१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पुनर्वासको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

तस्बिर : सुजन श्रेष्ठ/नागरिक

काठमाडौं– कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटा सीमा क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्न माग गर्दै ७ नम्बर प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज तथा पुर्वमन्त्री लेखराज भट्ट नेतृत्वको टोली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। पुनर्वासको बीचफाँटामा हात्ती आतंक नियन्त्रणका लागि सोलार तारबार लगाउँदा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि विवाद उत्पन्न भएको छ। ज्ञापनपत्रमा भट्टसहित खानेपानी मन्त्री तथा पुनर्वासबाट निवार्चित प्रतिनिधिसभा सदस्य बिना मगर, ७ नम्बर प्रदेशका आर्थिक मामिला मन्त्री झपट बोहरा, प्रतिनिधिसभा सदस्यहरु डा दिपकप्रकाश भट्ट, नरबहादुर धामी, निरुदेवी पाल, निरा जैरु, राष्ट्रियसभा सदस्य महेशकुमार महरा, हरिराम चौधरी, पुर्वसभासद देवीलाल चौधरी र नरेन्द्र कुवर र स्थानीय वडा अध्यक्ष नारायणप्रसाद जैशीले हस्ताक्षर गरेका छन्।

भारतको दुधुवा नेसनल पार्कबाट आउने हात्तिको आतंक नियन्त्रणका लागि सोलार तारबार गरिएपछि भारतीय पक्षले भत्काएको छ। हात्ति आतंक नियन्त्रणका लागि गत वर्ष नेतृ बिना मगरको पहलमा सोलार तारबार गरिएको थियो। हाल स्थानीय तहको बजेटबाट वडा अध्यक्ष नारायण जैशीको नेतृत्वमा तारबारको काम भइरहेको छ।

नेपाली भुमिमा तारबार गरिरहदा समेत भारतीय पक्षले अवरोध गरेकाले समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको टोलीका सदस्य ओमविक्रम भाट सरलले बताए। ज्ञापनपत्रमा भत्काइएको तारबार गर्ने व्यवस्था मिलाउन, सीमा सर्भे टोलीको म्याद थप्न, ७ नम्बर प्रदेशका विवादित सीमा क्षेत्रमा सीमा निर्धारण गर्न र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सीमा समस्याबारे एजेन्डा तय गर्न माग गरिएको छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सीमाको विषय समाधानका लागि गम्भीरताका साथ पहल गर्ने बताए। ज्ञापनपत्र परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई बोधार्थ पठाइएको छ।

भारतीय पार्कबाट आएका हात्तिको आक्रमणबाट २०७३ माघ महिनामा बीचफाटाका मनबहादुर सुनारको मृत्यु भएको थियो। पुनर्वासमा उत्पन्न सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गत वर्ष गोविन्द गौतम सहिद भएका थिए।

प्रकाशित: २० वैशाख २०७५ १६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App