५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

खोटाङमा राई र भट्टराईबीच कडा प्रतिस्पर्धा

खोटाङका गठबन्धन उम्मेदवार एमालेका भट्टराई र राई।

लामो समयदेखि ‘वाम किल्ला’को रुपमा स्थापित खोटाङलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावले पनि वाम किल्लै बनाउने छ। तर,  माओवादीको कि एमालेको वाम किल्ला बन्छ भन्ने सवालको जवाफ भने त्यत्ति सहज छैन।  

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनले माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा प्रदेश १ सरकारका बहालवाला मन्त्री रामकुमार राई (पासाङ)लाई साझा उम्मेदवार बनाएको छ। उता एमालेले पनि पोलिटव्युरो सदस्य विशाल भट्टराईलाई चुनावी मैदान उतारेको छ। दुवै उम्मेदवारहरु जिल्लाबासीका लागि ‘टेस्टेड’ र परिपक्क त छन् नै, नराम्रा पनि नभएकाले माओवादी र एमाले कुनको किल्ला बनाउने भन्ने जवाफ पर्खन भने मंसिर ४ सम्म कुर्नैपर्ने छ।  

माओवादी जनयुद्धकालीन नेता पासाङ ०६४ को संविधानसभा सदस्यसमेत हुन् भने ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित हुन् भने भट्टराई ०७० को संविभासभा सदस्य पनि निर्वाचित हुन्। ०७४ को चुनावमा माओवादी र एमालेको गठबन्धनबाट प्रदेशतर्फ पासाङ र राजेन्द्र राईले जित्दा संघतर्फ एमालेका भट्टराईले जितेका थिए। पासाङ हाल प्रदेश १ सरकारमा खानेपानी, सिंचाई तथा उर्जामन्त्री पनि हुन्। भट्टराई ओली सरकारले संसद बिघटन गरेसँगै भएको एमाले विभाजनपछि खाली भएको संसदीय दलको प्रमुख सचेतक भएर काम गरेका थिए।  

राई र भट्टराई दुवै उम्मेदवार खोटाङ्गे जनताका लागि उति ‘अप्रिय’ भने छैनन्। पदीय दायित्व निर्वाह गर्न र जनसवालमा दुवै नेता उत्तिकै जिम्मेवार देखिदैँ आएकाले आउँदो चुनावमा मतदाताले कसलाई जिम्मेवारी सुम्पन्छन् भन्ने कुराको जवाफ पाउन त्यत्ति सहज भने छैन। तर, सत्तारुढ दलीय गठबन्धन भएर चुनाव लड्नु र एमाले पछिल्लो समय प्रतिगामी कित्तामा उभिएकाले पासाङलाई सहजै जित हात पर्ने आँकलन जिल्लाबासीको छ। ०६४ को संविधासभा सदस्य जितेका, प्रदेशसभा जितेर सरकारमा सहभागी भएपछि विकास निर्माणमा बाक्लो ध्यान दिएका कारण पनि जित सजिलो हुनेसँग गठबन्धन ‘प्लस पोईन्ट’ हुने जिल्लाबासीको अनुमान छ।  

खोटाङका नागरिक अगुवा इन्द्र राईका अनुसार पासाङलाई इमान्दार राजनीतिकर्मी, भद्र छवि र जिल्लाको विकास निर्माण तथा जनताको भलाईका लागि मरिमेट्ने नेताको परिचय बनाएका छन्। जनसरकोकारको विषयमा तत्काल ध्यान दिने, विकास निर्माणमा आग्रह पूर्वाग्रह नराख्ने भएकाले पनि यो चुनावमा पासाङलाई जिताउनै पर्ने दायित्व खोटाङ्गेलाई भएको उनको मत छ। राईका अनुसार मन्त्री भएपछि पछिल्लो ६ महिनामा मात्र पासाङले प्रदेश सरकारबाट अर्ब हाराहारी बजेट जिल्ला भित्र्याएका छन् भने पार्टीको पोलिटव्युरो सदस्य भएकाले केन्द्रबाट बजेट ल्याउन उत्तिकै पहल गर्दै आएका छन्। ‘गठबन्धनले काँग्रेसको मत जोडिँदा पासाङको जित सुनिश्चित छ’ उनको प्रक्षेपण छ ‘१० हजारभन्दा बढी नै मतान्तरले जित्नु्पर्ने हो।’  

उता भट्टराईलाई भने चुनाव नजित्दासम्म निकै लोकप्रिय रहेको तर, साँसद भएपछि एकपछि अर्को जनविरोधी गतिविधिमा संलग्न हुँदै आएको आरोप लागेको छ। जिल्लामा भइरहेका विकास निर्माणका धेरै कामहरु प्रमुख सचेतकको शक्ति दुरुपयोग गरेको उदाहरण भएको भन्दै त्यसकारण यो चुनाव भट्टराईका लागि ‘अफाप सिद्ध’ हुने राईको अनुमान छ। ‘एमाले फुटपछि ओली कित्तामा पुगेका भट्टराई कुनै बेला निकै लागि प्रिय मानिन्थे’ राई भने ‘तर, एमाले विभाजनपछि जनतासँग गर्ने रुखो व्यवहार र इतरपार्टीसँग साँध्ने आग्रह पूर्वाग्रहपूर्ण गतिबिधिको नतिजा यो चुनावमा उनको हार निश्चित जस्तै लाग्छ।’

गठबन्धनतर्फ प्रदेश (ख) का साझा उम्मेदवार तथा नेपाली कांग्रेस १ नम्बर प्रदेश महामन्त्री उम्मेद्वार भुपेन्द्र राईले पनि भट्टराईको व्यवहार र कार्यशैलीले जिल्लाबासी आजित भइसकेकाले यो चुनावमा उनको हार अनिवार्य भएको बताए। उनको विचारमा सांसदजस्तो चुनाव जितेर संघमा पुगेको जिम्मेवार व्यक्ति जनताप्रति बेसरोकार हुँदा जिल्ला र जिल्लाबासी पछि पर्नु परेको छ। चुनावमा ‘सही नेतृत्व’ चयन गर्न नसक्दा खोटाङ हरेक कुरामा पछि परेको बताउने राईका अनुसार यो चुनावमा गठबन्धनको जित नभए खोटाङ मात्र होईन, सिंगो मुलुक अँध्यारो सुरुङभित्र छिर्ने खतरा रहेको बताए।  

चुनावी प्रचार अभियानको क्रममा जिल्लाव्यापी दौडमा रहेका उम्मेदवार राईले यस अघिका चुनावमा जनताले सही नेतृत्व छान्न नसक्दा खोटाङले ठूलो सास्ती बेहोर्नु परेको भन्दै मंसिर ४ को चुनावबाट राम्रो र सही नेता छानेर पठाउन आग्रह गर्ने गरेका छन्। एमालेका विशाल भट्टराईलाई चुनाव जिताएर पठाउँदा खोटाङ विकास निर्माणमा १० वर्ष पछि परेको निश्कर्ष उनको छ। ‘एमालेलाई जिताएर पठाउँदा हामीबाट गम्भीर गल्ती भएछ, अब त्यो छुट तपाई हामी जिल्लाबासीलाई छैन’ उनले भन्ने गरेका छन् ‘जिल्लाको विकास निर्माण र जनसरोकारका लागि गठबन्धनको विकल्प कोही हुन सक्दैन।’  

२०७४ को चुनाव एमालेले देशैभर जितेपछि खोटाङमा पनि केही होला भन्ने आस गरेकोमा उल्टो हँुदै गरेका कामहरुमा पनि सांसद भट्टराईले तगारो लगाएर हुन नदिएको आरोपसमेत राईले लगाएका छन्। आप्mनै पार्टी नेकपा फुटाएर संविधानमै व्यवस्था नभएको संसद बिघटन गरेर तानाशाही पाराले देश र जनतालाई पश्चगमनतरि धकेल्ने ओली नेतृत्वको एमाले देशभर हारेन भने मुलुक र जनताको भविष्य अन्धकार भएकाले पनि गठबन्धनलाई भोट दिनुपर्ने उनको आग्रह छ।  

घरघरमा ग्यास पाइप, रेल, पानी जहाज चलाउनेजस्ता झुटा र हावादारी आश्वासन बाँडेर एमालेले चुनाव जितेको तर, झिगो नमारेर ५ वर्ष बिताएको भन्दै संविधानको रक्षा र प्रतिगमनबाट मुलुकलाई जोगाउन पनि गठबन्धनलाई जिताउनै पर्ने जिम्मेवारी जनतालाई भएको उनको भनाई छ। देशमा संघीयता र गणतन्त्र ल्याउन, समावेशी समानुपातिक व्यवस्था ल्याएर युग परिवर्तन गर्नुमा नेपाली कांग्रेस र नेकपा माओवादीकै प्रमुख भूमिका रहेको भन्दै उनले अव त्यसको रक्षा गर्नुपर्ने उनीहरुकै काँधमा जिम्मेवारी दिनुपर्ने बताए।  

काँग्रेसले राणा शासन फालेको, पञ्चायती व्यवस्था फालेको, माओबादी जनयुद्धपछि भएको ऐतिहासिक जनआन्दोलनले राजतन्त्र फालेको तर, एमालेले केही नगरी कुर्सीमा बसेर सत्ता चलाउँदै पुनः तानाशाह जन्माउन खोजेकाले अव देशव्यापी रुपमा एमाले हराउन गठबन्धनलाई जिताउन उनको आग्रह छ।

प्रकाशित: २२ कार्तिक २०७९ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App