६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गण्डकीका मन्त्री आचार्य बर्खास्त

बर्खास्त मन्त्री हरिशरण आचार्य।

गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मंगलबार पदबाट बर्खास्त गरेका हुन्। मन्त्री आचार्यले गठबन्धनलाई असहयोग गर्नुका साथै एमालेलाई सहयोग गरेका कारण बर्खास्त गरिएको मुख्यमन्त्री निकट श्रोतले जनाएको छ।

मुख्यमन्त्री पोखरेलले शीर्ष नेताहरुको सहमति लिएर आचार्यलाई बर्खास्त गरेको मुख्यमन्त्री पोखरेलको सचिवालय निकट श्रोतले जनाएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नै आचार्यलाई कारवाही गर्न मुख्यमन्त्री पोखरेललाई निर्देशन दिएको श्रोत बताउँछ।

सोमबार नै सो निर्देशन आएपनि प्रदेश प्रमुख र मुख्यमन्त्री दुवै पोखरा बाहिर रहेकाले मंगलबार मात्र बर्खास्त गरिएको बुझिएको छ। मन्त्री आचार्यलाई बर्खास्त गरिएको मुख्यमन्त्रीको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वीकृत गरेका छन्। प्रदेश प्रमुख गुरुङको सचिवालयले मंगलबार एक सूचना जारी गरेर मन्त्री आचार्यलाई बर्खास्त गरिएको जानकारी गराएका छन्।

आचार्यको पार्टी नेपाल समाजवादी पार्टी गठबन्धनमा रहेपनि आचार्य भने गठबन्धनको विरोधमा रहँदै आएका छन्। उनले पछिल्लो समय एमालेलाई सहयोग गर्दै आएको गठबन्धनको आरोप छ। मन्त्री आचार्यको जिम्मेवारी मुख्यमन्त्री आफैले राखेका छन्।

प्रकाशित: २२ कार्तिक २०७९ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App