४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारको दुश्परिणाम भोगिरहेका छौँः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशले राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारको दुश्परिणाम भोगिरहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा उनले देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोगिरहेको बताएका हुन्।

'कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ। लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको बिषय बन्दछ र बन्नु पर्दछ,' उनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं। अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु।'

यसैगरि, सो अवसरमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर शहिदप्रति उच्च सम्मान साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले भनेका छन्, 'नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो। नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।'

यस्तै, कोभिड-१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ भने जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको बताएका छन्। यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि उनले सबैलाई आग्रह समेत गरेका छन्।

'गणतन्त्र दिवसको यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु,' उनले भने।

प्रकाशित: १५ जेष्ठ २०७८ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App