७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी

०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन्। दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्।  

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका नेता दुई दर्जनभन्दा बढी क्षेत्रमा पुनः प्रतिस्पर्धामा उत्रिएको अभिलेखबाट देखिन्छ।  

प्रतिनिधिसभा सदस्यका लागि झापा ५ मा एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता खगेन्द्र अधिकारीदेखि कञ्चनपुर २ मा नारायणप्रसाद (एनपी) साउद र नरबहादुर धामीसम्म फेरि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। अघिल्लोपटक पराजित नेताहरू मंसिरमा हुने चुनावमा विगतको परिणाम उल्ट्याउने रणनीतिमा छन्।

२०७४ सालको चुनावमा जितेका नेताहरू भने जितलाई निरन्तरता दिन सक्रिय छन्। अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो भने कांग्रेसले राप्रपासँग समीकरण गरेको थियो। त्यसबेला झापामा भने राप्रपाले एमालेसँग गठबन्धन गरेको थियो।

अहिले पुरानो गठबन्धन भत्केर नयाँ बनेको छ। अघिल्लो निर्वाचनमा सँगै रहेका एमाले र माओवादी अलगअलग कित्तामा छन्। अहिले सत्तामा रहेका माओवादी केन्द्र, एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोसपा र राष्ट्रिय जनमोर्चा (राजमो) कांग्रेस नेतृत्वको चुनावी गठबन्धनमा छन्। एमाले भने राप्रपा, जसपासहितका दलहरूलाई साथ लिएर अघिल्लो निर्वाचन परिणामलाई निरन्तरता दिने रणनीतिमा छ।  

सत्ता र प्रतिपक्षी गठबन्धनको बलमा दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै उम्मेदवार पुनः प्रतिस्पर्धामा उत्रिएका हुन्। २०७४ सालको निर्वाचनमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेर आफ्नो जितलाई सुनिश्चित गरेका ओली मंसिर ४ मा हुने चुनावमा पनि झापा ५ बाट उम्मेदवार छन्। पाँच वर्षपछि हुन लागेको निर्वाचनमा माओवादी केन्द्र ओलीको विपक्षमा उभिएको छ। तर राप्रपासँगको तालमेल कायम गर्दै निर्वाचन प्रतिस्पर्धामा उत्रिएका ओलीविरुद्ध कांग्रेसका खगेन्द्र अधिकारी मैदानमा छन्। अघिल्लो चुनावमा ओलीसँगै प्रतिष्पर्धामा उत्रिएका अधिकारीलाई अहिले माओवादी केन्द्र र नेकपा एसको समर्थन छ।  

अघिल्लो पटक माओवादी र राप्रपाको समर्थनमा ५७ हजार १३९ मतसहित प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित हुँदा अधिकारीले २८ हजार २९७ मत पाएका थिए। २०७९ साल वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा झापा ५ मा वडाध्यक्षहरूले पाएको मतका आधारमा एमालेको ४१ हजार ६१९, कांग्रेसको २२ हजार २२, माओवादी केन्द्र को १० हजार ७८८, राप्रपाको ८ हजार ३५३ र नेकपा एसको १ हजार ९८८ भोट छ। यो मतलाई हेर्दा दोस्रो पटक ओलीसँग प्रतिस्पर्धामा रहेका अधिकारीलाई परिणाम आफ्नो पक्षमा पार्न एमाले र राप्रपाको केही मत तान्नुपर्ने देखिन्छ।  

ओली मात्र होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि पुनः प्रतिस्पर्धामा छन्। २०७४ सालको चुनावमा झापा ३ मा उनीहरू मुख्य प्रतिस्पर्धी थिए। अघिल्लो पटक झापाबाहेक अन्यत्र कांग्रेस र राप्रपाबीच सहकार्य हुँदा पनि झापामा एमाले र राप्रपाबीच सहकार्य भएको थियो। त्यसबेला एमालेको साथ पाएका लिङदेनले कांग्रेस नेता सिटौलालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा आफ्नो स्थान सुरक्षित गरेका थिए। लिङदेनले ४४ हजार ६१४ मतसहित जित निकाल्दा निकटतम प्रतिस्पर्धी सिटौलाले ३१ हजार १७१ मत पाएका थिए। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा झापा ३ मा वडाध्यक्षहरूले पाएको मतका आधारमा कांग्रेसको २५ हजार ९४९, राप्रपाको २१ हजार १५९, एमालेको २१ हजार ८५, माओवादी केन्द्रको ६ हजार ६६८, जसपाको ५ सय ३७ र लोसपाको २०८ भोट छ।

झापा ४ मा पनि एमालेका लालप्रसाद साँवा र कांग्रेसका देउमान थेवे फेरि प्रतिस्पर्धामा छन्। अघिल्लो चुनावमा साँवा ४३ हजार ५१५ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी थेवेले २६ हजार ८२२ मत पाएका थिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा झापा ४ मा वडाध्यक्षहरूले पाएको मतका आधारमा एमालेको ३१ हजार २७२, कांग्रेसको २८ हजार १६५, माओवादी केन्द्रको ६ हजार ३८२, राप्रपाको ४ हजार ५५६, नेकपा एसको ७ सय २, लोसपाको २ सय ४८, जसपाको एक सय १० मत छ।

मोरङका तीनवटा निर्वाचन क्षेत्रमा कांग्रेस नेता शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित, घनश्याम खतिवडा र डिगबहादुर लिम्बु, भानुभक्त ढकाल र सुनिलकुमार शर्मा पुनः प्रतिस्पर्धामा उत्रिएका छन्। मोरङ ६ मा अघिल्लोपटक एमाले नेता पण्डितसँग कांग्रेस नेता कोइराला पराजित भएका थिए। कोइरालाले ३३ हजार २६६ र पण्डितले ३३ हजार ९४१ मत पाएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा मोरङ ६ मा वडाध्यक्षहरूले पाएको भोटका आधारमा कांग्रेसको २७ हजार ८६, एमालेको २४ हजार ५५६, माओवादी केन्द्रको ४ हजार ९९६, जसपाको ३ हजार ९३९, राप्रपाको ३ हजार ११५, नेकपा एसको २ हजार ३५५ र लोसपाको ८ साय ९५ मत छ।  

मोरङ १ एमालेका खतिवडा र कांग्रेसका लिम्बुबीच २०७४ सालमा पनि प्रतिस्पर्धा भएको थियो। खतिवडाले ३७ हजार ५२४ र लिम्बुले ३१ हजार ४३६ मत पाएका थिए। अहिले पनि दुवैजना प्रतिस्पर्धामा छन्। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा मोरङ १ मा वडाध्यक्षहरूले पाएको भोटका आधारमा एमालेको ३२ हजार ३६६, कांग्रेसको ३१ हजार ४१३, माओवादी केन्द्रको ६ हजार ५८३, राप्रपाको २ हजार ८९०, नेकपा एसको १ हजार ९३, जसपाको ४ सय ९४ मत छ।  

मोरङ ३ मा ढकाल र शर्मा फेरि प्रतिस्पर्धामा छन्। अघिल्लो चुनावमा ढकालले ४२ हजार ४१३ र शर्माले ४० हजार ५०६ मत पाएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा मोरङ ३ मा वडाध्यक्षहरूले पाएको भोटका आधारमा एमालेको ३७ हजार ४१०, कांग्रेसको ३६ हजार ९१६, माओवादी केन्द्रको ७ हजार ३७३, राप्रपाको २ हजार १२१, नेकपा एसको १ हजार ८५५ र जसपाको ४ सय ६३ मत छ।

सुर्खेत १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का चुनावी प्रतिस्पर्धामा छन्। २०७४ सालको निर्वाचनमा एमालेका ध्रुव शाहीसँग पराजित खड्का अहिले पनि उनैसँगै प्रतिस्पर्धा गर्दैछन्। अघिल्लो निर्वाचनमा माओवादी र एमालेबीच चुनावी तालमेल हुँदा शाहीले ३६ हजार ७५९ र खड्काले ३३ हजार २७७ मत पाएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा कांग्रेसले पाएको मतका आधारमा खड्का उत्साहित छन्। स्थानीय तह चुनावमा सुर्खेत १ मा वडाध्यक्षहरूले पाएको भोटका आधारमा कांग्रेसको ३६ हजार ९२८, एमालेको ३४ हजार ८४३, माओवादी केन्द्रको ५ हजार ७५, राप्रपाको ६ सय ६४, नेकपा एसको ६ सय ३४ मत छ।  

काठमाडौं १ मा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र राप्रपाका वर्तमान उपाध्यक्ष रवीन्द्र मिश्र पुनः प्रतिस्पर्धामा छन्। अघिल्लो पटक सो क्षेत्रबाट १० हजार ९३६ मत पाएर सिंह विजयी भएका थिए। त्यसबेला विवेकशील सझा पार्टीबाट उम्मेदवार भएका मिश्रले १० हजार ११८ मत पाएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा काठमाडौं १ मा कांग्रेसको ९ हजार ८९५, एमालेको ९ हजार ५४१, राप्रपाको १ हजार ३७६, माओवादी केन्द्रको १ हजार १५९ मत छ।  

काठमाडौं ४ मा पनि कांग्रेस महामन्त्री गगनकुमार थापा र एमाले नेता राजन भट्टराई फेरि प्रतिस्पर्धामा उत्रिएका छन्। थापाले काठमाडौं ४ बाट प्रत्यक्षमा तेस्रो पटक जित निकाल्ने तयारी गरिरहेका छन् भने भट्टराई अघिल्लो निर्वाचन परिणामलाई उल्ट्याएर प्रतिनिधिसभा सदस्य बन्ने योजना साथ प्रचारमा जुटेका छन्। अघिल्लो चुनावमा विजयी थापाले २१ हजार ५५८ मत र निकटतम प्रतिस्पर्धी भट्टराईले १८ हजार १४० मत पाएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा काठमाडौं ४ मा एमालेको १६ हजार ५०७, कांग्रेसको १५ हजार ७६३, नेकपा एसको २ हजार ४१४, राप्रपाको २ हजार २९३, माओवादी केन्द्रको ८ सय ४४ र जसपाको ३ सय १७ मत छ।

त्यस्तै पाँचथरमा कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे र एमालेका वसन्त नेम्बाङ फेरि प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनमा ३८ हजार ६४१ मतसहित नेम्बाङले जित निकाल्दा निकटतम प्रतिस्पर्धी आङ्देम्बेले २८ हजार २५ मत पाएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा पाँचथरमा एमालेको ३० हजार ९५८, कांग्रेसको २५ हजार ६५, माओवादी केन्द्रको ११ हजार ८०८, जसपाको २ हजार ६४३, नेकपा एसको २ हजार १६१ र राप्रपाको १ हजार ९०९ मत छ।

संखुवासभामा एमालेका राजेन्द्रप्रसाद गौतम र कांग्रेसका दीपक खड्का अघिल्लो निर्वाचनका पनि प्रतिस्पर्धी हुन्। २०७४ को चुनावमा गौतमले ३२ हजार ७६९ र खड्काले ३१ हजार ६३९ मत पाएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा संखुवासभामा एमालेको ३२ हजार ९११, कांग्रेसको ३० हजार ८४९, माओवादी केन्द्रको ७ हजार १२२, नेकपा एसको १ हजार १०१, जसपाको ४ सय ७१ मत छ।  

अघिल्लो चुनावमा धनकुटामा राजेन्द्रकुमार राईले ३७ हजार ३३३ र निकटतम प्रतिस्पर्धी सुनिल थापाले २६ हजार ८७४, सुनसरी ३ मा विजयकुमार गच्छदारले ३८ हजार ९७२ र निकटतम प्रतिस्पर्धी भगवती चौधरीले ३८ हजार ६५१, उदयपुर १ मा नारायण खड्काले ३३ हजार १४२ र निकटतम प्रतिस्पर्धी मन्जु चौधरीले ३२ हजार ५९४ मत पाएका थिए। यी क्षेत्रबाट मंसिरमा पनि उनीहरू फेरि प्रतिस्पर्धामा छन्। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा सुनसरी ३ मा एमालेको ३५ हजार ५३, कांग्रेसको ३३ हजार ५७१, जसपाको ५ हजार ५१६, माओवादी केन्द्रको ३ हजार ८००, राप्रपाको ३ हजार ३३१, नेकपा एसको ६ सय २६, धनकुटामा एमालेको ३६ हजार ३३६, कांग्रेसको २८ हजार १८२, माओवादी केन्द्रको ५ हजार ४५८, जसपाको २ हजार २९३, नेकपा एसको १ हजार ७२८, राप्रपाको ३ सय ४ र उदयपुर १ मा एमालेको २१ हजार ६५२, कांग्रेसको २० हजार ७५७, माओवादी केन्द्रको ८ हजार १७९, जसपाको २ हजार ४२९, नेकपा एसको १ हजार ९९४, राप्रपाको १ हजार ६३३ मत छ।

त्यस्तै २०७४ को चुनावमा ललितपुर १ मा एमालेका नवराज सिलवालले २६ हजार ९५१ र निकटतम प्रतिस्पर्धी कांग्रेसका उदयशमशेर राणाले २० हजार ७२९ मत, मनाङमा एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार ३०० र निकटतम प्रतिस्पर्धी कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१, गुल्मी १ मा एमालेका प्रदीप ज्ञवालीले ३७ हजार ८१४ र निकटतम प्रतिस्पर्धी कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २५६, धनुषा ४ मा एमालेका रघुवीर महासेठले २२ हजार ५३२ र निकतटम प्रतिस्पर्धी कांग्रेसका महेन्द्र यादवले १९ हजार ६६२ मत पाएका थिए। उनीहरू आगामी चुनावमा पनि प्रतिस्पर्धामा छन्। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा ललितपुर १ मा कांग्रेसको २३ हजार ८५४, एमालेको १८ हजार ९९३, माओवादी केन्द्रको ६ हजार १३३, राप्रपाको १ हजार ७५७ मत छ। त्यस्तै मनाङमा एमालेको १ हजार २५८, कांग्रेसको १ हजार २२०, धनुषा ४ मा कांग्रेसको २५ हजार १९५, एमालेको २३ हजार ६३०, जसपाको ८ हजार ३७८, नेकपा एसको ८ हजार १६४, माओवादी केन्द्रको ४ हजार ४३४, लोसपाको २ हजार १८४, जनमत पार्टीको १ हजार ९५०, राप्रपाको ५१४ तथा गुल्मी १ मा एमालेको ३५ हजार ७०१, कांग्रेसको ३१ हजार २९४, माओवादी केन्द्रको ४ हजार ९७०, राजमोको १ हजार ६००, नेकपा एसको ४९७ मत छ।  

ओखलढुंगामा यज्ञराज सुनुवार र रामहरि खतिवडा अहिले पनि चुनावी प्रतिस्पर्धामा छन्। २०७४ को चुनावमा माओवादी केन्द्रको समर्थनमा सुनुवार ३२ हजार ५८० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी खतिवडाले २७ हजार ३२७ मत पाएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा ओखलढुंगामा कांग्रेसको ३२ हजार २८८, एमालेको २९ हजार ५९१, माओवादी केन्द्रको ६ हजार ९१६, जसपाको २ हजार १०४, नेकपा एसको ५ सय २१, राप्रपाको १ सय ४६ मत छ।

बारा १ मा कांग्रेसका उमाकान्त चौधरी र एमालेका अच्युतप्रसाद मैनाली, नुवाकोट २ मा कांग्रेसका अर्जुननरसिंह केसी र एमालेका नारायण खतिवडा पुनः उम्मेदवार भएका छन्। २०७४ को चुनावमा बारा १ मा चौधरीले २४ हजार ४५० मतसहित जित निकाल्दा मैनालीले २२ हजार ३० मत पाएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा बारा १ मा कांग्रेसको ३२ हजार ३५६, एमालेको २५ हजार ८०८, लोसपाको ९ हजार ५०५, माओवादी केन्द्रको ६ हजार ३४३, जसपाको ६ हजार १४३, राप्रपाको १ हजार ९७३, नेकपा एसको १ हजार ९४० मत छ। नुवाकोट २ मा केसी माओवादी केन्द्रसहितको समर्थनमा २०७४ को निर्वाचन परिणाम उल्ट्याएर जित निकाल्ने रणनीतिमा छन्। अघिल्लो चुनावमा माओवादी केन्द्रसमेतको समर्थनमा एमालेका खतिवडाले ३६ हजार ८९२ मतसहित जित निकाल्दा निकटतम प्रतिस्पर्धी केसीले २६ हजार ३३५ मत सुरक्षित गरेका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा नुवाकोट २ मा कांग्रेसको २९ हजार ८६१, एमालेको २६ हजार ३७७, माओवादी केन्द्रको १६ हजार ६७, राप्रपाको २ हजार २११ र नेकपा एसको ९६१ मत छ।

पर्वतमा एमालेका पदम गिरी र कांग्रेसका अर्जुन जोशी आगामी निर्वाचनमा पनि आमनेसामने भएका छन्। २०७४ मा पराजित जोशी यसपटक जित निकाल्न गाउँटोलमा घुमिरहेका छन् भने गिरी पनि जितलाई निरन्तरता दिने रणनीतिमा छन्। २०७४ को चुनावमा गिरीले  

३९ हजार २७५ मतसहित जित निकाल्दा निकटतम प्रतिस्पर्धी जोशी २६ हजार ८१९ मतमा समेटिएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा पर्वतमा एमालेको ३५ हजार ७१६, कांग्रेसको २९ हजार ३४४, माओवादी केन्द्रको ५ हजार ३६१, नेकपा एसको ५ सय ४६, राप्रपा ४ सय ९३ मत छ।

स्याङ्जा १ मा नारायण मरासैनी र राजु थापा, कपिलवस्तु २ मा वृजेशकुमार गुप्ता र सुरेन्द्र आचार्य, कञ्चनपुर २ मा नरबहादुर धामी र एनपी साउद, धनुषा २ मा रामचन्द्र झा, रामकृष्ण यादव र उमाशंकर अरगरिया पनि पुनः चुनावी प्रतिस्पर्धामा छन्। २०७४ को चुनावमा स्याङ्जा १ बाट एमालेका मरासैनी ३९ हजार २२६ मतसहित विजयी हुँदा कांग्रेसका थापाले २८ हजार ६६२ मत पाएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा स्याङजा १ मा कांग्रेसको ३७ हजार ५१०, एमालेको ३६ हजार ८४५, माओवादी केन्द्रको १ हजार ९८४, राप्रपाको १ हजार २ मत छ।

अघिल्लो निर्वाचनमा कपिलवस्तु २ मा एमालेका गुप्ताले ३५ हजार १४७ मतसहित जित निकाल्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका आचार्य ३१ हजार ५६६ मतमा सीमित भएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा कपिलवस्तु २ मा कांग्रेसको ३० हजार ९९८, एमालेको २७ हजार २९८, जसपाको ६ हजार ९०८, लोसपाको ६ हजार ३८६, माओवादी केन्द्रको ४ हजार ४५९, राप्रपाको २ हजार ३५, नेकपा एसको ६ सय ९१ मत रहेको निर्वाचन आयोगको अभिलेखमा छ।  

अघिल्लोपटक कञ्चनपुर २ मा कांग्रेसका साउदलाई पछि पार्दै धामीले जित निकालेका थिए। धामीले ३३ हजार २२० र साउदले २४ हजार ८९३ मत पाएका थिए। निर्वाचन आयोगको तथ्यांकअनुसार गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा कञ्चनपुर २ मा कांग्रेसको २२ हजार ३७९, एमालेको १८ हजार ८२८, माओवादी केन्द्रको १२ हजार ५७२, नेकपा एसको ४ हजार १६१, राप्रपाको ३ हजार ९५३ मत छ।

प्रकाशित: ६ कार्तिक २०७९ ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App