५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धन भत्काउन खोज्दै एमाले

सत्तासहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँचदलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन्। खासगरी माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेका हुन्।

एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायमै रहने दाबी गर्दै आएका छन्। एक सातायता सत्तासहयात्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्कन सक्ने शंकालाई बल पुगेको छ।

आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने र त्यसमा कांग्रेस प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिए पनि उनको पार्टीभित्र यस विषयलाई लिएर चर्को असन्तुष्टि छ। साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयमा सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर पनि सत्तासहयात्रीबीच किचलो बढेको छ। माओवादी केन्द्रका जनवर्गीय संगठनका नेताहरूले सभामुख सापकोटाको भूमिकाको प्रशंसा गरिरहेका छन् भने गठबन्धनको प्रमुख घटक कांग्रेस र प्रधानमन्त्री देउवा असन्तुष्ट बनेका छन्।

एमसिसीबारे गठबन्धन दलहरूभित्रै अन्तर्विरोध भएका बेला एमालेले सरकार कसरी अघि बढ्छ, त्यहीअनुसार आफ्नो नीति स्पष्ट पार्ने बताउँदै आएको छ। यद्यपि एमसिसी संसद्बाट पास गर्ने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरेर अघि बढेमा प्रधानमन्त्रीलाई साथ दिने संकेत एमालेले गरेको स्रोतको दाबी छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने सत्तारुढ दलभित्रै बहुमत रहेकाले एमालेको भूमिका आवश्यक नपर्ने बताए। ‘गठबन्धन दलभित्रै अन्तर्विरोधी कुरा आएका छन्। विगतमा सभामुखको भूमिका ठीक भएन, त्यो जगजाहेर छ। अहिले पनि सभामुखले अवरोध गरे उहाँहरू (सत्तापक्षधर) के गर्नुहुन्छ ? प्रस्ताव सामान्य बहुमतबाटै पास हुन्छ, सामान्य बहुमत सरकारसँगै छ,’ ज्ञवालीले भने।

सरकारले आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरेसँगै अहिलेको पाँचदलीय गठबन्धन कायम राख्ने प्रधानमन्त्रीको आश्वासन छ। आउँदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई गठबन्धनको आवश्यकता छ। एमाले भने यी दुवै पार्टीलाई कांग्रेसको साथबाट अलग गरेर तीन तहको निर्वाचनमा सहभागी हुन चाहन्छ। एमालेका नेताहरूले बारम्बार गठबन्धन नटिक्ने बताउँदै आएका छन्।

यही बीचमा संसद्मा एमसिसी पेस गर्ने विषयमा गठबन्धनभित्र मतभेद बढेको छ। माओवादीका तर्फबाट सभामुख बनेका सापकोटा संसद् स्थगित गरेर गृह जिल्ला सिन्धुपाल्चोक पुगेका छन्। सरकारको कामलाई असहयोग गरेको भन्दै सभामुखसँग प्रधानमन्त्री र उनको पार्टी कांग्रेस असन्तुष्ट रहेका बेला एमालेले पनि सभामुखको भूमिकालाई लिएर लामो समयदेखि संसद् चल्न दिएको छैन। ‘एमालेको भूमिका र सभामुखको व्यवहारले गठबन्धनको प्रमुख घटक कांग्रेसलाई अविश्वास उत्पन्न गराएको छ। यो शुभसंकेत होइन,’ नेकपा एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यले भने।  

एमालेले आफूहरूलाई अस्वीकार गर्नु र सभामुखले गठबन्धनभित्र अविश्वास खडा गरिदिएकै कारण कांग्रेसले लाभ लिन सक्ने ती नेताको भनाइ छ। ‘गठबन्धन पनि चाहिएको छ तर सभामुखको भूमिकालाई लिएर कांग्रेसले प्रश्न उठाइरहेको छ,’ उनले भने।

बालुवाटारमा मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव यही जेठ ४ मा गर्ने भन्दै तयारी थाल्न आग्रह गसिकेका छन्। निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ उपदफा (१) बमोजिम जेठ ४ गते निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई सुझाव दिएको थियो।

प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तह निर्वाचनको मिति तोक्ने र एकै चरणमा सम्पन्न गर्ने बताइसकेका छन्। यो अवस्थामा गठबन्धन तोडिने हो कि भन्ने चिन्तामा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी अब देउवाले जे भन्यो त्यही मान्ने अवस्थामा पुग्छन् भन्ने अपेक्षा कांग्रेसले गरेका कारण एमसिसी संसद्मा ल्याउन एमालेले उक्साइरहेको आरोप पनि ती नेताको छ।  माओवादी केन्द्रका एक नेताका अनुसार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बालकोट पुगेर एमाले अध्यक्षलाई भेटेका छन्।

उनका अनुसार ओलीकै उक्साहटमा लागेर प्रधानमन्त्रीले गठबन्धनको सहमतिबिना नै एमसिसी संसद्मा पेस गर्न लागेका हुन्। ‘सरकारका प्रवक्ता केही दिनअघि बालकोट पुगेको सूचना छ, उहाँ बालकोट पुगेपछि प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन गर्ने र एमसिसी संसद्मा पेस गर्ने प्रस्ताव ल्याउनुभयो,’ ती माओवादी नेताले भने। सरकारका प्रवक्ता कार्की बालकोट गएनगएको बारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने बताए। ‘यो गठबन्धनलाई एमालेले टुटाउन खोजेको हो तर संघीय संसद्को निर्वाचनसम्म जान्छ,’ खतिवडाले भने। उनका अनुसार एकीकृत समाजवादीले एमसिसीबारे प्रस्ट धारणा राखिसकेको र यसकै कारण गठबन्धन टुट्ने सम्भावना छैन।

तर प्रधानमन्त्री देउवा भने जे गर्छ संसद्ले नै गर्छ भन्ने मुडमा पुगिसकेकाले माओवादी र एकीकृत समाजवादी अप्ठेरोमा परेका छन्। प्रधानमन्त्री देउवाले जसरी पनि संसद्मा एमसिसी पेस गर्ने नीति लिएपछि सभामुख सापकोटालाई १० दिनसम्म संसद् स्थगित गर्न लगाएको भन्दै कांग्रेसभित्र माओवादीको आलोचना भएको छ।

खतिवडाका अनुसार आगामी निर्वाचनसम्मका लागि गठबन्धन बनेकाले एमालेले जति नै बल गरे पनि टुट्ने सम्भावना छैन। उता जनता समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसिसी पास गर्नुपर्ने तर गठबन्धन टुट्न नहुने मत राखिरहेका छन्। जनता समाजवादी पार्टीभित्र पनि उपेन्द्र यादवलाई भन्दा भट्टराईलाई गठबन्धन आवश्यक रहेकाले उनीमात्रै एमसिसीको पक्षमा बोलिरहेका छन्। यादवले यो विषयमा कुनै धारणा सार्वजनिक गरेका छैनन्।

प्रकाशित: १९ माघ २०७८ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App