१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ढुक्क हुनुस्, नेपाल र नेपालीको स्वाभिमान माथि उठाइन्छ: प्रधानमन्त्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहद्वारा चितवनको भरतपुरमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको स्वाभिमान उच्च बनाउन आफू लागिपरेको र कसैको सामु घुँडा नटेक्ने बताएका छन् । नेकपा ओली समूहद्वारा चितवनको भरतपुरमा शनिबार आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले देशको रक्षाका लागि आफूले नेतृत्व गर्ने र कुनै पनि हालतमा जनतालाई धोका नदिने प्रतिबद्धता जनाए । नेपाल र नेपालीको स्वाभिमान बचाउन आफूले अगुवाइ गर्ने र त्यसमा जनताको साथ पाउनेमा ढुक्क रहेको उनले बताए ।

‘निरंकुश राजतन्त्र हुँदा घुँडा टेकिएन, पञ्‍चायती तानाशाही हुँदा घुँडा टेकिएन, नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, कुनै पनि अवस्थामा घुँडा टेकिएन,’ ओलीले भने, ‘अब घुँडा टेक्नुपर्ने कुनै अवस्था छैन, साथीहरू ढुक्क हुनुस्, नेपाल र नेपालीको स्वाभिमान माथि उठाइन्छ, उठ्छ ।’ उनले देशको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हितको रक्षा, देशको स्वाधीनताको सही अर्थमा रक्षा र प्रयोग, देशको भूगोलको रक्षा, नेकपा नेतृत्वको यो सरकारले गर्ने बताए । देशको रक्षाका लागि आफूले नेतृत्व गर्ने पनि उनले बताए ।  

प्रधानमन्त्री ओलीले आगामी वैशाखमा प्रतिनिधिसभाको निर्वाचन भएरै छाड्ने दाबी गरे । उनले यो सरकारले चुनाव गराउँदैन भनेर फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘ढुक्क हुनुस् निर्वाचन हुन्छ । निर्वाचनको वातावरण बन्दैछ ।’

ओलीले केही वर्षभित्रै जनताले अनुभूति गर्नेगरी देश विकास हुने बताए । ‘देशको विकास गरेरै छोडिन्छ, केही वर्षभित्रै जनताले अनुभूति गर्नेगरी विकास हुन्छ,’ उनले भने, ‘म प्रधानमन्त्री भएपछि राष्ट्रियता, लोकतन्त्र, विकास निर्माण, शिक्षा स्वास्थ्य क्षेत्रका पूर्वाधार विकासमा काम भइरहेको छ र हुनेछ ।’ कोभिडलाई परास्त गर्दै देश विकासशील राष्ट्र बन्ने दाबीसहित उनले आत्मविश्वासका साथ अघि बढ्न सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भरतपुरमा बन्दै गरेको सिटी हल र पुल्चोक–गोद्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने योजनाको शिलान्यास पनि गरे । २७ महिनाभित्र सम्पन्न गर्नेगरी गत मंसिरमा सिटी हल निर्माणका लागि सम्झौता भएको थियो । सिटी हल ८७ करोड ८८ लाख रुपैयाँ लागतमा निर्माण हुने बताइएको छ । त्यस्तै सडक बिस्तार एक अर्ब १२ करोड रुपैयाँ लागतमा २०७९ फागुनसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ ।

प्रकाशित: १८ माघ २०७७ ००:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App