१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनहितमा काम नगरे सत्ता उल्टिन सक्छः प्रचण्ड

फाइल तस्बिर

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने संभावना रहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता  भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याए।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याए। पुर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली बिर्सन नहुने धारणा राखे।

उनले भने “कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता भए... यिनलाई पनि लखेट्न पर्छ भन्ने यो बिडम्बना हामीले देख्यौं इतिहासमा। हामी कहा पनि यसो हेर्दा लक्षण चाही..... कुरा बुझ्नु भयो नि। सिस्टम चाही कता कता त्यस्तै देखिने। ”

उनले दुई पार्टी मिलेर बनेको ठूलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टि जनाए। विगतमा जनताका समस्या बोध गर्ने , अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासनहिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी उनले गरे।

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासंग गरेका प्रतिद्धताहरु बिर्सदै जाने प्रवृति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए। उनले वर्तमान राज्यसत्ता प्राप्तीका लागि विगतमा आफैले आफ्नै योगदानको अवमुल्यन गर्ने काम नेतृत्वबाट हुन नहुनेतर्फ सधै सचेत र सजग हुनुपर्ने आवश्यकता औल्याए।

प्रकाशित: ६ भाद्र २०७६ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App