नेपाली कांग्रेसका महामन्त्री गगन थापा बुधवार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको ‘नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन’मा सक्रिय सहभागी भए। दिनभर पार्टीको फोरममा सहभागी भएका गगन पत्नी डा. अञ्जना केसीसँगै धनगढी(सुदूरपश्चिम प्रदेश) यात्रामा निस्किए।
सुदूरपश्चिम कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश पनि हो। बहुदलपछि २०४८ सालको पहिलो आमनिर्वाचनमा सुदूरपश्चिमको निर्वाचन ‘कमान्डर’ बनेर उल्लेख्य सिट जिताउँदै राजनीतिमा उदाएका देउवाले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन। यद्यपि राजनीतिक जीवनमा अनेक उतारचढाव भने झेल्नुपर्यो।
गगनमाथि नेता डा. शेखर कोइरालाको साथ छोडेर पछिल्लो समय देउवासँग नजिकिएको विषय पछिल्लो समय कांग्रेस राजनीतिक वृत्तमा चर्चामा पनि छ।
गगनको यो सुदूरपश्चिम यात्रा राजनीतिक भने नभएको उनी निकट स्रोतले बताउँछ। उनी नितान्त धार्मिक यात्राका लागि सुदूरपश्चिम गएका थिए। तर, उनी धनगढी यात्रामा निस्किएको साँझ धेरैले थाहा पाएनन्। न उनी आफैले यात्राबारे सार्वजनिक गरे।
बिहीबार बिहान भने कैलालीका एक नेताले धनगढी विमानस्थलमा गगनसँगको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालले थाहा पायो।
दिनभर तीर्थाटन
बिहीबार भने गगनले दिनभर सुदूरपश्चिम पहाडका धार्मिक स्थल पुगेर तीर्थाटन गरे। धनगढीबाट हेलिकप्टरमा उडेका गगन डडेलधुरा पुगेर उग्रतारा मन्दिरको दर्शन गरे। त्यहाँबाट उनी बैतडीतर्फ उडेका थिए। बैतडीमा त्रिपुरा सुन्दरी र उदयदेवको दर्शन गरे। बैतडीबाट गगन दिपायलमा रहेको डोटी विमानस्थल उत्रिए, त्यहाँ केही स्थानीय नेताकार्यकर्तासँग विमानस्थलमै भेटघाट गरेका तस्बिर आएका छन्।
त्यहाँबाट उनी सिलगढीस्थित शैलेश्वरी मन्दिर दर्शन गर्न पुगेका थिए। सिलगढीबाट उनी खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने खप्तड त्रिवेणी धामको दर्शन गर्न पुगेका थिए।
खप्तडबाट गगन अछामको साँफेबगर झरे, त्यहाँबाट बाजुराको प्रसिद्ध मन्दिर बडिमालिका दर्शन गर्न गए। बडिमालिकाबाट फेरी साँफेबगर पुगेका थिए। यसरी त्यहाँबाट एक दिनको धार्मिक भ्रमण गरी गगन फर्किएका छन्।
प्रकाशित: १७ माघ २०८१ १७:५६ बिहीबार