१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीकाे जवाफ : सन्तुलित विकासको अवधारणामा टेकेर बजेट ल्याएका हौं

आगामी आर्थिक बर्षको बजेटका सम्बन्धमा उठेका प्रश्नको बुधबारको प्रदेशसभा बैठकमा जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेल । तस्बिर : नागरिक

बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका जनताको भावना र आवश्यकता अनुरुपकै बजेट ल्याएको बताएका छन्। दुई दिनसम्म चलेको छलफलका क्रममा उठेका प्रश्नको बुधबार सदनमा जवाफ दिँदै आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै जिल्ला र क्षेत्रको सन्तुलित विकास गरी समृद्ध प्रदेश बनाउने रणनीतिक योजना र कार्यक्रमसहितको बजेट ल्याएको बताए।

प्रतिपक्ष र सत्तापक्षकै पनि कतिपय सांसदले उठाएको एकमुष्ट बजेटको सम्बन्धमा मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै क्षेत्र र समुदायको विकासका लागि सो बजेट बिनियोजन हुने बताए। ‘सबै क्षेत्रलाई समेटन सकियोस भनेर केही आयोजनाहरुमा एकमुष्ट बजेट राखिएको छ। बिनियोजन हुँदा पोको फुकाएरै आउछ’, मुख्यमन्त्री पोखरेलले भने।

सन्तुलित विकासको अवधारणामा टेकेर ल्याइएको बजेटमाथि प्रतिपक्षले हतारमा टिप्पणी गरेको उनको गुनासो थियो। बजेटको प्राथमिकतामा परेका अधिकाँश महत्वपूर्ण आयोजनाहरु प्रतिपक्षले जितेकै क्षेत्रमा परेको भन्दै उनले राम्रोसंग अध्ययन नै नगरी विरोध गर्ने प्रबृतिले संघीयता कार्यान्वयनमा बाधा पुग्ने बताए। ‘प्रदेशको भुमिका जती स्थापित गर्छौ, त्यती तपाई हामी पनि स्थापित हुने हो।

प्रदेश सरकारले केही गरेन केही भएको छैन भनेर निराशा मात्रै पोख्ने हो भने प्रदेश कसरी स्थापित हुन्छ? संघीयता कसरी कार्यान्वयन हुन्छ?’ मुख्यमन्त्री पोखरेलले प्रश्न गरे। प्रदेश समृद्धिका लागि सत्ता प्रतिपक्ष सबैले एकले अर्काको भुमिकाप्रति सराहना गर्ने परिपार्टीको विकास गर्नुपर्नेमा उनले जोड दिए। प्रदेशमा सबभन्दा ठूलो लगानी भित्र्याउन सकिने र सम्भावना बोेकेको क्षेत्र मोनोरेल भएको उल्लेख गर्दै उनले लुम्बिनी र देवदहसंगै अन्य बुद्ध स्थलहरुको एकीकृत विकासका लागि महत्वपूर्ण आयोजनाहरु बजेटमा समावेश गरिएको बताए। 

प्रकाशित: ६ असार २०७५ १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App