५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

देउसी खेल्दै भोट माग्दै उम्मेदवार

देशभर आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन्।

नेपाली काँग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखक देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत मागिरहेका छन्। त्यसैगरी काँग्रेस–माओवादी गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार टेकेन्द्र भट्ट, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल, नेकपा (एमाले)–राप्रपा गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार धर्मराज जोशीलगायतका उम्मेदवार देउसीभैलोको सदुपयोग गर्दै जनतासँग मत मागिरहेका छन्।

घरदैलो अभियानमा रहेका उम्मेदवारले तिहारको समयमा पनि अभियानलाई निरन्तरता दिएका छन्। नेपाली काँग्रेस कञ्चनपुरका नेता केशव चन्दले तिहारको समयमा पनि घरदैलो अभियानलाई निरन्तरता दिइरहेको बताए। 'घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ', उनले भने, 'तिहारको समयमा देउसीभैलोको रौनकता छ, हाम्रा उम्मेदवारले पनि देउसीभैलोमा सहभागी भएर मत दिन आग्रह गरिरहनुभएको छ', उनले जनतासँगै रमाउँदै मत माग्दै गरिरहेको बताए।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका भीमदत्तनगर अध्यक्ष करन पालले पनि उम्मेदवारहरू देउसीभैलोको सदुपयोग गरिरहेको बताए। 'अहिले उम्मेदवारहरूले देउसीभैलो कार्यक्रममा सहभागी भएर आफ्ना कुरा जनतासमक्ष राख्ने र मत दिन आग्रह गरिरहेका छन्', उनले भने, 'देउसीभैलोमा सहभागी हुँदै घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ।' निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले पनि घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

प्रकाशित: १० कार्तिक २०७९ ००:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App