२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जसपा गठबन्धनबाट बाहिरिने संकेत

सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ। शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो। बैठकले निर्वाचनमा सिट तालमेलका सम्बन्धमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै गठबन्धनको विकल्पमा अन्य दलसँग तालमेल गर्ने, त्यो पनि सम्भव नभए एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

‘हाम्रो पार्टीको समेत सहभागिता रहेको पाँच दलीय गठबन्धनमा मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट तालमेलका सम्बन्धमा भइरहेको छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पका रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा तालमेल गर्न सकिनेछ,’ कार्यकारिणी समितिको बैठकपछि जसपाका प्रवक्ता मनीष सुमनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘त्यो पनि हुन नसकेको अवस्थामा जसपा एक्लै निर्वाचनमा भाग लिने निर्णय गर्छ।’

कार्यकारिणी समितिको यस निर्णयले सिट तालमेलका लागि अब एमालेलगायत अन्य दलसँग कुराकानी गर्न जसपालाई बाटो खुला गरेको छ। जसपाका नेताहरूले अब एमालेसँग कुराकानी हुन सक्ने बताएका छन्। ‘अब हामी सबै दलसँग कुराकानी गर्छौं। सबै दलमा एमाले पनि पर्छ,’ जसपा कार्यकारिणी समिति सदस्य विजय यादवले भने, ‘यसको मतलब हामी एक्लै पनि चुनाव लड्न सक्षम छौं। गठबन्धनबाहेक अन्य दलहरूसँग तालमेल गर्न तयार छौं।’

जसपा कार्यकारिणी समितिका अर्का सदस्य एवं कृषिमन्त्री मृगेन्द्रसिंह यादवले कार्यकारिणी समितिको निर्णय सत्ता गठबन्धनका लागि अल्टिमेटम भएको बताए। उनले जसपाले माग गरेअनुसार सिट गठबन्धनका अन्य सहयात्रीले दिएनन् भने पार्टी एक्लै चुनावमा जाने बताए। ‘यो एक किसिमको चेतावनी पनि हो। मधेसमा हामीलाई कम्तीमा १५ सिट चाहिएको छ। गठबन्धनका अन्य दल मधेसमा जसपालाई १५ सिट दिन तयार नभए हामी एक्लै चुनाव लड्छौं,’ उनले भने।

पछिल्लो समय जसपा गठबन्धनका अन्य दलसँग असन्तुष्ट छ। जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन्। शुक्रबार मधेसमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले गठबन्धनबिना पनि जसपा एक्लै चुनाव लड्न तयार भएको धारणा राखेका थिए।

यसैगरी बिहीबार धनुषामा गरिएको कार्यक्रममा पनि उनले भनेका थिए, ‘सिट बाँडफाँटमा मधेसी, जनजातिको सम्माजनक सम्बोधन भएन भने हामी एक्लै चुनाव लड्न सक्षम छौं।’ जसपाका अन्य नेताहरूले पनि गठबन्धनले सम्मानजनक सिट नदिए मधेसमा एक्लै चुनाव लड्ने चेतावनी दिइरहेका छन्।

स्रोतका अनुसार मधेस प्रदेशका ३२ सिटमध्ये कम्तीमा १५ जसपाका लागि छुट्टयाउनुपर्ने अडानमा सो दलका नेताहरू छन्। गठबन्धनमा रहेका अन्य दलका नेताहरू भने मधेस प्रदेशमा जसपालाई १५ सिट दिन तयार छैनन्। स्रोतको भनाइ छ, ‘बढीमा १२ सिट जसपालाई दिने गठबन्धनको तयारी छ।’ यसमा जसपाले कडा असन्तुष्टि पोखेको छ।

जसपा कार्यकारिणी समितिको शनिबारको बैठकमा बोलेका अधिकांश सदस्यले गठबन्धनले सम्मानजनक सिट नदिए त्यहाँबाट बाहिरिनुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिएका छन्। स्रोतका अनुसार बैठकमा कार्यकारिणी समितिका एक सदस्यले भने, ‘हामीले एक्लै चुनाव लड्दा मधेस प्रदेशमा १५/१६ सिट जित्छौं। यस्तो अवस्थामा हामीलाई गठबन्धन किन चाहियो? कांग्रेस र माओवादीलाई जिताउन हामी किन गठबन्धनमा बस्नुपर्‍यो?’ जसपाले मधेसबाहेक अन्य प्रदेशमा कम्तीमा तीन सिट मागेको छ। ‘यसमा पनि गठबन्धनका अन्य दल सकारात्मक छैनन्,’ स्रोतले भन्यो।

पछिल्लो समय मधेसवादी अर्को दल लोसपाका केन्द्रीय नेताहरू एकएक गरी नेकपा एमालेमा प्रवेश गरिरहेका छन्। केन्द्रीय नेताहरू एमालेमा प्रवेश गरे पनि तल्लो तहका कार्यकर्ता जसपामा आइरहेको सो दलका नेताहरूको दाबी छ। यसैकारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीको अवस्था पहिलेको भन्दा झन् बलियो हुने जसपा नेताहरूको विश्लेषण छ। जसपाका एक नेताले भने, ‘त्यसैले हामीलाई कम्तीमा १५ सिट मधेस प्रदेशमै चाहिएको छ। त्योभन्दा तल झर्ने अवस्था नै छैन तर गठबन्धन दलका अन्य नेताहरूले मधेसमा हाम्रो शक्तिलाई बेवास्ता गरिरहेका छन्।’

प्रकाशित: १६ आश्विन २०७९ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App