४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी नेतृ मोक्तानको नाम संघ र प्रदेशबाट सिफारिस

माओवादी नेतृ एवम् बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरका राजनीति दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन्।

उम्मेदवारका आकांक्षीहरु दावेदारी प्रस्तुत गर्दै टिकटको दौडमा समेत लागिरहेका छन्। यस्तैमा नेकपा माओवादी केन्द्र मकवानपुरले नेतृ कुमारी मोक्तानको नाम प्रतिनिधसभा सदस्य र प्रदेशसभा सदस्य दुवैतर्फ सिफारिस गरेको छ।

उनको नाम मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा र २ को ‘क’ बाट प्रदेशसभा सदस्य पदका लागि सिफारिस गरेको हो। माओवादी केन्द्रीय नेतृ एवम् बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री मोक्तान यसअघि मकवानपुरको क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित भएकी थिइन्।

माओवादीबाट मकवानपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि १४ जनाको नाम माथिल्लो कमिटीमा सिफारिस भएको छ। माओवादीको कार्यालय टिमको विस्तारित बैठकले सम्भावित उम्मेद्वारहरुको नाम सिफारिस गर्दा मोक्तानको नाम दुवैतर्फबाट सिफारिस गरेको हो।

जिल्ला इञ्चार्ज मोक्तानकै अध्यक्षतामा बसेको बैठकले संघतर्फ ४ जना र प्रदेशतर्फ १० जनाको नाम सिफारिस गरेको हो। प्रतिनिधिसभा सदस्यतर्फ मकवानपुरको क्षेत्र नम्बर १ बाट जीवन गोले र प्रल्हाद लामिछानेको नाम सिफारिस गरेको छ।

यस्तै क्षेत्र नम्बर २ का लागि कुमारी मोक्तान र रामनारायण बिडारीको नाम सिफारिस गरेको छ। प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ को ‘क’ मा प्रेमबहादुर पुलामी छिन्तु, विजय गौतम र भीम पाख्रिनको नाम सिफारिस हुँदा १ कै ‘ख’ मा तीर्थबहादुर थापा र ज्ञानेन्द्र लामिछानेको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर २ को ‘क’ मा कुमारी मोक्तान, प्रकाशचन्द्र पाण्डे र लवशेर विष्टको नाम सिफारिस भएको छ भने २ को ‘ख’ बाट ओमबहादुर घलान र रामप्रसाद कालाखेतीको नाम सिफारिस भएको नेकपा माओवादी केन्द्र मकवानपुरले जानकारी दिएको छ। सत्तारुढ दलको बीचमा तालमेल हुँदा माओवादीले कुन क्षेत्र प्राप्त गर्ने भन्ने अन्यौल रहेको छ।

प्रकाशित: २१ भाद्र २०७९ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App