२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा विवाद मिलाउन चिनियाँ कसरत

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि चिनियाँ अधिकारीहरू जुटाउने कसरतमा छन्। रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपामा नेताहरूको व्यवस्थापन गर्न नसक्दा समस्या आएको निर्क्यौल निकालेको छ।

चिनियाँ अधिकारीहरू झेकुन लाई, योङलिन झु र डोङ्मे हुङ नेकपा विवाद मिलाउन काठमाडौं आएर कसरतमा जुटेका हुन्। उनीहरू डिसेम्बर २६ मा यहाँ आएका हुन्।  

अध्यागमन स्रोतका अनुसार झेकुन इसी ८००९१०४ नम्बरको पासपोर्ट, योङलिन इसी ४५११२०० नम्बरको पासपोर्ट र डोङमे इसी ९९४४५१३६ नम्बरको पासपोर्टमा नेपाल आएका हुन्। उनीहरू कूटनीतिक राहदानीको सट्टा सामान्यमा आएका हुन्। यसअघि आएको टोली पनि नेकपाका नेताहरूलाई मिल्न सुझाव दिएर फर्केको थियो।

तीन सदस्यीय चिनियाँ अधिकारीको टोली आएको केही सातापछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका प्रमुख नेताहरूसँग अनौपचारिक कुराकानी गरेको स्रोतको दाबी छ। यान्छीले बुधबार पनि नेकपा केपी ओली समूहका नेताहरूलाई भेटेकी थिइन्। भेटमा उनले नेकपामा नेताहरूको व्यवस्थापनमा समस्या रहेकाले त्यसलाई मिलाएर अघि बढ्नुपर्ने चिनियाँ नेताहरूको सुझाव रहेको जानकारी गराएकी थिइन्। यान्छीसँगको भेटमा ओली समूहका रामबहादुर थापासहितका नेता सहभागी थिए। उच्च सुरक्षा स्रोतका अनुसार बुधबार दिउँसो यान्छी गृहमन्त्रीसमेत रहेका थापालाई भेटेकी थिइन्। भेट्न जाँदा उनले दूतावासको गाडी प्रयोग नगरेको र भेटबारे परराष्ट्र मन्त्रालयका कूटनीतिक अधिकारीलाई समेत जानकारी नदिएको स्रोतले बतायो।  

त्यस्तै राजदूत यान्छीले नेकपा दाहाल–नेपालनिकट समूहका युवा नेताहरूसँग पनि भेट गरी पार्टीका शीर्ष नेताहरूलाई व्यवस्थापन गरेर अघि बढ्न सुझाव दिएको स्रोतको दाबी छ। ‘चिनियाँ कम्युनिस्ट पार्टीको चाहना नेपाल कम्युनिस्ट पार्टी विभाजन नहोस् भन्ने छ। नेकपाका शीर्ष नेताहरूको उचित व्यवस्थापन गरेर समस्या सुल्झाउन सकिन्छ भन्ने चिनियाँ कम्युनिस्ट पार्टीको सुझाव छ। नेताहरूको व्यवस्थापन समस्याले नै नेकपा विभाजन भएको देखिन्छ। हाम्रो टोलीको पनि यही निष्कर्ष छ,’ राजदूत यान्छीलाई उद्धृत गर्दै दाहाल–नेपालनिकट स्रोतले भन्यो।  

राजदूत यान्छीसँगको भेटबारे गृहमन्त्री थापाको सचिवालयले भने केही जनाएको छैन। ‘गृहमन्त्री र चिनियाँ राजदूतको भेटघाट विषयमा मलाई जानकारी छैन। यस्तो विषय लुकाउनुपर्ने त होइन। उहाँहरूबीच भेटघाट भएको छैन भन्ने मलाई लागेको छ,’ थापाका प्रेस सल्लाहकार किरण भट्टराईले भने। राजदूत यान्छीले बिहीबार नेकपा उपाध्यक्ष वामदेव गौतमसँग पनि भेटघाट गरेको स्रोतले बताएको छ।  

नेकपा राजनीतिक रूपमा विभाजन भएलगत्तै चिनियाँ कम्युनिस्ट पार्टीका नेता गुओ यझाओ नेतृत्वको टोली काठमाडौं आई चारदिन बसेर फर्केको थियो। गुओ नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका नेताहरू ओली, दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटालगायतसँग भेट गरेको थियो। सो टोलीले पनि नेकपा विभाजन नहोस् भन्ने चिनियाँ कम्युनिस्ट पार्टीको चाहना रहेको भन्दै नेताहरूलाई मिल्न सुझाव दिएको थियो। सो टोलीले मिल्न नसके निर्वाचनमा सहकार्य गर्न पनि सुझाएको थियो। गुओ नेतृत्वको टोलीलाई प्रधानमन्त्रीसमेतर रहेका ओलीले आफ्नो पार्टीको आन्तरिक मामिला भन्दै टारेका थिए भने दाहाल–नेपाल समूहले पनि ओलीले असंवैधानिक कदम चालेका कारण आफूहरू बाध्य भएर संघर्षमा उत्रिनुपरेको बताएका थिए।  

गुओ नेतृत्वमा आएको टोली फर्केपछि अहिले अर्को टोली नेपाल आएर सक्रिय भएको हो। पछिल्लो टोली आएपछि पनि चिनियाँ राजदूत यान्छीले पहिला जस्तो नेकपाका नेताहरूलाई गोप्य रूपमा भेटेर कुराकानी गरिरहेको स्रोतको दाबी छ। चिनियाँ पक्षले सकेसम्म मिलाउने प्रयास गरिरहे पनि नेकपाका दुवै समूहले बेग्लाबेग्लै कार्यक्रम, भेला र प्रशिक्षण गरिरहेका छन्। अहिले कुनै पनि समूहमा नदेखिएका नेता वामदेव गौतम पार्टी एकता अभियान भन्दै नेताहरूलाई दबाब दिने तयारीमा छन्। गौतमको गृहजिल्ला बर्दियामा पार्टी एकताको पक्षमा कार्यक्रम पनि गरिएको छ। एकता प्रयासका लागि गौतमले ओली, दाहाललगायतसँग कुराकानी गरिसकेका छन्। गौतम अहिले कुनै  

गुटमा सहभागी नभई पार्टी मिलाउने अभियानमा जुटेको उनी निकट बताउँछन्।

प्रकाशित: २४ पुस २०७७ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App