६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनाब नभएसम्म यही सरकार : अाेली

काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा अोलीले अर्को निर्वाचनबाट नयाँ सरकार निर्माण नभएसम्मका लागि यो सरकार रहने बताएका छन्। 'यो सरकार अस्थायी नै हो', विपक्षीतर्फ लक्ष्यित गर्दै उनले संसदमा भने, 'निर्वाचन गराएर अर्को सरकार परिवर्तन हुन्छ। त्यतिन्जेललाई सरकार अस्थायी हो।'

संविधान निर्माणको बेलामा दलहरूबीच देखिएको एकता एकपटक फेरी संविधान कार्यान्वयनमा देखाउन जरूरी भएको उनले बताए।

शुक्रबार व्यवस्थापिका संसदमा नीति कार्यक्रमबारे छलफलकाक्रममा सांसदहरूले उठाएका सवालको जवाफ दिने क्रममा प्रधानमन्त्री अोलीले दलहरूबीचको सहकार्य र एकता संविधान कार्यान्वयनका लागि खाँचो रहेको बताए।

'संविधान कार्यान्वयनका लागि यतिबेला राष्ट्रिय एकताको खाँचो छ, जसरी संविधान जारी गर्दा सहमतिको खाँचो थियो।' प्रधानमन्त्री अोलीले सम्बोधनमा भने। उनले असन्तुष्ट दलहरूलाई दोहोर्याएर आग्रह गरे–‘संवाद र सहमतिमै अगाडि बढाैं।’

स्थानीय तहको पुनसंरचनाका लागि केही समय अझै लाग्ने बताउँदै प्रधानमन्त्रीले तत्काल स्थानीय निकायको चुनावको विकल्प नरहेको बताए।

प्रधानमन्त्री अोलीले काठमाडाैं निजगढ द्रुत मार्ग निर्माण नेपाल सरकरले नै गर्ने दोहोर्याए। 'द्रुतमार्ग निर्माणमा हामी सक्षम छाैं। नेपाल सरकारले नै द्रुत मार्ग निर्माण गर्ने छ, यसमा शंका छैन।' प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा सबैको सकारात्मक सहयोग र सद्भाव हुने विश्वाँस व्यक्त गरे।

अदालतलाई राजनीतिककरण गरियो भन्ने अारोप निराधार भएको बरू सरकार अदालतलाई राजनीतिक हस्तक्षेपमुक्त गर्न सचेत रहेको प्रधानमन्त्रीको तर्क थियो।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा प्रस्तावित १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्न संभव रहेको बताए।

प्रकाशित: ३१ वैशाख २०७३ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App