९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

किन स्वेच्छाचारी बन्न खोज्छन् प्रधानमन्त्री?

स्केच : देवेन/ ग्राफिक्स : कमल सुवेदी

देशको कार्यकारी व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक स्वेच्छाचारीको आरोप खेप्दै आएका छन्। विपक्षी दलले मात्र होइन नेकपा भित्रैबाट पनि उनलाई यो आरोप लागिरहन्छ। विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले पदभार सम्हालेदेखि नै ‘अधिनायकवादी’को आरोप लगाइरह्यो भने सत्तारुढ दल भित्रका शीर्ष नेताहरुले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि स्वच्छाचारीको आरोप लगाउने गरेका छन्।  

नेकपाका कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधव नेपाल,  झलनाथ खनाल लगायत नेताहरुले ओलीलाई स्वेच्छाचारीको आरोप लगाइरहेका छन्। केही दिनअघि मात्र नागरिकसँगको कुराकानीका क्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पनि प्रधानमन्त्रीलाई स्वच्छाचारीको आरोप लगाएका थिए।

पछिल्लो पटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा समेत छलफल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि उनीमाथि स्वेच्छाचारीको आरोप अझ वर्षिएको छ। सामाजिक सञ्जाल, चिया पसलदेखि प्राय सबै राजनीतिक दलका नेताहरुले उनीमाथि यो आरोप लगाए। नेपाली कांग्रेसको वुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पनि प्रधानमन्त्री ओलीमाथि यस्तै आरोप लगायो।  

पार्टी भित्रबाट ओलीमाथि पार्टीको निर्णय अनुसार नचल्ने, सरकार सञ्चालनका विषयमा पार्टीभित्र छलफल नगर्ने, एकलौटी सरकारी नियुक्ति गर्ने लगायतका आरोप लाग्ने गरेको छ। 

तर, उनीमाथि यसरी आरोप लागेको पहिलोपटक भने होइन। उनले यस्तो आरोपको सामना पटक–पटक गर्दै आएका छन्। गत वैशाखमा पनि संवैधानिक परिषद् सम्बन्धी र राजनीतिक दल सम्बन्धी गरी दुईवटा अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओली तीव्र आलोचीत भएका थिए। त्यसपछि गत असार दोस्रो हप्तातिर आफूलाई प्रधानमन्त्रीको पदबाट हटाउन विदेशी शक्तिसहित नेपालकै नेताहरु सक्रिय भएको भन्ने अभिव्यक्ति दिएपछि त उनको पार्टीभित्रैबाट राजीनामा मागिएको थियो।  

पार्टी भित्रबाट ओलीमाथि पार्टीको निर्णय अनुसार नचल्ने, सरकार सञ्चालनका विषयमा पार्टीभित्र छलफल नगर्ने, एकलौटी सरकारी नियुक्ति गर्ने लगायतका आरोप लाग्ने गरेको छ। अर्कोतिर विपक्षी दलहरुले भने विशेषगरी आफ्ना नेता कार्यकर्तामाथि सरकारी पक्षबाट धरपकड भएपछि तथा विभिन्न सरकारी नियुक्तिपछि स्वेच्छाचारीको आरोप लगाउने गरेका छन्।  

प्रमुख प्रतिपक्षी दलका युवा नेता प्रदीप पौडेल प्रधानमन्त्री ओली नै लोकतन्त्रप्रति प्रतिवद्ध नरहेको आरोप लगाउँछन्। ‘लामो समय राजनीतिमा खर्चिएका नेता बहुमतसहित प्रधानमन्त्री भएपछि राम्रो काम गर्छन् भन्ने लागेको थियो। देश र जनताको लागि उपलब्धी हुन्छ भन्ने सोचेका थियौं। तर, उहाँमाथि दुई तिहाईको दम्भ पलायो।’ उनले भने,‘प्रधानमन्त्रीलाई राज्यका सबै संरचनाहरु आफू अनुकूल बनाएर फरक मत भएकाहरुलाई समाप्त पार्ने र आफूलाई थप शक्तिशाली बनाउँदै लैजाने अहंकार पलायो।’ ओलीले देश र जनतालाई धोका दिएको उनको आरोप छ। प्रधानमन्त्रीले विगतमा राष्ट्रियता, देश विकासजस्ता मुद्दा उठाएर सत्तामा जानको लागि भर्याीङ मात्र बनाएको नेता पौडेलको दावी छ। ‘ओलीले विगतमा उठाएका मुद्दाहरु सरकारमा जानको लागि भर्यााङ मात्र बनाएका रहेछन्।’ उनले भने,‘सत्तामा गएपछि अधिनायकवाद नै प्राक्टिस् गर्ने रणनीति रहेछ। जुन अहिले देखिइरहेको छ।’  

सत्तारुढ दल नेकपाकै नेताहरुले पनि प्रधानमन्त्रीलाई स्वेच्छारीको आरोप लगाउने गरेका छन्। स्थायी कमिटी सदस्य बेदुराम भुसाल भन्छन्,  'विधि र पद्धतिलाई मिचेर देश चलाउन खोज्ने गरेकाले ओलीमाथि यस्तो आरोप बेला बेला लाग्ने गर्छ।' ‘पार्टीको निर्णय कार्यान्वयन नगर्ने, अध्यादेशले देश चलाउन खोज्ने जस्ता प्रवृत्तिले प्रधानमन्त्रीलाई स्वेच्छाचारी बनाएको हो,’ उनले भने,‘ओलीको काम गर्ने शैलीले नै उहाँलाई स्वेच्छाचारी बनाएको हो।’

राजनीतिक विश्लेषक हरि रोका भने प्रधानमन्त्रीमा ज्ञानको चरम अभाव रहेको दाबी गर्छन्। ‘प्रधानमन्त्रीमा ज्ञानको अभाव छ। भाषा जानेको भएपनि त्यसको अर्थ र परिणाम उहाँलाई थाहा हुँदैन।’ पछिल्लोपटक ल्याइएको अध्यादेशले समेत प्रधानमन्त्रीको वास्तविक चरित्र उदांगो पारेको उनको बुझाई छ। ‘देशको कार्यकारी जस्तो व्यक्तिले गरेको निर्णय २४ घण्टा नपुग्दै उल्टिन्छ भने उहाँलाई कसरी योग्य प्रधानन्त्री मान्ने?’ उनले भने,‘प्रधानमन्त्री ओलीलाई राजनीति शास्त्र, समाज शास्त्रसहित कुनै पनि विषयमा राम्रो ज्ञान छैन। त्यसैले उनी अपरिपक्व र स्वेच्छाचारी छन्।’

 

 

 

प्रकाशित: २ पुस २०७७ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App