१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपालमा लगानी भित्र्याउन गैरआवासीय नेपाली संघलाई कांग्रेस नेता सिटौलाको आग्रह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानमा गैरआवासीय नेपालीका ९० प्रतिशत माग सम्बोधन भएको बताएका छन्। ’ केही कमजोरी होला, तपाईहरूको केही माग सम्बोधन नभएको होला’, सिटौलाले भने, ’त्यसमा क्रमिक रूपमा सम्बोधन हुँदै जान्छ।’

गैरआवासीय नेपाली संघकी उपाध्यक्ष एवं अध्यक्षकी उम्मेदवार रविना थापा सहितका अरू उम्मेदवार र सदस्यहरूसँग काठमाडौँमा भएको छलफलमा सिटौलाले बाहिर गएर उतैको नागरिकता लिए पनि माया नेपालकै हुने बताए। ’ उताको नागरिकता लिनु तपाईहरूको बाध्यता होला’, उनले भने, ’ यताको माया स्वाभाविक हो, नेचुरल हो।’

उनले बाहिर बसेर कमाएको पैसा नेपालमै ल्याउन सुझाव दिए। नेपालमा लगानी गर्ने पर्याप्त ढोका खोलिदिएको भन्दै सिटौलाले नेपालबाट विदेश गएर उतैको नागरिकता लिए पनि संविधानले राजनीतिक बाहेक सबै अधिकार दिएको बताए।’ त्यसकारण लगानीचाहिँ यतै ल्याउनुहोस्’, उनले भने, ’उता कमाउने यता ल्याउने।’  उनले विदेशमा बसेका नेपालीले स्वदेशमा लगानी गरे नेपालको भविष्य राम्रो हुने बताए।

एनआरएनएको विवाद आफै समाधान गर्नुहोस् 

कांग्रेस नेता सिटौलाले गैरआवासीय नेपाली संघको चुनावमा पार्टीबाट कोही आधिकारिक उम्मेदवार नभएको बताए। कुनै व्यक्तिको सद्भाव भए पनि त्यसलाई पार्टीको उम्मेदवार भन्न नमिल्ने उनले बताए। उनले एनआरएनए भित्रको विवाद आफै सुल्झाउन सुझाव पनि दिए। एनआरएनए छुट्टै संस्था भएको भन्दै सिटौलाले यसमा सकेसम्म राजनीतिक प्रभाव हुन हुँदैन भन्ने आफ्नो मान्यता रहेको सुनाए। उनले एनआरएनएको विवादमा पार्टीको हस्तक्षेपलाई निमन्त्रणा नगर्न सुझाव पनि दिए। उनले कांग्रेसको जनसम्पर्क समिति भए पनि गैरआवासीय नेपाली संघ कुनै पनि राजनीतिक दलको  संगठन नभएको बताए। संघमा सबै राजनीतिक आस्था विचार भएका व्यक्तिहरू हुनुहुन्छ’,सिटौलाले भने,’ यो कुनै दलको शुभेच्छुक र भातृ संस्था होइन।’

कांग्रेसको समर्थन छैन, व्यक्तिको हुन सक्छ

नेता सिटौलाले गैरआवासीय नेपाली संघको आधिकारिक उम्मेदवार पार्टीले नतोक्ने बताए। आफ्नो संस्थाभित्रको उम्मेदवार तोक्ने विषय आफू मिलाउन सुझाव दिँदै सिटौलाले पार्टीले कसैलाई आधिकारिक उम्मेदवार नतोकेको बताए।  

उनले पार्टीका निर्वाचित सभापति, उपसभापति, वरिष्ठ नेतालाई भेटेर आफ्नो संस्थाभित्रको उम्मेदवार आफै तोक्छौ भन्न सुझाव दिए। ‘तपाईहरू हाम्रो शुभेच्छुक संस्था पनि होइन, भातृ संस्था पनि होइन’ सिटौलाले भने, ‘नेताहरूको आआफ्नै इन्ट्रेस्ट हुनसक्छ। त्यसलाई संस्थाभित्र प्रवेश गराउनु हुँदैन। संस्थालाई स्वतन्त्र राख्नुपर्छ।’ 

गैरआवासीय नेपाली संघकी वर्तमान उपाध्यक्ष रविना थापाले एनआरएनएलाई स्वतन्त्र संस्थाका रूपमा चल्न दिनुपर्ने बताइन्। अध्यक्षकी उम्मेदवार थापाले राजनीतिक हस्तक्षेप हुन नदिन आफूहरू लागिरहेको बताइन्।

प्रकाशित: ३ पुस २०७८ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App