२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपतिलाई गगन थापाको चुनौती : गरिमा बिर्सनुभयो, चुनाव लड्न आउनुस्

नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाको कहरकाबीच भीम रावल र लेखराज भट्टले दिएका सेनेटाइजर बाँडेर बसेको आरोप लगाए। सोमबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भएको विरोध सभामा बोल्दै नेता थापाले भने,‘मुख्यमन्त्री भट्टले केन्द्रका नेताले दिएको सेनिटाइजर बाँड्नुबाहेक सुदूरपश्चिमका जनताका लागि केही गरेनन्।’ नेताको ढोकामा बसेर चाकरी गर्नुभन्दा बाहेकको काम मुख्यमन्त्री भट्टले नगरेको बताउँदै उनले भने,‘नेताको चाकरी गरेर उनीहरुले दिएका सेनेटाइजर बाँडेको डाटा बाहिर ल्याउनुबाहेकको काम मुख्यमन्त्री भट्टले गर्न सकेनन्।’  

कोरोना कहरबीच जनतालाई राहत दिन औषधिमूलो तथा बिरामीलाई चाहिने सामग्री वितरण गर्नुभन्दा सुदूरपश्चिम सरकार चाकरीमै व्यस्त रहेको उनले टिप्पणी गरे। यसैबीच एक फरक प्रसंगमा बोल्दै उनले राष्ट्रिपति विद्यादेवी भण्डारीलाई काठमाडौमा आफूसँग चुनाव लड्न चुनौती पनि दिए। उनले राष्ट्रिपतिले शीतल निवासमा बसेर आफ्नो गरिमा बिर्सिएको भन्दै आफूसँग चुनाव लड्न तयार रहन चुनौती दिए। ‘म मदन भण्डारीको शब्द सापटी लिएर भन्छु, महारानी शीतल निवासबाट आँखा नझिम्काई बक्सियोस, काठमाडौंमा म सँग चुनाव लड्न तयार होइबक्स्योस्,’ उनले भने,‘राष्ट्रपतिले आफ्नो गरिमा बिर्सिएर नेकपाको गुटको झगडा मिलाउने मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नुभन्दा साँच्चै मसँग चुनाव लड्न तयार रहन आग्रह गर्दछु।’

प्रतिपक्षको भूमिकाबाट कांग्रेसले सरकारलाई पटक–पटक सच्चिन सुझाव दिएपनि नसोचिएकाले बाध्य भएर सडकमा आउनु परेको बताउँदै भने,‘अहिलेको परिस्थितमा सडकमा आउनु पर्दा दुःख लागेको छ, अब सरकारलाई ठेगानमा नल्याउँदासम्म सडक छोड्दैनौं।’ नेता थापाले वर्तमान सरकार भ्रष्टहरुको संरक्षक रहेको बताउँदै विभिन्न नाममा गरिएका भ्रष्टाचारहरुलाई लुकाउने प्रधानमन्त्री केपी ओलीले अख्तियारभन्दा पहिले आफूले फैसला गरेर आफ्ना मान्छेको संरक्षण गर्ने गरेको बताए।    

हिन्दूराष्ट्र र राजसंस्थाका पक्षमा पछिल्लो समय देशभर भइरहेको प्रदर्शनलाई लक्षित गर्दै थापाले युवाहरुलाई भने, ‘राजाका पक्षमा सडकमा निस्कनु युवाको अधिकार हो, तर पञ्चायतकालमा मूर्ति बेचेर खाने मण्डलेले धर्म बचाउन सक्छन् भनेर विश्वास नगर्नुहोस्।’  

धनगढीको ट्राफिक चौराहबाट सुरु भएको विरोध ¥याली धनगढी बजारहुँदै पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो कोणसभालाई गगन थापासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रामजनम चौधरी र धनगढी उपमहानगरपालिकाकी उपमेयर  सुशीला मिश्र भट्टले सम्बोधन गरेका थिए।

 

प्रकाशित: २९ मंसिर २०७७ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App