिल्छ/मिल्दैन भन्नेबारे निर्णय गर्ने जिम्मा सरकारलाई छोड्दै परमादेश दिएको थियो।

शोभराजलाई नेपाली ज्येष्ठ नागरिक ऐनमा टेकेर उमेर हदका कारण जेलबाट छुट्न पाउने सुविधा माग्दै उनका पक्षबाट कानुन व्यवसायी अधिवक्ता शकुन्तला थापाले सर्वोच्चमा २०७५ कात्तिक १९ मा रिट निवेदन दर्ता गरेकी थिइन्। कुख्यात अपराधी ठहरिएका र कैद सजाय भोगिरहेका फ्रान्सेली नागरिक शोभराजले नेपाली नागरिकले पाउने सुविधा माग्दै रिट दिएका थिए। २०७५ कात्तिक २० मा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले शोभराजलाई थुनामा राख्नुको कारण गृह मन्त्रालयलाई सोधेको थियो।

ज्येष्ठ नागरिक ऐन २०६३ को १२ (१ ख) र कारागार नियमावलीमा टेकी आफूलाई थुनामुक्त गर्न उनले परमादेश मागेका थिए। ज्येष्ठ नागरिक ऐनमा सरकारवादी भई चलेका कुनै पनि मुद्दामा ७० वर्ष पूरा भई ७५ ननाघेको ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म कैद छुटको व्यवस्था छ। शोभराजले ज्येष्ठ नागरिक ऐनमा टेकेर निवेदन दर्ता गरे पनि ऐनमा ‘ज्येष्ठ नागरिक’ भन्नाले ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनुपर्छ’ भन्ने उल्लेख छ। उनी विदेशी नागरिक हुन्।

गोलघरमा बस्नुपर्दा आफूलाई ‘क्रोनिक हर्ट डिजिज’ लागेका भनी उनले रिट निवेदनमा बिलौना गरेका थिए। मुटुको सर्जरी गरी भल्भ फेरिएकाले आफू निकै नाजुक रहेको पनि निवेदनमा उल्लेख छ। कुनै पनि संक्रमणबाट आफू जोगिनुपर्ने भएकाले समेत जेलबाट छुट्न पाउने दाबी रिट निवेदनमा गरिएको थियो। आफ्नो स्वास्थ्य नाजुक भएको भन्दै विभिन्न संवेदनाका शब्दसहित रिट निवेदन पेस गरिएको छ। ‘जुनसुकै बेला मेरो जीवन जोखिममा रहनेछ।

अतः मलाई अदालतको संरक्षण र न्यायको तत्कालै आवश्यकता, मानवताको जगेर्ना, भेदभावको अन्त्य गरी कानुनी प्रावधानको कार्यान्वयन नेपालको संविधानको धारा १८ अनुसार हुनु आवश्यक रहेको अनुरोध गर्छु,’ निवदेनमा भनिएको थियो।

तत्कालीन पुनरावेदन अदालत पाटनले २०७३ वैशाख २७ मा उनलाई गोलघरमा नराखी कारागारभित्र उपयुक्त ठाउँमा राख्ने आदेश गरेको थियो। तर कैदीहरूको अत्यधिक चाप भएका कारण कारागारभित्र उपयुक्त व्यवस्था नहुँदा उनलाई गोलघरमै राखिएको थियो। ‘यसबाट निजको बन्दीमाथि गरिने व्यवहारसम्बन्धी न्यूनतम मण्डेला नियम २०१५ समेत विपरीत व्यवहार भएको देखिन्छ,’ सर्वोच्चले बुधबार जारी आदेशमा भनिएको छ।

अदालतबाट पटकपटक परमादेश जारी भई तोकिएको समयमा कारागार नियमावलीबमोजिम सुविधा दिनेतर्फ कुनै निर्णय नगरेको सर्वोच्चले प्रश्न उठाएको छ। ‘१९ वर्ष कैद सजाय भोगिसकेका ७८ वर्ष उमेरका वृद्ध व्यक्तिलाई कानुनप्रदत्त सुविधा तत्काल प्रदान नगरिएकोमा निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावासविरुद्धको हकमा समेत असर पर्न गएको’ सर्वोच्चले ठहर गरेको छ।

शोभराज जेल कसरी परे?

२०३२ पुस ८ मा मनोहरा खोला किनारमा एक महिलाको शव फेला पर्‍यो। निर्वस्त्र शव कसको हो भनी नचिनिने अवस्थामा थियो। मुटुमा चारपटक छुरी रोपी उनलाई मारिएको थियो। पछि अनुसन्धानपछि त्यो शव अमेरिकी नागरिक कोन्नी जो रहेको खुलेको थियो।

त्यसैगरी २०३२ पुस ६ मा अरनिको राजमार्गमा डढेको अवस्थामा एक पुरुषको शव भेटियो। भक्तपुरको पलाँसेस्थित ढलमा फालिएको अवस्थामा भेटिएको शव पनि निर्वस्त्र थियो। अनुहार डढाएर नचिनिने गरी फालिएको थियो। ती पुरुष कोन्नीका प्रेमी लरेन्ट थिए। अनुसन्धानपछि कोन्नी र लरेन्ट एउटै योजनामा मारिएको रहस्य खुल्यो।

दुवै हत्यामा संलग्न रहेको भन्दै शोभराज पक्राउ परेका थिए। दुई जना पर्यटक नेपाल आएका बेला हत्या गरेको ठहरमा उनलाई अदालतबाट दोषी ठहर गरी २० वर्ष कैद तोकिएको थियो। उनलाई जन्मकैदसहित २०८० असोज १ सम्म कैद बस्नुपर्नेगरी २०६० सालमा भक्तपुर जिल्ला अदातलबाट फैसला भएको थियो। जिल्ला अदालतको फैसलाअनुसार अब उनले आठ महिना जेल बस्नुपर्नेछ।

को हुन् शोभराज

सन् १९४४ अप्रिल ६ मा भियतनाममा जन्मिएका चाल्र्स शोभराज ‘विकिनी किलर’का रूपमा परिचित छन्। उनको पूरा नाम चार्ल्स गुरुमुख शोभराज हो। शोभराज भारतीय बाबु र भियतनामी आमाका सन्तान हुन्। उनी सानै हुँदा बाबु भारत फर्केका थिए। त्यसपछि एक फ्रान्सेली नागरिकलाई आमाले ब्वाइफ्रेन्डका रूपमा अपनाएपछि शोभराज भियतनामी, भारतीय र फ्रान्सेली नागरिक कहलिएका थिए ।

किशोरावस्थाबाटै अपराधमा प्रवेश गरेका शोभराज सन् १९६३ मा चोरीको आरोपमा पहिलो पटक जेल परेका थिए। त्यसपछि उनको अपराध शृंखला सुरु भएको थियो। उनी चोरी र डकैतीको अभियोगमा पक्राउ परिरहन्थे। सन् १९७५ मा टेरेसा नोल्टनको हत्याको अभियोगमा उनी पक्राउ परे। हेनरिकस विन्ताजाका नाममा हल्यान्डबाट जारी एस ४८६९२० नम्बरको राहदानीमा आफ्नो तस्बिर राखेर उनी पहिलोपटक बैंककबाट नेपाल भित्रिएका थिए। पछि शोभराजले उनकी प्रेमिकाको हत्या गरेको खुलासा भयो।

थुप्रै देशमा हत्या अभियोग लागेका उनलाई भारतमा १२ वर्षको जेल सजाय सुनाइएको थियो। रिहा  हुन दुई वर्ष बाँकी छँदा मार्च १९८६ मा भारतको सबैभन्दा बलियो मानिने तिहाड जेलबाटै उनी फरार भए। भारत सरकारले थाइल्यान्ड सरकारलाई सुपुर्दगी गर्न सक्ने आशंकाले उनी जेलबाट भागेका थिए। छुटेको केही दिनमै गोवाको एक रेस्टुरेन्टबाट उनी पक्राउ परे।

सन् १९९७ फेब्रुअरी १७ मा भारतीय जेलबाट रिहा भएपछि उनलाई फ्रान्स पठाइयो। उनी सेलिब्रिटीझैं भएपछि विलासी जीवन सुरु भयो। धेरै देशमा उनले गरेका अपराधको प्रमाण नष्ट भइसकेका थिए। नेपालमा आफूविरुद्ध प्रमाण छ भन्ने उनले पत्तै पाएनन् र निर्धक्क भएर नेपाल आए।

२०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेल्दाखेल्दै महानगरीय प्रहरी अपराध महाशाखाले शोभराजलाई पक्राउ गरेको थियो। डकुमेन्ट्री बनाउन र हस्तकला व्यापार गर्न पहिलोपटक नेपाल आएको दाबी उनले गरेका थिए। उनी विदेशी नागरिक हत्या अभियोगमा फरार अभियुक्त भएकाले हनुमानढोकाको हिरासत कक्ष हुँदै सेन्ट्रल जेल पुगेका थिए। उनलाई भक्तपुर जिल्ला अदालतले हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो।

प्रकाशित: ७ पुस २०७९ ००:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App