७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

गोरखामा गठबन्धन दलभित्रै बागी उम्मेदवार धेरै

गोरखामा सत्ता गठबन्धन भित्रै बागी उम्मेदवार धेरै देखिएका छन्। नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेपाल समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रतिनिधिसभा भन्दा प्रदेशसभामा बागी उम्मेदवार धेरै देखिएका छन्। नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवं आरुघाट गाउँपालिकाका पूर्व अध्यक्ष पूर्ण दाहालले क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’उम्मेदवारी दर्ता गराएका छन्। उक्त प्रदेशमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले टिकट पाएका हुन्। दुबै आरुघाट गाउँपालिकाका हुन्।

सोहि प्रदेश क्षेत्रका लागि सत्ता गठबन्धन भित्रै रहेको नेकपा एसका जिल्ला उपाध्यक्ष एवं गण्डकी प्रदेश सदस्य टेकराज भट्टले पनि उम्मेदवारी दर्ता गराएका छन्। माओवादी केन्द्रका आरुघाट गाउँपालिका सचिव राजकुमार ढकालले पनि गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्। जनता समाजवादी पार्टीका पूर्व जिल्ला उपाध्यक्ष एवं नेपाल समाजवादी पार्टीका नेता ढाकबहादुर पराजुलीले पनि गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्।  

क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्ण धिताल उम्मेदवार छन्। नेपाली कांग्रेसका रामशरण आचार्यले उनी विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। नेता र दलको स्वेच्छाचारी शासनको अन्त्य, नीति र विधिसम्मत शासनका लागि भन्दै उनले उम्मेदवारी दिएको बताए।  

गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका क्रियाशिल सदस्य बिष्णु पुडासैनीले गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई विरुद्ध उम्मेदवारी दिएका छन्।  

गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा माओवादी केन्द्रका अध्यक्ष विरुद्ध नेपाली कांग्रेसकी डाक्टर माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। उनी काठमाडौंबाट उठ्ने चर्चा थियो। त्यहाँ टिकट नपाएपछि माओवादी केन्द्रका अध्यक्ष उठ्ने ठाउँबाट उनले गठबन्धनको बिपक्षमा उम्मेदवारी दिएकी हुन्।  

गोरखा क्षेत्र नम्बर २ को ‘क’मा सत्ता गठबन्धनको तर्फबाट नेपाल समाजवादी पार्टीका नेता फडिन्द्र देवकोटा उम्मेदवार छन्। उनका विरुद्ध गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका सोही पार्टीका हरिशरण आचार्यले उम्मेदवारी दिएका छन्। आचार्यले २०७४ को निर्वाचनमा नयाँशक्ति पार्टीबाट उक्त प्रदेश क्षेत्र जितेका थिए।  

सोही क्षेत्रमा सत्ता गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादीका गोरखा जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य जुद्धबिलास भण्डारीले उम्मेदवारी दिएका छन्।  

एकिकृत समाजवादी गठबन्धनमा रहेको तर गोरखामा दुईवटा प्रदेश क्षेत्रका लागि केन्द्रबाट टिकट प्राप्त भएकाले उम्मेदवारी दिएको जिल्ला अध्यक्ष यादब बस्नेतले बताए। ‘हामीलाई केन्द्रिय अध्यक्ष माधव नेपालले हस्ताक्षर गरेको टिकट आएको छ, यहाँ कुनैपनि क्षेत्र हामीलाई परेन’उनले भने ‘केन्द्रिय अध्यक्षले फिर्ता लिनु भन्नुभयो भने फिर्ता हुन्छ नभए कायम रहन्छ।’

नेपाली कांग्रेस गोरखाले बागी उम्मेदवारलाई फिर्ता गराउने तयारी गरिरहेको जिल्ला सचिव किशोरजंग थापाले बताए। ‘पार्टीलाई जानकारीमा आएका बागी उम्मेदवारलाई हामीले सम्पर्क गरेर फिर्ता लिन भनेका छौँ’ सचिव थापाले भने ‘फिर्ता लिने समय अवधी सम्म फिर्ता भएन भने कारवाही प्रक्रिया अघि बढ्छ।’  

प्रकाशित: २५ आश्विन २०७९ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App