१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नौ महिनामा चारपटक आन्दोलनको धम्की

फाइल तस्बिर:नागिरक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नौ महिनामा चारपटक मुलुकमा ठूलो आन्दोलन हुने, आफू जंगल जान सक्ने र आन्दोलन गर्ने इच्छा रहेको अभिव्यक्ति दिएका छन्। उनले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जंगल जान अनुमति दिए जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका हुन्। दलका कार्यक्रम वा अन्य कार्यक्रममा पनि उनले त्यस्ता अभिव्यक्ति दिएका छन्।

बिहीबार मात्रै गृहजिल्ला चितवन पुगेर उनले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताए। समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिस्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको उनको भनाइ थियो। ‘हामी त जीवनको उत्तराद्र्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिस्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ। यो महान् उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ। हामी जित्छौं पनि’, उनले भने।

यसअघि असोज ६ मा आयोजित कम्युनिस्ट आन्दोलनकी नेत्री सहाना प्रधानको स्मृति दिवस कार्यक्रमममा पनि दाहालले फेरि एउटा अर्को आन्दोलन चाहिएको बताएका थिए। उनले त्यो कार्यक्रममा त्यस्तो आन्दोलन शान्तिपूर्ण र प्रतिस्पर्धात्मक हुने बताएका थिए। ‘हामी हिजो जेलाई आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ सो कार्यक्रममा दाहालले भनेका थिए, ‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिस्ट पार्टीको जस्तै हुन्छ।’

दाहालले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका छन्।

गत वैशाख २२ मा पनि कार्ल माक्र्सको २०१औं स्मृतिदिवसको अवसर पारेर आयोजित ‘समृद्धि र समाजवाद ः हामी कहाँ छौं ?’ विषयक विमर्श कार्यक्रममा पनि दाहालले फेरि जंगल पस्ने बताएका थिए। कार्यक्रममा दाहालले भनेका थिए, ‘मैले जसरी भन्न खोजें, मेरा केही बुझाइ, भावना, अनुभव सेयर गर्ने हिसाबले प्रस्तुत भएँ। र म के ठान्छु भने फेरि एकपटक सम्पूर्ण चिज त्याग गरेर जंगल जान्छु भन्ने विश्वास छ, जरुरी परे।’

उनले यसमा आफूलाई गाह्रो नलाग्ने पनि बताएका थिए। ‘कतिपयलाई के लाग्छ भने यत्रो भइसक्यो के गर्ने ? कसरी सकिन्छ भनेजस्तो पनि हुन्छ। मलाई चाहिँ साँच्चै हेर्नु होला, कमरेडहरु, तपार्ईंहरुको साथ चाहिन्छ, साथ रहेन भने एक्लै जोगी बन्न त जान्नँ। जोगी भएर हुने कुरा त छैन। तपाईंहरु साथमा हुनुभयो भने एउटा क्लाइमेक्समा पार्टी र आन्दोलनलाई लगेर मात्र माथि जाने विचार छ’, उनले भनेका थिए।

पार्टी एकीकरण भएपछि पहिलो पटक माघ २५ मा दाहालले मुलुकमा फेरि द्वन्द्व सुरु हुनसक्ने बताएका थिए। ‘स्थानीय तह सञ्चालन ऐन : न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको विमोचन गर्दै दाहालले कानुन निर्माण, सुरक्षा, बजेट सबै विषयमा सरकारले प्रदेश र स्थानीय तहको अधिकार संकुचन गर्न खोजेको भन्दै यस्तो बताएका थिए। ‘शान्ति सुरक्षा, बजेटलगायतमा विषयमा सरकार संविधानको भावनाअनुसार चलेको छैन, सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्नेतिर ठीक ढंगले अगाडि बढेका छौं ? फेज आउट गर्नेतिर त गइरहेका छैनौं ? सोच्नुपर्ने ठाउँमा जाँदैछौं,’ उनले त्यति बेला भनेका थिए, ‘पहाडमा अर्को खालको आन्दोलन सुरु हुने खतरा छ। जनयुद्ध र जनआन्दोलनको मर्मअनुसार सरकारले काम नगरे मुलुकमा माओवादीभन्दा पनि ठूलो आन्दोलन हुन सक्छ।’ उनले माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठान्यो भने त्यो दुर्भाग्यपूर्ण हने बताएका थिए।

‘अभिव्यक्ति स्वाभाविक’
आन्दोलन गर्ने, फेरि जंगल पस्नेजस्ता दाहालका अभिव्यक्ति स्वाभाविक भएको उनी निकटका नेताहरुले बताएका छन्। नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले नेताहरु विवादित र संस्कारहीन बन्दै गएको अवस्थामा सुधार नेताहरुबाटै हुनुपर्ने सन्दर्भमा अध्यक्ष दाहालको अभिव्यक्ति सार्वजनिक भएको बताए। ‘नेता कार्यकर्तामा राजनीतिक संस्कार हराउँदै गएकाले अध्यक्षज्यूको यस्तो धारणा आएको हुन सक्छ। पार्टीभित्र विकृति विसंगति बढ्दै गएको छ। अराजकता र भ्रष्टाचार पनि मौलाउँदै गएको छ। जनताको अपेक्षालाई पूरा गर्न नसकिएको अवस्थामा पार्टी अध्यक्षको नाताले जनताको समस्या समाधान गर्नुपर्छ भन्ने उहाँको धारणा हो’, उनले भने।

सरकार र पार्टी दुवैबीच समन्वय आवश्यक रहेको भन्दै गजुरेलले थपे, ‘एउटै पार्टी भइसकेको अवस्थामा सरकार र पार्टीबीच समन्वय भएन भने त्यसले सकारात्मक सन्देश जाँदैन। त्यस्तो अवस्थामा पार्टी र आफूलाई पनि रुपान्तरण गर्नुपर्ने आवश्यकता उहाँले महसुस गरेको हुनुपर्छ।’ सरकारका कामकारबाहीमा पनि जनताले प्रश्न उठाउने गरेको अवस्थामा राजनीतिक रुपमा नेताहरु संस्कारहीन बन्दै गएको र त्यसको असर तलसम्म पर्दै गएपछि पार्टी अध्यक्षले रुपान्तरणका लागि आन्दोलन गर्ने बताएको हुन सक्ने उनको विश्लेषण छ। ‘खासमा यो विषय जनताको भावनालाई नेताहरुले समट्नुपर्यो भन्ने सन्दर्भमा आएको मैले महसुस गरेको छु’, गजुरेलले भने।

नेकपा केन्द्रीय सदस्य जोखबहादुर महराले पनि सांस्कृतिक राजनीतिक रुपान्तरणका लागि नेताहरुमा सुधार आवश्यक रहेको सन्दर्भमा दाहालबाट यस्तो अभिव्यक्ति आएको हुनसक्ने दाबी गरे। ‘मुलुकमा सधैं अस्थिरता रहनु हुँदैन, मुलुकलाई स्थायित्व चाहिन्छ। पुराना कुरा दोहो-याएर मात्र पुग्दैन। धर्म निरपेक्षता, संघीयताजस्ता कुरा दोहो-याएर हुँदैन। अब तिनलाई कसरी संस्थागत गर्ने भन्ने पक्षमा लाग्नुपर्छ। परिवर्तन नेताहरुकै दिमागबाट हुनपर्छ भन्ने सन्दर्भमा यस्तो धारणा आएको हुनुपर्छ’, उनले भने। जनताका पक्षमा आएका यस्ता अभिव्यक्तिलाई स्वाभाविक रुपमा लिनुपर्ने उनले बताए।

‘हामीले राजनीतिक प्रणालीमात्रै परिवर्तन गरेका छौं तर दिमागलाई परिवर्तन गर्न सकेनौं भने त्यसको अर्थ रहन्न’, उनले भने। परिवर्तनलाई संस्थागत गर्ने आधार अर्थतन्त्रलाई बलियो बनाउनु पनि भएको बताउँदै उनले थपे, ‘कस्तो प्रकारको आर्थिक अवधारणा तय गर्ने, सांस्कृतिक सामाजिक रुपान्तरणको नेतृत्व कसरी लिने, यी समग्र विषयमा नेताहरुले नयाँ सिर्जनात्मक सोच बनाउनुपर्छ। अहिले त्यसो हुन सकेको छैन भन्ने उहाँ (दाहाल) को धारणा छ। जसले गर्दा यस्तो अभिव्यक्ति आएको मैले महसुस गरेको छु।’ आन्दोलनकै नेतृत्व गरेर आएका कारण शब्दमा कडा रुप देखिएको भए पनि सारमा नेताहरु संस्कारी हुनुपर्छ, विवादरहित हुनुपर्छ, र नैतिकवान् हुनुपर्छ भन्ने अध्यक्षको कुरा हो। नेताहरुको संस्कार र बोली व्यवहारमा परिवर्तन हुनु आवश्यक रहेको सन्दर्भमा दाहालबाट पटकपटक यस्तो अभिव्यक्ति आएको हुनसक्ने महराले बताए।

प्रकाशित: १ कार्तिक २०७६ ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App