५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

धनुषा ४ मा पुरानै तीन प्रतिस्पर्धीः महेन्द्रको लागि महाजन हुनसक्छन् बाधक, महासेठलाई गठबन्धनको डर

आसन्न निर्वाचनको उमेदवारहरु अहिले मतदाता भेट्न व्यस्त छन्। चुनावी एजेण्डासहित उनीहरु अबेर रातिसम्म निर्वाचन क्षेत्रमा मतदाताको घरदैलोमा पुगिरहेका छन्। दिपावली र छठ पर्वको तयारीमा व्यस्त भएका मतदाताहरु छठपर्व सकिएलग्त्तै धान भित्र्याउने सुरसारमा छन्।

उम्मेदवारहरु मतदाताको घरदैलो तथा खेतमै भेट्न पुगिरहेका छन्। मतदाताहरु चुनावी परिणाम कसको पक्षमा आउँला भनेर आँकलन पनि गरिहेको छ। चुनावी जोड–घटाउ र जित-हार बारे बहस पनि जनताले गरिरहेका छन्। किनभने यहाँ प्रमुख दुई पार्टीका पदाधिकारीहरु उमेदवार छन्।

यहाँ प्रमुख तीन दलका नेतासहित २९ जना प्रतिनिधिसभा सदस्य पदका उमेदवार प्रतिस्पर्धामा छ। पाँच दलिय गठबन्धनबाट नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)का सचिव रघुविर महासेठ र जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य महाजन यादव प्रमुख दलका उमेदवार छन्।

यी तीनै नेता ०७४ सालको आम निर्वाचनमा पनि प्रतिस्पर्धा गरिसकेका छन्। दुई क्षेत्रमा एमाले–जसपाको चुनावी तालमेल भएपनि धनुषा–२ र ४ मा भएको छैन। एमालेका उमेदवार महासेठ ०७४ साल जित्न सफल भएझैं पुनः जितेर दोहोरिने दाउमा छन् भने काँग्रेसका सह–महामन्त्री यादव उनलाई हराउन चुनावी मैदनमा उत्रेका छन्।

जसपाका महाजन पनि दुबैलाई हराएर इतिहास बनाउन अगाडि बढेका छन्। यादव महासेठसँग ०७४ को पराजयको बदला लिन एमालेका नेताहरु काँग्रेसमा भित्र्याइरहेका छन्। उनले एमालेबाट समानुपातिकको लागि सिफारिस भएकी फुलकुमारी महतो र प्रदेशसभा सदस्य पदका आकांक्षी डा. सञ्जिव यादवलाई काँग्रेसमा प्रवेश गराएका छन्।

काँग्रेस त्यसअघि जसपा मधेश प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष शेषनारायण यादवलाई पार्टी भित्र्याएर प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ। महासेठ पनि आफ्नो जित कायम राख्न दाउ लगाएका छन्। महासेठले सोही क्षेत्रमा गृह घर भएका काँग्रेसका धनुषा पूर्व उपसभापति तथा १४औं महाधिवेशनमा जिल्ला सभापतिमा पराजित नेता सन्तोष यादवलाई एमालेमा प्रवेश गराएर प्रदेशसभातर्फ ४ (क) मा उमेदवार बनाएका छन्।

यी दुवै नेतालाई पराजित गर्न जसपाका महाजन यादव पनि कसरत गरिरहेका छन्। ०७४ मा तेस्रो स्थानमा रहेका महाजन विगतभन्दा बलियो सावित गर्न चाहन्छन्। मधेश प्रदेश सरकारको नेतृत्व गरेको जसपाले यी क्षेत्रमा काम गरेका कारण मतदाताले जसपाको उम्मेदवारलाई मतदान गर्छन् उनको विश्वास छ।

जसपाबाट प्रतिनिधिसभामा यादव, प्रदेशसभातर्फ ‘क’ मा ज्ञानेन्द्र यादव र ‘ख’ मा चन्देश्वर महतो उमेदवार छन्। एमालेबाट प्रतिनिधिसभामा महासेठ प्रदेशसभातर्फ ‘क’ मा सन्तोष यादव र ‘ख’ मा हरिनारायण महतो उमेदवार छन्। पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा काँग्रेसका यादव, प्रदेशसभातर्फ ‘क’ मा काँग्रेसकै शेष नारायण यादव र ‘ख’ नेकपा एकीकृत समाजवादीका शत्रुधन महतो उमेदवार छन्।

स्थानीय तहको मत परिणाम अनुसार काँग्रेस बलियो

२०७४ को निर्वाचनमा महासेठ २२ हजार पाँच सय ३२ मत ल्याएर विजयी भएका थिए। उनलाई काँग्रेसका यादवले १९ हजार ९ सय ८८ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने। उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टी फोरमबाट महाजनले पनि १९ हजार ६ सय ६२ मत ल्याएका थिए। त्यतिबेला महासेठ एमाले र माओवादीको साझा उम्मेदवार बनेको थियो।

त्यतिबेला माओवादीको साथ पाएका एमालेका महासेठ विजयी भएका थिए भने मधेश आन्दोलनको रापताम सेलाउन नसकेको भएको निर्वाचनमा महाजनले पनि सम्मानजनक मत प्राप्त गरे। तर यस पटकको परिस्थिति फरक छ। यसपालि महाजनलाई सहज बनाउन न मधेस आन्दोलनको रापताप छ, न त एमालेका महासेठ जिताउन सहयोग गरेको माओवादीको साथ।

एमालेबाट वरिष्ठ नेता तथा  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूह पनि अल्गिएका छन्। यस्तो अवस्थामा महासेठको जित चुनौतीपूर्ण रहेको नेताहरुको विश्लेषण छ। स्थानीय निर्वाचनको मत परिणाम अनुसार पनि काँग्रेस अगाडि देखिन्छ। ४२ वटा वडा रहेको यस क्षेत्रको १९ वटा वडामा काँग्रेस विजयी भएका छन् भने १२ वटा वडामा मात्रै एमाले विजयी भएका छन्।

पाँच पालिका रहेको यहाँ तीन पालिमा काँग्रेस, एकमा एमाले र एक पालिकामा काँग्रेसकै वागी उमेदवार विजयी भएका छन्। यी क्षेत्रमा काँग्रेसले तीन उपप्रमुख पनि जितेका छन्। त्यसमध्ये करिव २३ हजार चार सय काँग्रेस, १८ हजार दुई सय एमाले, आठ हजार जसपा, पाँच हजार नेकपा माओवादी केन्द्र र पाँच सात हजार नेकपा (एकीकृत समाजवादी)ले ल्याएका छन्। यहाँ अहिले एक लाख १७ हजार एक सय ९५ मतदात छन्।

किन भएन एमाले–जसपाको चुनावी तालमेल?

धनुषामा ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ। जसमध्ये निर्वाचन क्षेत्र १ र ३ मा एमालेको जसपासँग चुनावी तालमेल भएपनि २ र ४ मा भएको छैन्। २ र ४ मा दुवै पार्टीले आ–आफ्नो उम्मेदवार खडा गरेको छ। जसपा र एमालेको चुनावी तालमेल निर्वाचन क्षेत्र ४ मा गर्न खोज्यौं तर जसपाले प्रदेशसभाको दुवै सिटमा दाबी गरेपछि तालमेल हुन नसकेको महासेठ बताउँछन्।

उनले भने, ‘हामीले जसपासँग चुनावी तालमेलको कुरा गरेको हो तर पनि धनुषाको २ र ४ मा सिट बाँडफाँडमा कुरा नमिलेपछि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ।’ यद्दपि धनुषा ४ मा एमाले र जसपाको चुनावी तालमेल नहुनुको फरक कारण पनि छ। ०७४ सालको आम निर्वाचनमा एमालेका महासेठले २२ हजार ५३२ मत ल्याएर निर्वाचित भएका थिए भने काँग्रेसका महेन्द्र १९ हजार ९९१ मत ल्याएर दोस्रो र जसपाको महाजनले १९ हजार ६६२ मत ल्याएर तेस्रो स्थानमा रहेको थिए।

एमालेले जसपासँग चुनावी तालमेल गरेको भएपनि जसपाको मत एमाले भन्दा काँग्रेसमा जाने सम्भवना बढी थियो। त्यसकारण महासेठले जसपासँग तालमेल गर्नुभन्दा जसपाको उम्मेदवार भए जसपाले आफ्नो मत आफैंमा राख्न सके आफ्नो लागि जित सहजदेखेर तालमेल नगरेको नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य संजीव यादवको बुझाइ छ।

‘यहाँ जसपाको अधिकांश नेता कार्यकर्ता काँग्रेस पृष्ठभूमिका हुन् उनीहरु कम्युनिष्टलाई मत दिदैन मत दिने भनेको लोकतान्त्रिक पार्टीलाई नै हो उनको बुझाइ छ’ उनले भने।  एमालेले जसपासँग तालमेल नगर्नुको अर्को कारण हो जातीय फ्याक्टर यहाँ विगतको दुई जना यादव समुदायको उम्मेदवारले १९-१९ हजार मत पाएको थियो। दुई वटै उम्मेदवारको मत जोड्दा ३९ हजार पुग्छ भने महासेठको मात्र २२ हजार त्यसैले महासेठ जातीय समीकरण बुझेर यादव समुदायबाट दुई जना उम्मेदवार बनाउन जसपासँग तालमेलको लागि त्यति महत्व नदिएको हो।’

अघिल्लो निर्वाचनमा पनि यादव समुदायबाट दुई जना उम्मेदवार भएकाले उनलाई चुनाव जित्न सहज बनाएको थियो। यसपटक पनि यादव समुदायको मत दुई ठाउँमा विभाजीत हुँदा आफ्नो जित हुने बुझेर जसपासँग मित्रवद्ध प्रतिस्पर्धा भनेर एक्लै एक्लै चुनावी मैदानमा उत्रेका हुन्। 

प्रकाशित: १८ कार्तिक २०७९ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App