९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

महिलालाई निःशुल्क सार्वजनिक यातायात, विवाहमा ५१ हजार सहयोग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सबै महिलालाई सार्वजनिक यातायतमा निःशुल्क यात्रा गर्न पाइने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ। साथै, स्नातकसम्म अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई बिहेमा ५१ हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

यसबाट कम उमेरमा गरिने बिहे निरुत्साहित हुने लोसपाको बुझाइ छ। शुक्रबार पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा गरिएको कार्यक्रममा लोसपाका शीर्ष नेताहरूले पार्टीको घोषणापत्र सार्वजनिक गर्दै महिलालाई उच्च शिक्षासम्मको अध्ययन निःशुल्क गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैगरी हरेक विद्यालयमा अनिवार्य रूपमा छात्रावासको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ। ‘हरेक पालिकामा प्याथोलोजी, प्रसूतिगृह, मुटु सेवा, आपतकालीन सेवासहितको कम्तीमा २५ शड्ढयाको उच्च गुणस्तरीय अस्पताल स्थापना गरिनेछ।

भएका अस्पतालालाई आधुनिक बनाइनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘बालबालिकालाई घरमै गएर नियमित खोपको व्यवस्था गरिनेछ। ज्येष्ठ नागरिकलाई घरमै गएर महिनामा कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गरिनेछ।’ हरेक वडामा सामान्य उपचारका साथै प्रसूति, सर्पदंश र हृदयाघातबाट जोगाउन सकिने सुविधासहितको स्वास्थ्य उपचार केन्द्र स्थापना गरिने प्रतिबद्धता घोषणापत्रमा समेटिएका छन्।

‘हरेक पालिका कार्यालयलाई सबै वडासँग दुई लेनको कालोपत्रे सडकले जोडिनेछ। हरेक वडा कार्यालयलाई गाउँ वा टोलसँग हरेक मौसममा प्रयोग गर्न सक्ने पक्की सडकसँग जोड्दै सबै पालिकालाई यातायातको दृष्टिकोणले सुगम बनाइनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘पालिका स्तरमा सभागृह, सम्मेलन स्थल र बसपार्कजस्ता अति आवश्यक भौतिक संरचना निर्माण गरिनेछ। र, तिनको उचित प्रयोग र व्यवस्थापनमा जोड दिइनेछ।’

सार्वजनिक स्थलमा विद्युतीय, डिजिटल सेवा, सार्वजनिक इन्टरनेट, एटिएम, फोन पे आदिको सुविधाका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ। यसैगरी हरेक वडामा बैंकको शाखा राखिने प्रतिबद्धता गरिएको छ। सबै नागरिकको बचत खाता र डिम्याट खाता खोली पुँजी बजारसँग जोड्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ।

घोषणापत्रमा भनिएको छ, ‘बाटाका पशुचौपायको उचित तथा मानवीय तवरले व्यवस्थापन गरिनेछ। साथै पशुकल्याण बोर्डको स्थापना गरिनेछ।’ प्रदेशको पहिलो वन्यजन्तु पुनःस्थापना केन्द्रको निर्माण गरी प्रदेशभित्रबाट प्राविधिक विज्ञलाई अवसर सिर्जना गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ। यसैगरी अनुशासित, सुशासित तथा भ्रष्टाचारमुक्त स्थानीय सरकार निर्माण गर्ने प्रतिबद्धता लोसपाले गरेको छ।

प्रमुख पार्टीहरूको खरो आलोचना

लोसपाका घोणापत्रमा नेपाली कांग्रेस, लोसपा र जनता समाजवादी पार्टी (जसपा) लगायत प्रमुख राजनीतिक दलहरूको खरो आलोचना गरिएको छ। नेपालमा कम्युनिस्टहरूको संख्या बढ्नुमा नेपाली कांग्रेसको अकर्मण्य हुनु रहेको आरोप घोणापत्रमा लगाइएको छ।

‘केही सीमित ३/४ देशलाई छाडेर संसारबाट लगभग बिदा भइसकेको कम्युनिस्ट नेपालको संसद्मा झन्डै दुई तिहाइ पुगेको अवस्थाका पछाडि कम्युनिस्टहरूको सामर्थ्यले भन्दा पनि नेपाली कांग्रेसको अकर्मण्यताले बढी काम गरेको छ,’ घोषणा -पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको अर्को ठुलो असफलता लोकतान्त्रिक समाजवादको उत्कृष्ट विचार औपचारिक रूपमै ग्रहण गरे पनि त्यसको सफल कार्यान्वयनमानराम्रोसँग चुक्नु हो।’

नेपालको राजनीतिमा संख्यात्मक उपस्थिति देखाए पनि कम्युनिस्ट पार्टीहरूले आफ्नो औचित्य साबित गर्न नसकेको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीहरू राष्ट्रिय विकासमा तगारो बनाउने सबैभन्दा अग्रणी संगठनहरू हुन्।’ लोसपाले जसपाको पनि कठोर आलोचना गरेको छ। जसपाले मधेसी, थारू, जनजाति र अल्पसंख्यकको मुद्दा त्यागेको मात्र नभई समग्रमा मधेस थरुहट आन्दोलनलाई अवमूल्यन गरेको आरोप लोसपाले लगाएको छ।

प्रकाशित: १७ वैशाख २०७९ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App