१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

समृद्ध समाजका लागि योगाभ्यास अपरिहार्यः उपप्रम यादव

फाइल तस्बिर

जनकपुर–उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वस्थ, समृद्ध एवं सुसंस्कृतिपूर्ण समाज निर्माणका लागि योगाभ्यास अपरिहार्य भएको बताएका छन्। पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज पतञ्जली योगपीठ नेपाल, वृहत्तर जनकपुर विकास क्षेत्र, भारतीय दूतावास,  जानकी मन्दिर र पतञ्जली योगपीठ प्रदेश नं २ समितिद्वारा जानकी मन्दिर परिसरमा आयोजित योग शिविरमा उनले सो कुरा बताएका हुन्। 

तनावका कारण मानसिक रोगी र अस्वस्थ रहनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको वर्तमान अवस्थामा योग नै स्वस्थताको महत्वपूर्ण आयाम भएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘योग स्वस्थताका साथै सौहाद्रपूर्ण जीवनका लागि समेत महत्वपूर्ण पक्ष हो। उपप्रधानमन्त्री यादवले समाजिक, सांस्कृतिक उपजका रूपमा योगको महत्वलाई आत्मसात् गर्दै भगवान् गौतमबुद्धदेखि ऋषिमुनिहरूले योग साधना गरी आफ्नो लक्ष्य हासिल गरेको दृष्टान्तसमेत सबैका लागि अनुकरणीय रहेको धारणा राखे। 

प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले तन र मनको स्वस्थताका लागि योग साधना गर्नु आवश्यक भएको बताए।मुख्यमन्त्री लालबाबु राउतले स्वस्थ रहन योगलाई दिनचर्या बनाउनु जरूरी भएको विचार व्यक्त गरे। 

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका संयोजक अनिल झा, प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश नंं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, योग शिविर संयोजक एवं प्रदेशसभा सदस्य कौशल यादवलगायत प्रदेशसभा सदस्यको पनि सहभागिता थियो। शिविरमा सहभागीहरूलाई पतञ्जली योगपीठ नेपालका प्रमुख लभदेव देव मिश्रले योगाभ्यास गराएका थिए। रासस

प्रकाशित: ६ असार २०७६ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App