१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले आज धरहराको उद्घाटन गर्दै

भूकम्पमा लडेको उपत्यकाकै अग्लो स्तम्भ धरहराको आज (शनिबार) बिहान ११ बजे उद्घाटन हुँदैछ। बाहिरी सजावटको कार्य सकिन अझै एक वर्ष समय लाग्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा मात्रै तयार गरेर उद्घाटन गर्न लागेका हुन्। भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुर राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ। झन्डै दुई वर्षपछि धरहरा स्तम्भको काम सकिए पनि बाहिरी ब्युटिफिकेसन र जमिनमुनि रहेको भुमिगत दुई तलाको भने जम्मा १० प्रतिशत मात्रै काम भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले धरहरा निर्माणमा अधिकांश नेपालमै उत्पादित निर्माण सामग्री प्रयोग गरिएको बताए। उनका अनुसार सर्वोतम, जगदम्बा, अल्ट्रा, होङ्सीलगायत सिमेन्ट प्रयोग भएको छ भने फलामे डन्डीतर्फ पनि नेपालमै उत्पादित अम्बे, लक्ष्मी र जगशक्ति डन्डीलगायत प्रयोग भएकोे छ। यसबाहेक एसी, बिजुलीका अत्यावश्यक सामग्री भने छिमेकी मुलुकबाट ल्याएर जडान गरिएको छ।  

२०७२ सालमा गएको भूकम्पमा लडेको धरहरा पुनर्निर्माण गर्ने विषयमा लामो समय विवाद भएपछि सुरु भएको पुनर्निर्माण कार्य तीव्र गतिमा भए पनि ठेकेदार कम्पनीले तोकिएको समयमा पूरा गर्न सकेको थिएन। म्याद थप गर्दै पुनर्निर्माण गर्दै आएको कम्पनीले धरहराको बाहिरी काममा अझै समय लाग्ने जनाएको छ। पुनर्निर्माण प्राधिकरणका अनुसार बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्रबाट भने २२ तलाको छ। त्यस्तै, जमिनमुनि दुई तलाको भूमिगत संरचनाको कार्य पनि बाँकी रहेको छ। धरहरा क्षेत्रका बाँकी संरचनाको काम भने जारी नै रहने बताइएको छ।  

सर्वसाधारणका लागि भने आगामी माघदेखि मात्रै खुला हुनेछ। उपत्यकामा आउने पर्यटकका लागि लागि यो नयाँ गन्तव्य हुनेछ। धरहराको बाहिरी सुन्दरताको काम सकिएपछि मात्रै आम नागरिकको लागि खुल्ला गरिने ठेकेदार कम्पनीले जनाएको छ। ठेकेदार रमण जेभी कम्पनीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले धरहराको स्तम्भ निर्माण कार्य पूरा भए पनि सबै काम सकिन करिब एक वर्ष लाग्ने जानकारी दिए। उनले भने, ‘धरहरामा अब पर्यटकका लागि नयाँ गन्तव्य बन्नेछ, स्तम्भ तयार भएपछि बाँकी काम जारी नै रहनेछ, अब उपत्यका भित्रिने प्रत्येक व्यक्ति यो स्तम्भ चढेर मात्रै फर्कनेछन्।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ मानन्धरले नयाँ बनेको धरहरामा लिफ्ट राखिएको बताए। उनका अनुसार गजुरसहित नयाँ धरहराको उचाइ ७९.९ मिटर रहेको छ। प्राधिकरणले क्षतिग्रस्त पुरानो धरहराको बाँकी भागलाई भूकम्प स्मारकका रूपमा सिसाको फ्रेममा राख्ने जनाएको छ। प्राधिकरणका धरहरा करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ। धरहराको तल्लो भागमा तीन तलाको पार्किङ तयार हुँदैछ। त्यस्तै छेउछेउमा बगैंचा पनि बनाउने कार्य सुरु भएको छ। पार्किङमा ३ सय ४७ वटा चारपांग्रे गाडी राख्न मिल्ने बताइएको छ। धरहरा परिसरमा आकर्षक बगैंचा, संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना राखिनेछ।  

पुरानो धरहरा साक्षी राखेर नयाँ धरहरा बनेपछि कतिपयले यो धरहरालाई नयाँ इतिहास भनेका छन्। पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव तथा संस्कृतिविद् गोविन्द डन्डनले हाल बनेको धरहरालाई पुरानो धरहरा भन्न नमिल्ने बताए। ‘सबै काम नसकी उद्घाटन गर्दा बा“की कामलाई असर पार्छ,’ उनले भने, ‘उद्घाटन भइहाल्यो अरू काम बिस्तारै गरांैला भन्ने प्रवृत्तिले काम नहुन सक्छ।’  

संस्कृतिविद् सत्यमोहन जोशीले कलाकृतिमा सिमेन्ट र आधुनिक सामग्रीको प्रयोग गर्दा झन् बलियो हुने बताए। ‘सिमेन्ट पनि नेपालकै ढुंगाबाट बनेको हो, यसले सम्पदालाई लामो आयु दिन्छ,’ उनले भने, ‘विकास गर्दा खाली मौलिकता मात्रै खोजेर हुन्न।’ उनले सम्पदामा आधुनिक सुविधा हुनु आपत्तिको विषय नरहेको बताए। धरहराको रूप र शैली सत्यानास पार्नेगरी पुनर्निर्माण नभएकोले पुरानो धरहराले मूर्त रूपमा पाएको उनको भनाइ छ।  

प्रधानमन्त्री भीमसेन थापाले १८८८ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि यो धरहरा निर्माण गराएका थिए। तर १९९० सालको भूकम्पले पहिलो पटक ११ तले धरहरा भत्काएको थियो भने २०७२ सालको भूकम्पले धराहर फेरि भत्काएको थियो। १९९० सालपछि पुनर्निर्माण गर्दा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले पहिलेको ११ तले धरहराको उचाइ घटाएर नौ तलाको बनाउन लगाएका थिए।

प्रकाशित: ११ वैशाख २०७८ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App