१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘लोकतन्त्र र संविधान जोगाउन गठबन्धन’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट  बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूले मुलुकमा लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरेको प्रष्टीकरण दिएका छन्। उनीहरूले गठबन्धनप्रति शंका–उपशंका नगर्न पनि आग्रह गरेका छन्।  

राजधानीमा शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्टले आफूहरूको गठबन्धन लोकतन्त्र र संविधान रक्षाका लागि भएको प्रष्टीकरण दिएका हुन्।  

सञ्चारकर्मीसँग करिब ३ घण्टाभन्दा बढी समय बिताएका उनीहरूले सर्वोच्च अदालत संविधानको व्याख्या गर्ने थलो भएकाले त्यहाँबाट आउने निर्णय लोकतन्त्र र संविधानको रक्षाकै पक्षमा हुने विश्वास व्यक्त गरे। उनीहरूको आसय सर्वोच्चबाट प्रतिनिधिसभा पुनस्र्थापना मात्र होइन, कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन पनि आदेश हुने थियो। कांग्रेस सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गर्दै संविधान र लोकतन्त्र रक्षाका लागि आफूहरू एकठाउँमा उभिएको बताए। 

उनले आफूलाई १४९ जना सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले त्यसलाई ‘क्रस चेक’ नगरेको बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो। यसबाट मलाई दुःख लाग्यो। सांसदहरूको हस्ताक्षर क्रस चेक गर्न सक्नु हुन्थ्यो राष्ट्रपतिले। चाहे क्रस चेक गर्न सकिने अवस्था जहाँ पनि छ तर उहाँले क्रस चेक नै गर्न चाहनु भएन’, देउवाले भने।  

उनले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन पनि आदेश हुने विश्वास व्यक्त गरे। ‘अदालतले प्रधानमन्त्री बनाओस् भन्ने चाहना होइन, संविधानको व्याख्या गर्ने सर्वोच्च अदालत हो भनेर हामीले भनेका छौं। राष्ट्रपतिले को–कता छ भनेर सोध्नुपर्ने हो तर त्यसो नगरी प्रतिनिधिसभा नै विघटन गरिदिनुभयो’, उनले भने।  

देउवाले प्रधानमन्त्री ओली लोकतन्त्रवादी नभएको आरोपसमेत लगाए। ‘ओली संविधानवादी, लोकतन्त्रवादी केही होइनन्, उनी मनपरी गर्ने अधिनायकवादी हुन्, संविधानमा लेखेको राष्ट्रपतिले नमानेपछि हामी अदालत गएका हौं। संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्ने हो’, देउवाले भने। देउवाले माओवादी अध्यक्ष दाहाल र एमाले वरिष्ठ नेता नेपाल बलिया सारथि रहेको संकेत गरे। उनले नेपालजी लडाकु मित्र हो भन्दै धोका नहुने विश्वास व्यक्त गरे।  

माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूहरूको गठबन्धन मुद्दामा आधारित भएकाले संविधानको रक्षा सुनिश्चित नहुँदासम्म रहने बताए। उनले ‘ओली पात्र र प्रवृत्तिका राजनीतिक खलनायक’ भएको भन्दै उनले पटकपटक संविधानमाथि प्रहार गरेका कारण गठबन्धन गर्नुपरेको प्रष्ट पारे। दाहालले ओलीको चर्कोे आलोचना गर्दै उनलाई प्रजातान्त्रिक छलफल रुचाउनै नसक्ने पात्र र प्रवृत्तिका रुपमा अथ्र्याए। ‘प्रधानमन्त्री र राष्ट्रपति भन्नेबित्तिकै केपी–विद्याको अनुहार आउने, उनीहरूले जे पनि गर्ने भनेर मलाई अचेल कतिपय बुद्धिजीविहरूले भन्न थाल्नुभयो, राष्ट्रपति रबर स्टाम्प पनि। हु इज केपी ओली ?,’ दाहालले भने।  

दाहालले ओलीले कहिले आफैं त कहिले महान्यायाधिवक्ता लगाएर अदालतलाई धम्क्याउन थालेको आरोप लगाए। ‘केपीले अहिले धम्क्याउन थाल्नुभएको छ, कहिले महान्यायाधिवक्तामार्फत धम्क्याउन थाल्नुभएको छ, कहिले आफैंले धम्क्याउनु भएको छ। कहिले विचरा म। मलाई देखाएर धम्काइएको छ। मेरो सेटिङमा देश चल्छ रे, मेरो सेटिङमा नेपाल चलेको भए त !’, दाहालले भने। दाहालले एमालेको वास्तविक नेता नेपाल भएको टिप्पणी पनि गरे। ‘एमालेको वास्तविक लिडर माधवजी हो। केपी चै खस्किँदैछन्,’ उनले भने।

दाहालले केही दिनमै अदालतको आदेशमा देउवा प्रधानमन्त्री हुने विश्वास पनि व्यक्त गरे। ‘मैले यो कुरा नियम, संविधान अनुसार भनेको छु, सेटिङमा भनेको छैन’, उनले भने। दाहालले आफूहरूले नै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताए। गठबन्धनमा सामेल एमालेका वरिष्ठ नेता नेपालले आफूहरूको संघर्ष केपी ओलीकोल विरोधमा उनको प्रवृत्तिविरुद्ध भएको बताए। 

उनले आफू पार्टीभित्रै विद्रोह गरेर संविधान र लोकतन्त्र बचाउन लागिपरेको बताए। नेपालले आफूलाई विपक्षी गठबन्धनबाट अलग गर्न प्रधानमन्त्रीको प्रस्ताव आएको बताए। उनले आफूले विपक्षी गठबन्धनलाई धोका दिन नसक्ने स्पष्ट पारे। ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो। शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस् भन्ने प्रस्ताव आएको छ’, नेपालले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन। जुन प्रक्रिया अगाडि बढेको छै, त्यहाँ धोका दिने पक्षमा छैन, हस्ताक्षर फिर्ता लिने पक्षमा छैन।’ ओली पक्षका नेताहरूले बेलाबेखत कांग्रेसको हातमा सत्ता सुम्पनुभन्दा एमालेकै नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरिरहैकै बेला नेता नेपालले गठबन्धनलाई धोका नदिने वचन दिएका हुन्।  

नेपालले प्रधानमन्त्री ओलीले सत्ता र शक्तिको मातमा पटकपटक गलत कदम चालेको आरोप लगाए। ओलीका क्रियाकलापले लोकतन्त्र नै धरापमा परेको र आफूले पनि पटक–पटक धोका पाएको बताए। उनले एक प्रसंगमा ओलीलाई लक्षित गर्दै बालुवा पेलेर तेल नआउने बताए। ‘साथीहरू लागिरहनु भएको छ, बालुवा पेलेर तेल आयो भने राम्रो तर आउँछ भन्ने मलाई लाग्दैन, मैले वामदेव (गौतम) जीलाई पनि त्यही भनेको थिए। उहाँ पनि केही समय बालुवा पेल्न लाग्नु भयो तर तेल आएन,’ नेपालले भने।

प्रकाशित: १३ असार २०७८ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App