१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपा र माओवादी केन्द्रलाई साथमा लिएर कांग्रेसले ओली सरकार ढाल्नुपर्छ : रामचन्द्र पौडेल

पोखरामा मंगलबार बिहान बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्बिरः उमेश पुन/नागरिक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नुपर्ने बताएका छन्। कांग्रेसले राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई साथमा लिएर ओली सरकार ढाल्नुपर्ने बताएका हुन्। देशलाई अनिर्णयको बन्दीबाट निकास दिन ओली सरकार ढाल्नुपर्ने उनको भनाई छ।

प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पूर्णप्रसाद-मायादेवी शान्ति पत्रकारिता पुरस्कार २०७७’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैले पहिलेपनि भन्दै आएको थिए, की प्रदेश–१ मा अविश्वासको प्रस्ताव आयो,  वागमतीमा पनि अविश्वासको प्रस्ताव आयो, ती दुइवटै प्रदेश सरकार फाल्दिउँ, र केन्द्रको केपी ओली सरकारपनि गिराईदिउँ। प्रस्ताव अन्य दललाई ल्याउँ, हामी हाल्छौं भोट भनेर भनौं भनेर मैले सभापतिलाई भनेको हुँ। तर सभापतिले वास्ता गरेनन।

‘ओलीले सरकार जोगाउन जसपालाई जे जे गर्छु भन्नु भएको छ, ती माग हामीपनि पूरा गर्छौं भन्दिऔं। माओवादीलाई केन्द्रलाई पनि साथ लिएर यो सरकार ढलाईदिउँ भनेर सुझाव दिएको हुँ,’ उनले भने।  

कांग्रेसका कारण ओली सरकार ढालेर नयाँ सरकार बनाउन सकिएन भनेर जसपा नेतृत्वले भनेको कुरा पत्रपत्रिकामा आफूले पढेको भन्दै पौडेलले यसमा सभापति शेरबहादुर देउवा दोषी रहेको बताए। ‘मैले पहिले नै ओली सरकार ढाल्न सुझाव दिएको हुँ,’ उनले भने, ‘तर सभापति जीले कुनै पहलकदमी लिनु भएन, अहिले जसपा नेताहरुको मुखबाट कांग्रेसले आफूले सरकारको नेतृत्व गर्छु वा अरुलाई तपाईंहरु गर्नुस् भनेर स्पष्ट जवाफ नदिदा अनिर्णयको बन्दी भएको भनेर भनिरहेको छ।’

पौडेलले राष्ट्रिय दायित्व पूरा गर्ने बेला कांग्रेस अनिर्णयको बन्दी हुन नहुने बताए। अहिले पार्टी अनिर्णयको बन्दी भयो भन्ने आरोप लागिरहेको भन्दै यसमा सभापतिको कमजोर रहेको उनले दोहोर्‍याए। सभापति देउवाको उदासिनता रहस्यमय भएको बताउँदै उनले यसरी पार्टी नचल्ने बताए। उनले भने, ‘मलाई पनि हाम्रो सभापति जीको अहिलेको उदासिनता भन्ने कि के भन्ने, यो मलाई रहस्यमय लागेको छ।’ कांग्रेस संसदमा सानो संख्यामा भएपनि राजनीतिमा यसको भूमिका विशिष्ट भएको बताउँदै त्यो अहिले पनि सावित गरेर देखाउनुपर्ने उनले बताए।

वरिष्ठ नेता पौडेलले ढुलमुलले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा भूमिका खेल्न नसकिने भन्दै यस्तो अवस्था कायम रहे कांग्रेसले आफ्नो दायित्व पनि पूरा गरेको नठहरिने बताए। कांग्रेसले अब दह्रो निर्णय गरेर देशमा देखिएको अराजकताको अन्त्य गर्नुपर्ने उनको भनाई छ।

पौडेलले वर्तमान अवस्थालाई निकास नदिने हो भने नेपालको राष्ट्रिय राजनीति उल्टो दिशातिर जानसक्ने चेतावनी दिए । नेपालमा धेरै थरिका खेलाडी रहेको बताउँदै उनले भने, ‘नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु चलिरहेका छन्। यहाँ एकथरी मात्र खेल खेल्ने छैनन्। थरिथरिका खेल खेलाडीहरु छन् यो देशमा।’ ती अन्तर्राष्ट्रिय खेलाडीबाट जोगिन नेपालका राजनीतिक दलहरुले नेपाल लोकतान्त्रिक प्रणाली जोगाउन, संविधान र कानूनको रक्षा गर्न सक्षम छ भन्ने सन्देश दिनु आवश्यक रहेको उनको भनाई छ। त्यसका लागि पार्टी सभापतिले नै निर्णय गर्नुपर्ने भन्दै उनले थपे, ‘किनभने म निर्णायक छैन। मेरो हातमा निर्णायक शक्ति छैन। यसकारण कि म पार्टी सभापति पनि छैन, संसदीय दलको नेता पनि होइन। मैले त पार्टीलाई सुझाव दिने हो, दवाब दिने हो।’

प्रकाशित: ३ चैत्र २०७७ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App