७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

'उम्मेदवारका व्यक्तिले चोरे क्षेत्रीय सभापतिबाट वडाध्यक्षहरुको टिकट'

कांग्रेस बारा सभापति तथा कलैया उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार राजेश राय यादवका नजिक मानिने नाजिर अन्सारीले क्षेत्रीय सभापतिबाट वडाध्यक्षहरुको टिकट चोरेर भागेको घटना सार्वजनिक भएको छ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ का क्षत्रीय सभापति प्रभात चौरसियाले जनकपुरबाट ल्याउँदै गरेको वडा अध्यक्ष र सदस्यहरुको टिकट महोत्तरीको बर्दिवासबाट पार्टी सभापति तथा कलैया उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार राजेश राय यादवका मानिसले चोरी गरेर भागेको आरोप लगाएका छन्।

‘नेपाली कांग्रेसका मधेश प्रदेशले वितरण गर्न दिएको टिकटलाई नेपाली कांग्रेस बाराका सभापति तथा कलैया उपमहानगरपालिकाका नगर प्रमुख उम्मेदवार राजेश राय यादवसँग टिकट वितरणको विषयमा बर्दिवासको एक होटलमा छलफल चलिरहेको थियो,’ क्षेत्रीय सभापति चौरसियाले भने, ‘छलफलमै नाजिर लगाएतका व्यक्तिहरु प्रवेश गरेर हो हल्ला गर्न थाले र त्यस पछि टिकट राखिएको झोला चोरी गरेर भाग्न सफल भए।’

कलैया उपमहानगरपालिकाका २७ वटा वडाध्यक्षसहित सदस्यहरु र फेटा गाउँपालिकाका ३ वटा वडाध्यक्षसहित सदस्यहरुको टिकट रहेको झोला नै नाजिगले चोरी गरेर बर्दिवासबाट भागेको चोरसियाले बताएका छन्। बिहान ९ः३० बजेको समयमा चोरी गरिएको टिकटमा मैले हस्ताक्षर नगरेको र चोरी गरिएको टिकट फिर्ता गर्नको लागि बार्गेनिङ्ग सुरु गरिएको क्षेत्रीय सभापति चौरसियाले बताए।

कलैया उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवारका मानिसले टिकट चोरेर लगेको सुनेपछि कलैया उपमहानगरपालिकाका कांग्रेसीहरु सभापति तथा प्रमुख पदका उम्मेदवार प्रति रुष्ट बनेको नेपाली कांग्रेस कलैया उपमहानगरपालिकाका नगर सचिव मुकेश यादवले बताएका छन्। सत्ता साझेदार पाँच दलमा भाग बण्डा हुँदा कलैयामा कांग्रेसले प्रमुख र जसपाले उप प्रमुख पद पाएको छन्।

प्रकाशित: १२ वैशाख २०७९ १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App