१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

तालाबन्दीले बाँकेमा कांग्रेसको निर्वाचन अन्यौलमा

नेपाली कांग्रेस बाँकेको कार्यालयमा उपस्थित नेता, कार्यकर्ता। तस्बिर: नागरिक

बाँकेमा नेपाली कांग्रेसको निर्वाचन माहोल तात्तिरहेका बेला क्रियाशिल सदस्यता विवाद पुनः बल्झिएपछि अन्यौलता छाएको छ। नेपाली कांग्रेस बाँकेस्थित निर्वाचन समितिको सचिवालयमा असन्तुष्ट पक्षले बुधबार बेलुका तालाबन्दी गरेको थियो।

तालबन्दीका कारण निर्वाचन कार्यक्रम प्रभावित भएको छ, भने निर्वाचनमा होमिएका नेता, कार्यकर्तामा अन्यौलता छाएको छ। यही कात्तिक २७ गते सम्पन्न हुने वडा तहको निर्वाचनको सम्पुर्ण तयारीको प्रक्रियामा रहेका बेला तालाबन्दी भएपछि निर्वाचन कार्यक्रम प्रभावित भएको निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले बताए।

तालाबन्दीका कारण वडा तहको निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतदान अधिकृत एवम् सहायक मतदान अधिकृतहरुको अभिमुखिकरण कार्यक्रम स्थगित गरिएको उनले बताए। उक्त कार्यक्रम बिहीबार(आज)गर्ने तय गरिएको थियो। ताला नखुले निर्वाचन समय अझै पछाडी धकेलिन सक्ने भट्टराईको भनाइ छ। ‘ताला खोल्ने विषयमा पार्टीका जिम्मेवार नेतासँग छलफल थालेका छौं, समस्याको निकास निस्केमा निर्वाचन कार्यक्रम अगाडी बढाउँछौं, नत्र निर्वाचन गराउने स्थिती हुदैन,’ उनले नागरिकसँग भने।

फर्जी क्रियाशिल सदस्यता थप भएर आउन लागेको सूचना पाएपछि असन्तुष्ट ब्यक्तिहरुले ताला लगाएको जिल्ला सभापति किरण कोइरालाले बताएकी छन्। ‘निर्वाचन कार्यक्रम अगाडी बढिरहेका बेला २ सय ३९ जनाको क्रियाशिल सदस्यता थप भएर आउन लागेको सूचना साथीहरुलाई आएछ, त्यसैको झोकमा ताला लगाउनु भएको हो,’ उनले भनिन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा थप भएका भनिएका ती नामहरु आधिकारिक रुपमा भने आएका छैनन्। निर्वाचन अधिकृत भट्टराईले नयाँ थप भएका भनिएका नामबारे आफुलाई जानकारी नआएको प्रष्ट्याए।

यस्तै नेपाली कांग्रेस बाँकेका उपसभापति फुलाराम थारुले २ सय ३९ जनाको नामबारे आफु अनविज्ञ रहेको बताएका छन्। तत्कालिन फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच पार्टी एकिकरण पश्चात फोरम लोकतान्त्रिकबाट आएका थुप्रैलाई क्रियाशिल सदस्यबाट बञ्चित गरिएको उनले असन्तुष्टी पोखे।

‘नरैनापुर गाउँपालिकामा ६३ जना तत्कालिन फोरम लोकतान्त्रिकको तर्फबाट आएका साथीहरुको नाम छुटाइयो, खजुरा गाउँपालिकामा पनि महासमिति सदस्य हिरालाल लोनियासहित ३२ जनाको नाम काट्ने काम गर्नु भयो, अरु थुप्रै ठाउँमा सदस्यता काट्ने काम गर्नु भएको छ,’ थारुले भने ‘अहिले नाम नआउँदै हल्लाको भरमा ताला लगाउनु चाही उचित होइन्।’

चुनावी माहोल तात्तिएका बेला एक्कासी निर्वाचन समितिको सचिवालयमा तालाबन्दी भएपछि जिल्लाका आम नेता, कार्यकर्ता निराश बनेका छन। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा कात्तिक २७ गते वडा, कात्तिक ३० गते पालिका, मंसिर ३ गते प्रदेश सभा, ६ गते क्षेत्रीय र १० गते जिल्लाको निर्वाचन गर्ने तय भएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App