१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमकाे सञ्चालक समितिको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार इन्धनको मूल्य घटाइएकाे निगमले जनाएकाे छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ।

सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको छ। साेही अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५.५० रुपैयाँ र डिजेलको मूल्य १५०.५० रुपैयाँ कायम भएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएकाे छ।

प्रकाशित: १८ जेष्ठ २०८१ २०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App