६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन: ताप्लेजुङमा गठबन्धनलाई भागबण्डा मिलाउनै सकस

स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा सत्तारुढ गठबन्धनलाई पदीय भागबण्डा मिलाउन सकस परेको छ। राष्ट्रिय जनमोर्चाको राजनीतिक उपस्थिति नभएको ताप्लेजुङमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीबीच स्थानीय तहमा भागबाण्डा मिलाउन कठिन देखिएको हो।गठबन्धनमा भए पनि जसपाले सम्मानजनक साझेदारी नपाए एक्लै चुनाव लड्ने बताइसकेको छ। 

यो अवस्थामा ताप्लेजुङमा सत्तारुढ गठबन्धन भित्र काँग्रेस,माओवादी र नेकपा एसबीच स्थानीय तहमा पदीय भागबण्डा मिलाउन चलिरहेको छलफल निश्कर्षमा पुग्न नसकिरहेको छलफलमा सहभागी नेताहरुले बताएका छन्। तर जसपासंगको चुनावी कार्यगत एकताको ‘च्याप्टर क्लोज’भने भइ नसकेको स्रोतको दावी छ। स्रोतका अनुसार यहाँ रहेका एक नगरपालिका सहित नौ स्थानीय तहमध्ये काँग्रेसले छ र माओवादी केन्द्रले तीन प्रमुख पद पाउने गरी त्यसकै पेरीफेरीमा छलफल चलिरहेको छ। 

गठबन्धन दलमध्ये काँग्रेस र माओवादीले नेकपा एसलाइ एक उपाध्यक्ष पद लिएर अन्य वडाहरुमा नेतृत्व गर्न प्रस्ताव गरेका छन्। नेकपा एसले त्यो प्रस्ताव उपयुक्त नभएको प्रतिक्रिया दिएको बताइएपनि यसका बारेमा छलफलमा सहभागी नेताहरुले केही बताएका छैनन्। पाथीभरा याङ्वरक गाउँपालिका,मैवाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाको नेतृत्व माओवादीलाइ दिएर फुङ्लिङ नगरपालिकासहित अन्यको नेतृत्व काँग्रेसले गर्ने प्रस्ताव गठबन्धन दलबीच सुरु भएको चर्चा छ। 

माओवादी केन्द्रलाई प्रमुख पद दिने भनि प्रस्ताव तयार भएका तीनवटै स्थानीय तहमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुबैपद जितेको थियो। तर नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ले भने छलफल जारी रहेपनि भागबण्डाको बिषय निश्कर्षमा नपुगेको बताए।‘छलफलमै छौं, तर निश्कर्षमा पुग्न सकेका छैनौं’ परागले भने। २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादीबीच चुनावी एकता भएको फुङ्लिङ नगरपालिकामा काँग्रेसलाई प्रमुख र माओवादी केन्द्रलाई उपप्रमुख दिनेगरी गठबन्धन दलहरुबीच छलफल चलिरहेको स्रोतले बताएको छ।

प्रकाशित: ५ वैशाख २०७९ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App