८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। सोमबार बसेको प्रदेश १ को प्रदेसभा बैठकमा अविश्वासको प्रस्तावका प्रस्ताव तथा माओवादी केन्द्रका संसदीयदलका नेता इन्द्रबहादुर आङ्वोले प्रस्ताव फिर्ता लिएका हुन्।  

प्रदेशसभा बैठकमा बोल्दै प्रस्तावक इन्द्रबहादुर आङ्वोले भिन्न राजनितिक अवस्थामा राखिएको अविश्वासको प्रस्तावको औचित्य सकिएकाले फिर्ता लिएको बताए। ‘भिन्न राजनीतिक परिस्थितिमा अविश्वासको प्रस्ताव राखिएको थियो’ आङ्वोले भने, ‘अहिलेको अवस्थामा अविश्वासको प्रस्तावको औचित्य सकिएकाले फिर्ता लिइएको हो।’ अविश्वासको प्रस्तावका प्रस्तावक आङ्वोले प्रस्ताव फिर्ता लिएपछि सभामुख प्रदिपकुमार भण्डारीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राख्ने ३७ जना सांसदले नै विभिन्न समयमा अविश्वासको प्रस्तावबाट हस्ताक्षरसहित प्रस्ताव फिर्ता लिएको प्रदेशसभामा निवेदन दिइसकेकाले अविश्वासको प्रस्ताव अघि नबढ्ने जानकारी दिए।  

साविक नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरि मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरी मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सर्वोच्चको आदेशबाट दुईवटा दल मिलेर बनेको सत्तारुढ नेकपालाई साविककै एमाले र माओवादी केन्द्रका रुपमा रहने आदेश दिएपछि प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव संकटमा परेको थियो। 

प्रदेश १ मा नेकपा एमाले एक्लैको बहुमत रहेको छ। एमालेको माधव नेपाल समूहले पनि प्रस्ताव फिर्ता लिइसकेको अवस्थामा माओवादी केन्द्र एक्लैका सांसदहरूले मात्रै अविश्वासको प्रस्ताव पारित हुने अवस्था नभएपछि माओवादी केन्द्र पनि प्रस्ताव फिर्ता लिन बाध्य भएको हो।

प्रकाशित: २३ चैत्र २०७७ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App