६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अलमलमा सिटौला

नेपाली कांग्रेसको १३औं महाधिवेशनपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा पार्टीभित्र छुट्टै समूह विकास भएको छ। अहिलेसम्म कांग्रेसभित्र तेस्रो धारका रुपमा परिचय बनाएको सिटौला समूह १४औं महाधिवेशनसम्म समूहकै रुपमा कायम रहनेमा आशंका उत्पन्न हुन थालेको छ। १३औं महाधिवेशनमा रामचन्द्र पौडेलको उम्मेदवारीलाई अस्वीकार गर्दै सभापतिको प्रत्यासी बनेका सिटौलाको १४औं महाधिवेशनमा कस्तो भूमिका हुन्छ भन्ने पनि स्पष्ट भइसकेको छैन। आफू निकट नेताहरू सभापति शेरबहादुर देउवा र इतर समूहमा विभाजित भएपछि सिटौला संकटमा परेका छन्।

संस्थापन इतर समूहसँग भन्दा संस्थापन पक्षसँग लचिलो देखिएका सिटौलालाई युवा केन्द्रीय सदस्यहरूले आगामी महाधिवेशनबाट देउवाको विकल्प खोज्न सुझाउँदै आएका छन्। सभापति देउवाले पार्टीका महŒवपूर्ण निर्णय लिनुअघि सिटौलालाई सोध्ने मात्र होइन, उनलाई जिम्मेवारी पनि दिने गरेका छन्। सिटौला संस्थापन इतरभन्दा संस्थापन पक्षसँगै लचिलो देखिएका छन्। तर, १३औं महाधिवेशनमा उनलाई साथ दिएका कतिपय नेताहरू १४औं महाधिवेशनमा आआफ्नो स्थान सुरक्षित गर्न सक्रियमात्र होइन, संस्थापन इतर समूहसँग निकटता बढाउँदै छन्। १३औं महाधिवेशनमा सिटौलाको उम्मेदवारीले देउवालाई पार्टी नेतृत्वमा पुग्न सहयोग पुगेको भन्दै निकटहरू संस्थापन इतर समूहका नेताहरूसँग निकटता बढाएर पार्टीका विभिन्न निकायमा आफ्नो स्थान सुरक्षित गर्न सक्रिय छन्।

सिटौला समूहबाट १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका गगनकुमार थापा अहिले देउवा विरोधी समूहमा सक्रिय छन्। थापा आफूमात्र होइन, सिटौलालाई समेत केन्द्रीय सदस्य शेखर कोइरालासँग जोड्न सक्रिय रहेको निकट बताउँछन्। शेखर नेतृत्वको समूहमा सिटौलालाई पनि जोडेर आफू फेरि पनि महामन्त्रीको उम्मेदवार हुन थापा लागिपरेको बताउँदै एक नेताले भने, ‘अहिलेसम्मको अवस्थामा सिटौलाले भने शेखरको नेतृत्व स्वीकार गर्नेजस्तो देखिँदैन।’

सिटौलाले शेखर र महामन्त्री शशांक कोइरालालाई अहिलेसम्म पनि नेता स्वीकार गरिनसकेको जनाउँदै उनी निकट एक नेताले भने, ‘गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियाका काम गर्न सिटौलालाई जिम्मेवारी दिनुभएको थियो। उहाँसँगै  शेखर कोइरालालाई पनि गिरिजाबाबुले जोडिदिनु हुन्थ्यो। क्षमताभन्दा परिवारको लिगेसीका हिसाबले जोडिएको भन्ने सिटौलाको बुझाइ हो कि के हो खासै राम्रो सम्बन्ध देखिँदैन।’सिटौलाले महामन्त्री शशांकलाई ‘खोपीको देउता’ भन्ने गरेको बताउँदै निकट स्रोतले भन्यो,‘ गिरिजाप्रसाद कोइरालाको लिगेसी आफूमा पनि रहेको बुझाइ रहेकाले सुजाता कोइरालासँग भने उहाँँँँ केही लचिलो देखिनुहुन्छ।’ केही दिनअघिको लन्च मिटिङ पनि त्यसकै परिणाम रहेको बताउँदै स्रोतले थप्यो, ‘रामचन्द्र पौडेललाई १३औं महाधिवेशनमा अस्वीकार गरिसक्नुभयो।’ १२औं महाधिवेशनपछि सुशील कोइरालाले पौडेललाई उपसभापति र सिटौलालाई महामन्त्री मनोनित गर्ने प्रस्ताव गरेपछि दुई नेताको सम्बन्ध विग्रेको बताउँदै स्रोतले भन्यो, ‘उहाँ (रामचनद्र पौडेल) ले मेरोमात्र नाम उपसभापतिमा प्रस्ताव गरेको भए विवाद हुँदैन थियो, सिटौलाको नाम पनि जोडेर आएकाले विवादमा परें भनेकाले उहाँले चित्त दुखाएजस्तो देखिन्छ।’

१४ महाधिवेशनमा सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह र सिटौलाबीचको सम्बन्ध बाहिर देख्दा सौहार्द देखिए पनि भित्र कटुतापूर्ण रहेको भन्दै एकले अर्काेलाई स्वीकार गरेर अघि बढ्ने अवस्था नभएको निकटहरू बताउँछन्।

देउवा नेतृत्वमा पार्टीसामु देखिएका चुनौती सामना गर्न नसकिने भन्दै सिटौलालाई उनका निकटहरूले संस्थापन इतर समूहलाई एक ठाउँमा ल्याएर उम्मेदवार बन्न वा अर्को कसैलाई समर्थन गर्न सुझाउँदै आएका छन्। सिटौला अहिलेसम्म संस्थापन पक्षसँग लचिलो रहे पनि आफू निकट केन्द्रीय सदस्य थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीसहितका नेताहरू देउवाको विकल्प खोज्नुपर्ने पक्षमा उभिएकाले दबाबमा छन्। केन्द्रीय सदस्य शिव हुमागाईं, भीमसेनदास प्रधानसहितका नेताहरू भने सिटौलाको भूमिकालाई सुनिश्चित गरेर देउवासँगै मिलेर अघि बढ्नुपर्ने पक्षमा रहेको स्रोतको दाबी छ। सभापति देउवाले केही दिनअघि गरेको छलफलमा समेत सहभागी हुमागाईं र प्रधानले सिटौलालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन प्रस्ताव गरेका थिए। सिटौला निकट केही नेता भने  

उनका सामु सभापतिको उम्मेदवार बन्नुबाहेक विकल्प नभएको बताउँछन्।सिटौलाले केही महिनाअघि आफू सभापतिको प्रत्यासी बन्ने बताए पनि अहिले केही नभनेको बताउँदै एक नेताले भने, ‘शेरबहादुर देउवालाई नै सभापति बन्न सहयोग पुग्नेगरी सिटौलाले उम्मेदवारी दिए यसअघि सहयोग गर्नेहरूको पनि उनले साथ पाउन कठिन छ।’

२०७४ सालको आमनिर्वाचनपछि भएको संसदीय दलको निर्वाचनमा पनि थापासहितका नेताहरू देउवाको विपक्षमा उभिएका थिए। त्यसपछि थापासहितका नेताहरू निरन्तर संस्थापन इतर समूहमा सक्रिय छन्।  

तर थापासहितका युवा नेता र सिटौला दुवै अलग हुँदा शक्ति क्षयीकरणको सन्देश प्रवाह हुने भएकाले त्यस्तो हुन नदिन एक ठाउँमा देखिएको स्रोतको दाबी छ। महाधिवेशनअघि एकले अर्काेलाई उपयोग गर्ने रणनीतिमा सिटौला र थापा रहेको बताउँदै एक नेताले भने, ‘थापा सिटौलालाई देखाएर महामन्त्रीको उम्मेदवारी सुरक्षित गर्न चाहन्छन्। सिटौला पनि उनलाई देखाएर १४औं महाधिवेशन र पार्टीमा आफ्नो भूमिका बढाउन चाहन्छन्। तर दुवैको सम्बन्ध पहिलेजस्तो सुमधुर छैन।’

सिटौला समूहमा रहेका अन्य नेताहरू पनि सरकारदेखि पार्टीसम्म सिटौला र थापाको मात्र चर्चा हुन थालेको भन्दै आफ्नो स्थानको खोजीमा जुटेका छन्। यसबाट सिटौला थप दबाबमा रहेको स्रोतको दाबी छ।

प्रकाशित: २१ असार २०७८ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App