१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कार्यकारी निर्देशक लामाको राजीनामा

काठमाडौं – बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक कुयाङ छुयाङ दोर्जे लामाले राजीनामा दिएका छन्। समितिका अध्यक्ष र सदस्यहरुबीचको आपसी विवादका कारण काममा बाधा भएको भन्दै लामाले राजीनामा दिएका हुन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसमक्ष उनले राजीनामापत्र बुझाएका छन्। पर्यटन मन्त्रालयअन्तर्गत बौद्धनाथ क्षेत्र विकास समिति पर्ने भएका कारण उनले कारणसहित प्रष्ट गर्दैै मन्त्रालयमा राजीनामापत्र बुझाएको बताए।

समितिका अध्यक्ष र सदस्यहरुबीच आन्तरिक विवादका कारण आफूले कार्यकारी निर्देशकको रुपमा पदभार समालेदेखि नै कुनै काम गर्न नसकेको लामाले नागरिकलाई जानकारी दिए। ‘समितिका पदाधिकारीबीच आरोपप्रत्यारोपले उग्ररुप लिएको छ । तीन सातादेखि अध्यक्षले सदस्यलाई र सदस्यले अध्यक्षलाई सम्बन्धित निकायमा कारबाहीका लागि उजुरी दिने क्रम चलिरहेको छ,’ उनले भने, ‘अध्यक्ष र सदस्यले अनावश्यक मानसिक तनाव र दबाब दिएपछि काम गर्ने वातावरण भएन। यसकारण राजीनाम दिएको हुँ’, उनले भने । एकले अर्को पक्षलाई कारबाही माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयमा उजुरी दिएका छन्।

समितिले विनियोजित बजेटमा उपभोक्ता समितिहरुको कार्य गर्न नसकेको र उपभोक्ता समतिहिरुले आफूअनुकूल काम नभएको भन्दै व्यापक दबाब दिने गरेका छन्। समितिका अध्यक्षले सदस्यहरुलाई मिलाएर लैजानुपर्नेमा पदीय अहंम देखाएकाले राजीनामा दिएको लामाको भनाइ  छ। ‘यस्तो विवादले आफूमाथि पनि दाग लाग्ने देखिएकाले राजीनाम दिएको हुँ ’ उनले भने।

पर्यटन मन्त्रालयले गत भदौ १२ गते बौद्धनाथ क्षेत्र विकास समतिको गठन आदेश २०५३ को दफा ३(२) तथा दफा ६ बमोजिम ४ वर्षका लागि लामालाई समितिको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

प्रकाशित: २१ चैत्र २०७४ ००:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App