१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरा मेयर नपाएकाे विरोधमा कांग्रेस पार्टी कार्यालयमा ताला

जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गर्दै नेपाली कांग्रेसका कार्यकर्ता।

पोखरा महानगरपालिकाको मेयर पद नेकपा (एकीकृत समाजवादी)लाई दिएपछि नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। 

सत्तारुढ गठबन्धनको मंगलबार बसेको बैठकले पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो। सोहि निर्णयको विरोधमा नेपाली कांग्रेसका असन्तुष्ट समूहले पोखराको चिप्लेढुंगामा रहेको जिल्ला पार्टी कार्यालयमा बुधबार तालाबन्दी गरेका हुन्।

पोखराको मेयर पद एकीकृत समाजवादीलाई दिएकोमा कास्की कांग्रेस असन्तुष्ट छ। नेपाली कांग्रेस पोखरा महानगर कमिटिका सचिव द्वय टुबराज बास्तोला र गणेशबहादुर थापाले विज्ञप्ती जारी गर्दै तालाबन्दी गर्ने जनाएका थिए। लगत्तै उनीहरुकै अगुवाईमा गएको टोलीले तालाबन्दी गरेका थिए। जिल्ला समितिसँग सोधेर पोखराको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरेकोमा उनीहरुको असन्तुष्टि छ। महानगर समिति हुँदाहुँदै जिल्ला समितिलाई सोधेर मेयर पद अर्कै पार्टीलाई दिदा महानगर कमिटीको आत्मसम्मानमा चोट पुगेको उनीहरुको भनाई छ।

प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, हामी पनि विधानअनुसार निर्वाचित भएका हौं। यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ।’

सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगर समितिको नेतृत्वमा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको सचिव थापाले बताए। आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवम् गण्डकी प्रदेश कार्य समिति लाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ। उनीहरुले निर्णय पुनरावलोकन नभएसम्म पार्टी कार्यालयमा लगाइएको तालाबन्दी नखोलिने जनाएका छन्। मागमा पुनरोवलोकन नभए सामुहिक राजिनामा दिनेसमेत उनीहरुले चेतावनी दिएका छन्।

प्रकाशित: ७ वैशाख २०७९ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App