१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपकुलपति रौनियारलाई बर्खास्त गर्ने सिनेट निर्णय

डा. राजकुमार रौनियार। सिनेट बैठकले उनलाई उपकुलपति पदबाट हटाउने निर्णय गरेको छ। तस्बिर : नागरिक

धरान - लामो रस्साकस्सीबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको ४२औं विशेष सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गर्ने निर्णय लिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सिनेट बैठकले छानबिन समितिको प्रतिवेदनका आधारमा पदीय दायित्व पूरा नगरेको भन्दै रौनियारलाई उपकुलपतिबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा सिनेट बैठक बसेको थियो। बैठकले उपकुलपति रौनियारलाई बर्खास्त गर्ने निर्णय गर्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गरेको प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले जानकारी दिए। ‘दुईवटा छानबिन समितिको आधारमा पदीय दायित्व पूरा नगरेको कारण बर्खास्त गरिएको हो,’ सिनेट सदस्यसमेत रहेका रजिष्ट्रार श्रेष्ठले भने।

सिनेटले उपकुलपति रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेपछि कार्यवाहक उपकुलपतिको जिम्मेवारी रेक्टर डा. गुरु खनालले पाएका छन्। प्रतिष्ठानको ४०औं र ४१आंै सिनेटको निर्णयअनुसार एमसिएच भवन, अंकोलोजी, कार्डियोलोजी र एनएफआरएसबारे छानबिन गर्न यसअघि तीनवटा समिति गठन भएका थिए। तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहोराको पालामा गठित समितिले प्रतिवेदन दिन सकेन। पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा समिति गठन भएको थियो। सो समितिले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएपछि पुनः स्वास्थ्यमन्त्री यादवको अध्यक्षतामा तीन सदस्यीय छानबिन तथा सुझाव समिति गठन गरिएको थियो।
स्वास्थ्यमन्त्री यादव अध्यक्ष रहेको समितिमा प्रतिष्ठानकै रेक्टर डा. खनाल र रजिष्ट्रार श्रेष्ठ सदस्य रहेकाले यो समितिको छानबिनमाथि प्रश्न उठ्दै आएको छ। उपकुलपतिसँग खनाल र श्रेष्ठको सम्बन्ध चिसिएका कारण कारबाहीको सिफारिस हुने अनुमान थियो। त्यसैले यसअघि २ पटक स्वास्थ्यमन्त्री यादवले सिनेट बैठक राख्न निर्देशन दिए पनि बैठक नबोलाई उपकुलपति रौनियारले पछिल्लो छानबिन समितिमाथि नै प्रश्न उठाउदै आएका थिए। उपकुलपतिले बैठक नबोलाएपछि प्रतिष्ठानको नियमावली ५ क १ बमोजिम मन्त्री यादवले नै सिनेट बैठक बोलाएका थिए।

सिनेटको म्यान्डेड अनुसार छानबिन गर्न गठित अधिकारीको प्रतिवेदन र स्वास्थ्यमन्त्री यादवको अध्यक्षतामा गठित समितिको प्रतिवेदन अध्ययन गरी उचित सुझाव पेस गर्न स्वास्थ्यसचिव चन्द्र घिमिरेलाई जिम्मा दिइएको पाइएको छ। सचिव घिमिरेले दुवै प्रतिवेदन अध्ययन गरेर सिनेट बैठकमा पेस गरेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सरोजकुमार यादवले जानकारी दिए। ‘छानबिन प्रतिवेदन अध्ययन गर्न मन्त्रालयका सचिवलाई जिम्मा दिइएको थियो, उहाँले नै अध्ययन गरेर पेस गरेको हो,’ राज्यमन्त्री यादवले भने।
अस्पताल निर्देशकमाथि पनि छानबिन हुने

सिनेट बैठकले प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साहमाथि पनि छानबिन गर्ने निर्णय लिएको छ। यसका लागि छानबिन समिति बनाइने स्वास्थ्य राज्यमन्त्री यादवले जानकारी दिए। ‘उपकुलपतिलाई बर्खास्त गर्ने निर्णय भएको हो, अस्पताल निर्देशकको सन्दर्भमा पनि छानबिन गरेर कारबाही गर्ने निर्णय भएको छ,’ उनले भने।
अस्पताल निर्देशकमाथि पनि पदीय आचरणअनुसार कार्य नगरेको आरोपमा छानबिन गर्ने बैठकको निर्णय भएको एक सिनेट सदस्यले बताए।

मलाई बोल्नै दिइएन : उपकुलपति
सिनेट बैठकले बर्खास्त गर्ने निर्णय गरेको विषयमा प्रतक्रिया माग्दा डा. रौनियारले आफूलाई सिनेट बैठकस्थलमा बस्नै नदिइएको बताए। आफूलाई सुरुमा ५÷६ मिनेट मात्र बोल्न दिएपछि बैठकस्थलबाट निकालिएको उनले बताए। ‘मलाई ५÷६ मिनेट बोल्न समय दिए, त्यसपछि छलफलमा भाग लिनै दिएनन्, बाहिर बस्न भने,’ टेलिफोन सम्पर्कमा रौनियारले भने, ‘बैठकमा के भयो थाह भएन, तर अस्पताल निर्देशकलाई पनि बोल्ने मौका दिइएन रहेछ।’

आफूलाई बर्खास्त गर्ने विषयमा मतदान वा सिनेट सदस्यको राय नै नलिई मन्त्री यादवले जर्बजस्ती पेलेर निर्णय गरेको उनको आरोप छ। सिनेटले निर्णय गरे पनि प्रधानमन्त्रीसमक्ष सिफारिस मात्र भएकाले लागु भइनसकेको उनको भनाइ थियो। ‘भोटिङ भएन, छलफलमा भाग लिन पनि दिइएन, यो त अराजकता भयो,’ उनले भने। एक सिनेट सदस्यका अनुसार बैठकमा मन्त्री यादवले अध्यक्षता गरेका थिए। बैठकको सबै कामकारबाही उनले नै सञ्चालन गरेका थिए।

प्रकाशित: १८ फाल्गुन २०७५ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App