६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

दोस्रो तहका नेताबीच पनि मिलेन कुराः कांग्रेसको प्रस्तावमा एमालेको पुरानै अडान

सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेताबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ। शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा नेपाली कांग्रेसका दोस्रो तहका नेताहरु र एमालेका नेताहरुले आफ्नै अडान कायम राखेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो।

छलफलमा कांग्रेसका तर्फबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतालाई संसद्बाट अनुमोदन गराउन सहयोगका लागि आग्रह गरिएको थियो। एमाले नेताहरूले भने पुरानै अडान दोहोर्‍याएको वार्तामा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

'हामीले प्रतिनिधिसभालाई सुचारु गरौं। एमसीसीलाई सहमतिका साथ अघि लगेर मुलुक महत्वपूर्ण विषयमा एकै स्थानमा उभिएर विश्वलाई सन्देश दिऔं भनेर भन्यौं,' कार्कीले भने, 'उहाँहरु (एमाले)ले पुरानै कुरा दोहोर्‍याउनु भयो।'

कार्कीकाअनुसार एमालेले बैठकमा प्रतिनिधिसभा आफ्नो पार्टीका लागि नखुलेको भन्दै त्यसलाई खुलाउन आग्रह गरेको बताए। 'हामीले संसद्‌लाई प्रभावकारी र जिवन्त बनाउने जिम्मेवारी तपाईंहरुको पनि जिम्मेवारी हो,' कार्कीले भने।

आफ्नो सिफारिसअनुसार १४ जना सांसदलाई कारबाही नगरी प्रतिनिधिसभा बैठकमा भाग लिन दिएको भन्दै एमालेले ६ महिनादेखि संसद्‌ अवरुद्ध गर्दै आएको छ।

आजको छलफलमा कांग्रेसका तर्फबाट मन्त्री कार्कीसँगै उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी थिए। एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए।

प्रकाशित: १४ फाल्गुन २०७८ १५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App